'आपतकालीन तेल भण्डार खोल्दा पनि विश्व तेल संकट समाधान हुँदैन'
काठमाडौँ । अमेरिका र इजरायलको इरानसँग जारी युद्धका कारण विश्व बजारमा तेलको मूल्य आकासिँदै गएपछि ठुला अर्थतन्त्र भएका देशहरूले आपतकालीन तेल भण्डार बजारमा पठाउने विकल्पबारे छलफल सुरु गरेका छन् । तर यस्तो कदमले अहिलेको संकट समाधान गर्न नसक्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
विश्वका प्रमुख औद्योगिक देशहरूको समूह जी–७ ले करोडौँ ब्यारेल तेल आपतकालीन रूपमा बजारमा ल्याउने सम्भावनाबारे संकेत गरेका छन् । तर यसबारे अहिलेसम्म कुनै औपचारिक निर्णय भने भएको छैन । युद्धका कारण लगानीकर्ताहरू आतंकित भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य तीव्र रूपमा बढेको छ । त्यसपछि विश्वका ठुला अर्थतन्त्रहरूले आफ्ना रणनीतिक भण्डारबाट तेल निकालेर बजारमा पठाउने विकल्पबारे विचार गरिरहेका छन् ।
तर विश्वको दैनिक तेल खपत अत्यन्त ठुलो भएकाले केही करोड ब्यारेल तेल एकपटक बजारमा पठाउँदा त्यसले दीर्घकालीन प्रभाव पार्न नसक्ने ऊर्जा क्षेत्रका विज्ञहरू भन्छन् । विज्ञहरूका अनुसार विश्वले दैनिक करोडौँ ब्यारेल तेल प्रयोग गर्छ । त्यसैले एकपटक ठुलो परिमाणमा तेल बजारमा पठाए पनि त्यसले आपूर्ति संकटलाई लामो समयसम्म सन्तुलनमा ल्याउन सक्दैन । विशेषगरी अहिले मध्यपूर्वको महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमा ठप्पप्रायः भएको अवस्थामा समस्या अझ गम्भीर बनेको छ । यो जलडमरू विश्व तेल आपूर्तिको प्रमुख मार्ग हो । विश्वभर खपत हुने करिब २० प्रतिशत तेल यही साँघुरो समुद्री मार्ग हुँदै ढुवानी हुन्छ । युद्धका कारण अहिले त्यहाँ ट्यांकरहरूको आवतजावत लगभग ठप्प भएको छ ।
यसअघि सन २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पनि तेल मूल्य तीव्र रूपमा बढेको थियो। त्यस बेला जी–७ देशहरूले संयुक्त रूपमा २४ करोड ब्यारेल तेल आपतकालीन भण्डारबाट बजारमा पठाएका थिए । त्यसमध्ये अमेरिकाले मात्रै आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १८ करोड ब्यारेल तेल निकालेको थियो । त्यसपछि पेट्रोलको मूल्य केही घट्यो । तर यसको प्रभाव सीमित मात्र भएको विज्ञहरू भन्छन् ।
अमेरिकी अर्थ मन्त्रालयले २०२२ को जुलाईमा गरेको अध्ययनअनुसार उक्त कदमले पेट्रोलको मूल्य प्रतिग्यालोन १७ सेन्टदेखि ४२ सेन्टसम्म मात्र घटाएको थियो । अहिले तेलको मूल्य घटाउने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको होर्मुज जलडमरू पुनः खोल्नु नै भएको ऊर्जा विज्ञहरू भन्छन् ।
जबसम्म यो समुद्री मार्ग सुरक्षित रूपमा सञ्चालनमा आउँदैन, तबसम्म विश्व बजारमा तेल आपूर्ति सहज नहुने र मूल्यमा दबाब कायम रहने उनीहरूको भनाइ छ । विशेषगरी मध्यपूर्वबाट एशिया, युरोप र विश्वका अन्य भागमा तेल पठाउन यही मार्ग अत्यन्त महत्वपूर्ण भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा ठुलो असर पार्ने सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण