शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मकवानपुर–२ : एमालेको लाल किल्लामा २५ वर्षका उप्रेतीको दबदबा

शनिबार, २३ फागुन २०८२, २२ : ३६
शनिबार, २३ फागुन २०८२

सारांश

  • मकवानपुर-२ मा एमालेको पकड कमजोर बन्दै गएको छ, जहाँ रास्वपाका उम्मेदवारले अग्रता लिएका छन्।
  • निर्वाचनमा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले एमालेका महेश बर्तौलासँग ५ हजारभन्दा बढीको अग्रता बनाएका छन्।
  • मनहरी, राक्सिराङ्ग, कैलाश लगायतका क्षेत्रमा मतगणना हुँदा उप्रेतीले १९ हजार ६९२ मत प्राप्त गरेका छन्।

हेटौँडा । मकवानपुर –२ लाई एमालेले आफ्नो लाल किल्लाको रूपमा परिभाषित गर्दछ । २०४८ देखि हालसम्म निरन्तर सो क्षेत्रमा जित्दै आएको एमालेको जग यसपटक भने धर्मराएको छ । 

२०४८, २०५१ मा एमालेका विरोध खतिवडा, २०६४ मा माओवादी, २०७० मा एमालेका सुवासचन्द्र ठकुरीले सो क्षेत्रबाट चुनाव जितेका थिए । २०७४ मा एमालेबाट विरोध खतिवडा र २०७९ मा एमालेका महेश बर्तौलाले चुनाव जितेको क्षेत्र हो मकवानपुर–२ । 

हेटौँडा उपमहानगरपलिकाका १, ३, ११ र १९ सहित मनहरी, राक्सिराङ, कैलाश, इन्द्र सरोबर, भिमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा र थाहा नगरपालिका समेटिएको सो क्षेत्रमा एमालेको उपस्थिति राम्रो मानिन्छ । थाहा नगरपालिकामा माओवादी (हाल नेकपा) को जनमत राम्रो रहेको व्याख्या छ भने अन्य सबैमा एमाले बलियो शक्ति हो । 

हालै सम्पन्न निर्वाचनमा एमालेको लाल किल्ला मनिने सो क्षेत्रमा रास्वपाका २५ वर्षका उम्मेदवारको दबदबा देखिएको छ । बिहीबार भएको मतदानको मतगणनाको सुरुवात देखि नै सबै दलका उम्मेदवारसँग दोब्बर अङ्कको अग्रता बनाएको रास्वपाका जेन्जी उम्मेदवार प्रशान्त उप्रेतीले एमाले उम्मेदवारसँग ५ हजार बढीको अग्रता कायम गरेका छन् ।

हालसम्म मनहरी, राक्सिराङ्ग, कैलाश, भीमफेदी,गढी  गाउँपालिका र थाहा नगरपालिकाको ६६ हजार बढी मत गणना हुँदा उप्रेतीले १९ हजार ६९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश कुमार वर्तौलाले १४ हजार ६९० मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेपाली कांग्रेसका बुद्ध लामाले १२ हजार ८१२ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर विष्टले १० हजार २६० मत पाएका छन् । हाल सम्मको मत गणनाअनुसार सो क्षेत्रमा ४ हजार २१२ मत बदर भएको छ । कुल ९१ हजार २४१ मत खसेको थियो भने करिब २५ हजार मत गणना बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप