मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

नेकपाको ओरालो यात्रा : १२ वर्षसम्म तेस्रो, अब चौथो

आइतबार, २४ फागुन २०८२, १७ : ४२
आइतबार, २४ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा चौथो स्थानमा पुग्यो, जम्मा ७ सिट जित्यो।
  • माओवादी सशस्त्र विद्रोह र जनआन्दोलनबाट स्थापित नेकपाको अस्तित्व संकटमा परेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले कांग्रेस, एमाले र नेकपा गम्भीर संकटमा परेका छन्।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले इतिहासकै प्रतिकूलताको सामना गरेको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा ७ सिट जितेर चौथो स्थानमा पुगेको छ । प्रत्यक्षतर्फ लज्जास्पद हार व्यहोर्दा समानुपातिकतर्फ पनि उत्साहजनक मत ल्याउन सकेको छैन ।

आइतबार अपरान्ह ५ बजेसम्म ४५ लाख ३० हजार ९१३ मत गणना हुँदा नेकपाले जम्मा तीन लाख चार हजार ६२ मत प्राप्त गरेको छ । २०५२–०६२ सालमा माओवादी सशस्त्र विद्रोहको रापताप र २०६२/६३ सालमा भएको जनआन्दोलनबाट स्थापित भएको नेकपाको अस्तित्व संकटमा पर्ने देखिन्छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण तत्कालीन केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढलेपछि ताजा जनादेशका लागि पूर्वन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संसद् विघटन गरी निर्वाचन घोषणा गरेको थियो । 

यस निर्वाचनमा तीन वर्ष अगाडि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ सरकार बनाउने गरी अगाडि बढिरहँदा पुराना दल कांग्रेस, एमाले र नेकपा गम्भीर संकटमा धकेलिएका छन् । २०४६ सालमा राजनीतिक परिवर्तनपछि २०४८ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा एकता केन्द्रको खुला मोर्चा संयुक्त जनमोर्चाले ९ सिट जितेर तेस्रो दल बनेको थियो । 

२०५१ सालमा भएको मध्यावधि बहिष्कार गरी हाल नेकपाको मूल घटक माओवादीले बहिष्कार गरी युद्धमा होमियो । २०६२ सालमा त्यतिबेलाका संसद्वादी ७ राजनीतिक दल र माओवादीबिच १२ बुँदे सम्झौता भएपछि २०६२/०६३ सालमा भएको दोस्रो जनआन्दोलनले परम्परागत राजतन्त्र ढाल्यो । २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा माओवादीले २२९ सिट जितेर पहिलो दल बनेको थियो । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा ८३ सिट जितेर तेस्रो दलमा खुम्चियो । त्यसयता हरेक निर्वाचनमा जनम खस्किँदै गएपनि तेस्रो स्थान कायमै राखेको थियो । 

२०७४ सालमा दुई ठुला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बनाए । त्यतिबेला नेकपाले १७४ सिट जितेर झण्डै दुईतिहाइ मत प्राप्त गरेको थियो । २०७९ सालमा ३२ सिट जितेर तेस्रो स्थानमा राख्यो । यो निर्वाचनमा निर्णायक राजनीतिक शक्ति बन्ने योजना सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न २५ घटकलाई मिलाएर नेकपा बनाएका थिए । तर रास्वपाको पक्षमा देखिएको अनपेक्षित जनलहरका कारण नेकपा खराब नतिजासँगै चौथो स्थानमा धकेलिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप