परराष्ट्र मन्त्रालय सहजकर्ता नभई नियमनकारी बन्यो : पूर्वअध्यक्ष कुँवर
सारांश
- एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवरले परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीहरूको अभिभावकको भूमिका निर्वाह नगरेको गुनासो गरे।
- उनले एनआरएनएको महाधिवेशनमा सम्बोधन गर्दै संस्थाको एकतामा जोड दिए, तर सबै सदस्यलाई मताधिकार नदिएकोमा असन्तुष्टि जनाए।
- कुँवरले दक्षिण कोरियाको विकास मोडल नेपालमा भित्र्याउनुपर्ने र दक्षिण एसियाली बजारलाई लक्षित गर्नुपर्ने विचार राखे।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष विनोद कुँवरले परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपालीहरूको अभिभावक वा सहजकर्ताको भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । एनआरएनएको १२ औँ तथा एकताको महाधिवेशनलाई सम्बोधन गर्दै कुँवरले मन्त्रालयले नियमनकारी निकायको जस्तो मात्र व्यवहार गरेको बताएका हुन्।
‘हामीले सधैँ परराष्ट्र मन्त्रालय र नेपाल सरकारलाई आफ्नो सहजकर्ता मान्दै आएका थियौँ, तर मन्त्रालयले सहजीकरणको सट्टा नियमनकारी संस्थाको जस्तो व्यवहार गर्यो,’ कुँवरले भने, ‘विभिन्न कालखण्डमा मन्त्रीज्यूहरू र प्रधानमन्त्रीज्यूसँग एकता गर्दै जाँदा पनि परराष्ट्र मन्त्रालय र सचिवज्यूहरूबाट एकताका लागि विशेष पहल नभएकोमा म दु:ख व्यक्त गर्न चाहन्छु।’
सन् २०१९ र २०२१ को महाधिवेशनदेखि एनआरएनएमा देखिएको विवाद र फुटको अवस्थालाई स्मरण गर्दै कुँवरले सर्वोच्च अदालतको परमादेशपछि संस्था एकताको बिन्दुमा आइपुगेको बताए । हाल भइरहेको एकता महाधिवेशनले संस्थाको एकतालाई धेरै हदसम्म पूर्णता दिएको उल्लेख गर्दै उनले भने, ‘यदि यसमा अझै पूर्णता आएको छैन भने आउने नयाँ कार्यसमितिले यसलाई पूर्णता दिनैपर्छ।’
सबै पञ्जीकृत सदस्यलाई मताधिकार नदिएकोमा असन्तुष्टि
सम्बोधनका क्रममा कुँवरले विदेशमा बस्ने लाखौँ नेपालीमध्ये सीमित सदस्यलाई मात्र नेतृत्व चयनको अधिकार दिइएको भन्दै असन्तुष्टि जनाए । उनले अनलाइन भोटिङको व्यवस्था भए पनि सबै सदस्यहरुलाई मतदानको अधिकार नदिएर उनीहरूको अधिकार हनन् गरिएको गुनासो गरे।
त्यसैगरी, मध्यपूर्व (पूर्वी एसिया) लगायतका क्षेत्रमा भइरहेको युद्ध र अशान्तिका कारण धेरै प्रतिनिधिहरू महाधिवेशनमा उपस्थित हुन नसकेकोतर्फ पनि उनले दुःख व्यक्त गरे।
‘दक्षिण कोरियाको विकास मोडल नेपालमा ल्याउनुपर्छ’
विगत ३१ वर्षदेखि दक्षिण कोरियामा बस्दै आएका कुँवरले नेपालको विकासका लागि दक्षिण कोरियाको मोडल र प्रविधि भित्र्याउन आवश्यक रहेकोमा जोड दिए। ‘म १८–१९ वर्षको उमेरदेखि कोरियामा छु। त्यहाँको विकास देखेर नेपालमा कसरी त्यस्तै विकास र प्रविधि ल्याउन सकिन्छ भनेर निरन्तर लागिरहेको छु र केही व्यवसाय पनि गरिरहेको छु,’ उनले भने।
नेपालको विकासका लागि पश्चिमा राष्ट्रहरूको मुख मात्र ताक्नुभन्दा दक्षिण एसिया (भारत, बङ्गलादेश, पाकिस्तान) कै ठुलो जनसङ्ख्या र बजारलाई लक्षित गरेर काम गर्न सके नेपाल छिट्टै समृद्ध बन्न सक्ने उनको धारणा थियो।
अन्तमा, विषम परिस्थितिका बाबजुद पनि एकताको महाधिवेशन यहाँसम्म ल्याइपुर्याएकोमा १०औँ कार्यसमिति र एकता महाधिवेशन समितिलाई धन्यवाद दिँदै कुँवरले आगामी नेतृत्वलाई पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण