राजनीतिमा नयाँ अनुहार, संसदीय यात्रा तय गरेपछि चर्चा
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खेमराज कोइराला कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
पुराना राजनीतिक दलका दिग्गज नेताहरूलाई पछि पार्दै कोइरालाले चुनावी प्रतिस्पर्धामा विजय हासिल गरेका हुन् । क्षेत्र नम्बर ४ का २८ हजार ५५६ जना मतदाताले उनलाई विश्वासका साथ मतदान गरी विजयी बनाएका छन् ।
सुदूरपश्चिमको राजधानी तोकिएको यस क्षेत्रबाट चुनाव जितेर संसदमा यात्रा तय गरेपछि कोइरालाको चर्चा र प्रशंसा दुवै बढेको छ । गौरीगंगा नगरपालिका–१ मा जन्मिएका कोइरालाको पृष्ठभूमि मुख्यतया शिक्षा र सामाजिक सेवामा केन्द्रित छ । उनले २०५३ सालदेखि अध्यापन सुरु गरेका थिए र मालिका माध्यमिक विद्यालयमा २०६५ सालसम्म शिक्षण गरेका थिए । यसबाहेक उनीसँग केरा खेती, वैदेशिक रोजगारी र निजी विद्यालय सञ्चालनको पनि अनुभव छ ।
शिक्षामा स्नातकोत्तर र कानुनमा स्नातक तहको अध्ययन गरिरहेका कोइराला लायन्स क्लबमार्फत सामाजिक सेवामा पनि सक्रिय छन् । राजनीतिमा नयाँ अनुहार भए पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टीको कैलाली जिल्ला सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
चुनाव जितेपछि उनले आफ्नो क्षमताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको पहिलो एजेन्डा भ्रष्टाचार नियन्त्रण रहेको छ । उनले भ्रष्टाचारीको सम्पत्ति जफत गरी राष्ट्र निर्माणमा लगाउने घोषणा गरेका छन् ।
यसैगरी, कैलालीको गेटा अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनु उनको अर्को मुख्य एजेन्डा हो । उनले उपकरण र जनशक्तिको अभाव हटाएर यहाँका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताएका छन् ।
वैदेशिक रोजगारीमा जाने युवाहरूलाई स्वदेशमै रोक्न कृषि, पर्यटन र सीपमूलक तालिमसहितका दीर्घकालीन योजना ल्याउने उनको भनाइ छ । उनले सुरक्षा गार्ड र कुकजस्ता कामको लागि निःशुल्क तालिमको व्यवस्था गर्ने पनि बताएका छन् ।
कोइरालाले सातवटै प्रदेशमा सातवटा स्मार्ट सिटी स्थापना गर्ने योजना पनि अघि सारेका छन् । यो योजना विशेषगरी सुकुम्वासी, मजदुर र विपन्न वर्गलाई लक्षित गरी निर्माण गरिने उनले स्पष्ट पारेका छन् ।
यसैगरी, राजनीतिलाई पेशा नभई सेवा मान्ने कोइरालाले आफू एक पटकका लागि मात्र उम्मेदवार बनेको घोषणा गरेका छन् । उनले आफूले जितेपछि अर्को पटक सक्षम युवालाई अवसर दिने आफ्नो भनाइ राखेका छन् ।
जनताले चुनाव जिताएर संसदसम्म पठाएकाले अब यी कामहरू पूरा गर्न आफू खटिने उनको प्रतिबद्धता छ ।
कैलाली–४ का मुक्त कमैया, थारू समुदाय र विपन्न बस्तीको जीवनस्तर उकास्न विशेष प्याकेज ल्याउने प्रतिबद्धता जनाउँदै कोइरालाले अबको पाँच वर्ष विकास र सुशासनका लागि खर्चिने बताएका छन् । भाषणभन्दा काम र नतिजामा विश्वास गर्ने उनी जिल्लाकै आशालाग्दा नेताका रूपमा उदाएका छन् । ‘जनताले जुन विश्वास ममाथि गरेका छन्, त्यो विश्वासलाई कहिल्यै मर्न दिने छैनौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण