बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
सदन

नयाँ संसद् भवन : मुख्य हल तयार नहुँदा पहिलो बैठक बस्नेछ वैकल्पिक हलमा

मङ्गलबार, २६ फागुन २०८२, ०७ : १३
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको भौतिक निर्माण ९४% सकिएको छ, तर प्राविधिक कारणले मुख्य हल सञ्चालनमा आउन नसक्दा वैकल्पिक हल प्रयोग गरिनेछ।
  • संसद् भवनभित्रका अधिकांश संरचना फिनिसिङको चरणमा छन्, फर्निचर राख्ने काम सुरु भइसकेको छ भने भीभीआईपी ब्लक एक हप्तामा सम्पन्न हुनेछ।
  • भवन निर्माण सुरु भएको ६ वर्ष बितिसक्दा पनि अझै ६ प्रतिशत काम बाँकी छ, जसका लागि निर्माण व्यवसायीले म्याद थपको निवेदन दिएका छन्।

काठमाडौँ । सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद् भवनको भौतिक निर्माण कार्य करिब ९४ प्रतिशत सकिएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगे पनि प्रतिनिधिसभाको मुख्य हल प्राविधिक कारणले तत्काल सञ्चालन गर्न नसकिने भएपछि सोही भवनभित्रको वैकल्पिक हलबाट बैठक सञ्चालन गर्ने तयारी गरिएको छ ।

सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक एवं विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार प्रतिनिधिसभाको मुख्य हलमा फल्स सिलिङ र अडियो–भिडियो सिस्टम जडानको काम बाँकी रहेकाले तत्कालका लागि अर्को हल प्रयोग गर्न लागिएको हो ।

‘मुख्य हल धेरै अग्लो भएको र तीन तहको फल्स सिलिङ बनाउनुपर्ने जटिलताका कारण ‘स्काफोल्डिङ’  हटाउन समय लागेको छ,’ निर्देशक श्रेष्ठले भने, ‘स्काफोल्डिङ नहटाउँदा भिडियो कन्फरेन्सिङ र अडियो सिस्टमका तारहरू तान्न मिलेको छैन । त्यसैले दुई–तीन दिनभित्र अर्को मल्टिपर्पोज हल तयार पारेर संसद् बैठक सञ्चालन गर्ने गरी काम अघि बढेको छ ।’

कुन ब्लकको अवस्था कस्तो ?

आयोजनाका अनुसार संसद् भवनभित्रका अन्य अधिकांश संरचनाहरू फिनिसिङको चरणमा छन् । संसद् सचिवालयका दुईवटा ब्लक  तयार भइसकेका छन् भने त्यहाँ फर्निचर राख्ने काम समेत सुरू भइसकेको छ । संसदीय दलका कार्यालयहरू र विभिन्न समितिहरूका हल पनि तयारी अवस्थामा छन् ।

भीभीआईपी ब्लकको काम सम्पन्न हुन करिब एक हप्ता लाग्ने देखिएको छ । यस्तै, सुरक्षा ब्लकमा हाल निर्माण व्यवसायी र आयोजनाको कार्यालय रहेकाले सो ब्लक सबैभन्दा अन्तिममा तयार हुने निर्देशक श्रेष्ठले जानकारी दिए । यद्यपि सुरक्षाका लागि नेपाली सेनाका जवानहरू भने त्यहाँ खटिइसकेका छन् ।

भवनको बाहिरी परिसरमा पार्किङ स्थल तयार भइसकेको छ । आगामी हप्ताभित्र परिसरमा पिच गर्ने काम सुरु हुनेछ । ‘पिच गरेपछि फोहोर गर्न नमिल्ने हुनाले अहिले सरसफाइ र अन्तिम तयारी भइरहेको छ,’ श्रेष्ठले भने, ‘बाहिरी भागमा रहने आकर्षक फोहोरा (फाउन्टेन) निर्माणको काम भने अझै केही समय लाग्ने देखिएको छ ।’

यस्तै बाहिरी फोहोरा (फाउन्टेन) निर्माणमा केही समय लागे पनि अन्य बाहिरी संरचनाहरू सञ्चालनका लागि तयारी अवस्थामा छन् । मुख्य हल पूर्णरूपमा तयार भइनसकेकाले तत्कालको आवश्यकतालाई ध्यान दिँदै वैकल्पिक ‘मल्टिपर्पोज’ हलबाट संसद बैठक सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

६ पटक म्याद सकिँदा पनि अझै ६ प्रतिशत बाँकी

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको यो भवन निर्माण सुरु भएको ६ वर्ष नाघिसकेको छ । २०७६ असोज १६ गते ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ (भ्याटसहित) मा टुन्डी–सेक जेभीसँग सम्झौता भएको यो आयोजनाको लागत भेरिएसनसहित हाल ६ अर्ब २९ करोड पुगेको छ ।

कोरोना महामारी र अन्य प्राविधिक कारण देखाउँदै हालसम्म पाँच पटक म्याद थप गरिसकिएको छ । पछिल्लो पटक २०८२ पुस १६ गतेसम्म अन्तिम म्याद भएको भए पनि अझै केही प्रतिशत काम बाँकी नै छ । बाँकी काम सम्पन्न गर्न निर्माण व्यवसायीले पुनः म्याद थपका लागि निवेदन दिएका छन् । भवनको इन्टेरियर (आन्तरिक सजावट) का लागि मात्रै २०८० असारमा २ अर्ब ३४ करोड ५४ लाखमा अलग्गै ठेक्का दिइएको थियो । हालसम्म ९४ प्रतिशत काम सम्पन्न भएको छ । अब फिनिसिङको काम बाँकी रहेको आयोजनाले जनाएको छ । कुल ६ प्रतिशत काम बाँकी रहेको छ ।

१५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा विभिन्न भवन निर्माण भइरहेको छ । कुल जमिनको २७ प्रतिशत भागमा भौतिक संरचना, २० प्रतिशत भागमा बाटो, ४३ प्रतिशत भागमा बगैँचा निर्माण भएको छ ।

प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, सेन्ट्रल लबी, अति विशिष्ट व्यक्तिहरूको लागि कार्यालय भवन, पुस्तकालय, सङ्ग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेनागृह, प्रेस/छपाइ भवन लगायत भवन निर्माण हुँदैछन् । यस्तै ४५० वटा चारपाङ्ग्रे सवारी र ८०० वटा दुईपाङ्ग्रे अटाउने पार्किङ स्थल र सुरक्षाकर्मी भवनसहित निर्माण भइरहेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र इतिहास

नेपालको गणतान्त्रिक इतिहासको झन्डै दुई दशक लामो संसदीय अभ्यासको केन्द्र बनेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अब इतिहास बन्ने भएको छ । २०६४ सालको संविधान सभा, राजतन्त्र अन्त्यको घोषणादेखि २०७२ को संविधान जारी हुँदै संघीय संसद्को अभ्याससम्मको साक्षी बनेको यो भवन गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा निशानामा परेर क्षतिग्रस्त भएपछि अब संसदीय गतिविधि सिंहदरबारस्थित आफ्नै नयाँ भवनमा सर्ने निश्चित भएको हो । चिनियाँ सहयोगमा बनेको यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद्का लागि भाडामा लिइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप