मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

श्रीलङ्काको मुख्य प्रशिक्षकमा विश्वकप विजेता ग्यारी कर्स्टन नियुक्त

मङ्गलबार, २६ फागुन २०८२, ११ : ४३
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • श्रीलङ्का क्रिकेट बोर्डले ग्यारी कर्स्टनलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
  • कर्स्टनले सन् २०२८ सम्मका लागि दुई वर्षको सम्झौता गरेका छन्, र उनको मुख्य चुनौती जित्ने संस्कृति विकास गर्नु हो।
  • कर्स्टनको प्रशिक्षण अनुभवले भारतलाई २०११ को विश्वकप दिलाएको थियो, र उनी दक्षिण अफ्रिका टेस्ट वरियताको शीर्ष स्थानमा पुर्याउन सफल भएका थिए।

कोलम्बो । श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी) ले दक्षिण अफ्रिकी क्रिकेटका दिग्गज ग्यारी कर्स्टनलाई पुरुष राष्ट्रिय टोलीको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। भर्खरै सम्पन्न सन् २०२६ को टी-२० विश्वकपमा श्रीलङ्काको फितलो प्रदर्शन र सुपर एटबाट बाहिरिएपछि बोर्डले टोलीको संरचनामा ठूलो फेरबदल गर्दै कर्स्टनलाई जिम्मेवारी सुम्पिएको हो। 

आगामी अप्रिल १५ देखि कार्यभार सम्हाल्ने गरी उनीसँग सन् २०२८ अप्रिल १४ सम्मका लागि दुई वर्षको सम्झौता गरिएको छ। श्रीलङ्काको क्रिकेट इतिहासमै कर्स्टनलाई अहिलेसम्मकै सबैभन्दा हाई-प्रोफाइल प्रशिक्षक मानिएको छ। 

यसअघि अन्तरिम र पूर्णकालीन प्रशिक्षकको रूपमा काम गरेका सनथ जयसूर्याले पदबाट राजीनामा दिएपछि कर्स्टनको आगमन भएको हो। जयसूर्याको नेतृत्वमा श्रीलङ्काले भारतविरुद्ध २७ वर्षपछि पहिलो पटक एकदिवसीय शृङ्खला जितेर ऐतिहासिक सफलता पाए पनि विश्वकपमा टोलीको ब्याटिङ रणनीति र प्रदर्शनमा स्पष्टता नदेखिएको भन्दै आलोचना भएको थियो। अब जयसूर्याले हाइ पर्फर्मेन्स सेन्टरको नेतृत्व गर्नेछन् भने कर्स्टनले राष्ट्रिय टोलीलाई आधुनिक क्रिकेटको लयमा फर्काउने प्रयास गर्नेछन्।

ग्यारी कर्स्टनको प्रशिक्षण ट्र्याक रेकर्ड निकै लोभलाग्दो छ। उनकै नेतृत्वमा भारतले सन् २०११ को एकदिवसीय विश्वकप जितेको थियो भने दक्षिण अफ्रिका टेस्ट वरियताको शीर्ष स्थानमा पुग्न सफल भएको थियो। हालै उनले नामिबियाको टोलीमा कन्सल्टेन्टको रूपमा पनि काम गरेका थिए। 

खेलाडीको रूपमा पनि उनले दक्षिण अफ्रिकाका लागि १४ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन्। श्रीलङ्काले यसअघि ड्याभ ह्वाटमोर, टम मुडी र ट्रेभर बेलिस जस्ता विदेशी प्रशिक्षकहरूको पालामा पाएको सफलतालाई कर्स्टनले पुनरावृत्ति गर्ने अपेक्षा गरिएको छ।

सन् २०२७ को एकदिवसीय विश्वकप कर्स्टनकै गृहदेश दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेमा आयोजना हुँदैछ। त्यहाँको परिस्थिति र मैदानबारे उनको गहिरो ज्ञानले श्रीलङ्कालाई ठूलो फाइदा पुग्ने बोर्डको विश्वास छ। 

श्रीलङ्का क्रिकेटले राष्ट्रिय टोलीको संरचना र प्रदर्शनलाई नयाँ उचाइमा पुर्‍याउन कर्स्टनलाई 'गेम चेन्जर' को रूपमा हेरेको छ। उनको मुख्य चुनौती भनेको टोलीमा जित्ने संस्कृतिको विकास गर्नु र खेलाडीहरूलाई उनीहरूको भूमिकाप्रति स्पष्ट बनाउनु रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप