डेढ वर्षअघि ३५ जनाको ज्यान लिएको झ्याप्लेखोला पहिरो नियन्त्रण अन्तिम चरणमा
सारांश
- डेढ वर्षअघि झ्याप्ले खोलामा गएको पहिरो नियन्त्रणको काम ९९ प्रतिशत पूरा भएको छ, जसले आगामी वर्षामा सडक अवरुद्ध हुने जोखिम कम गर्नेछ।
- २०८१ असोजमा गएको पहिरो मानवीय गतिविधि र प्राकृतिक कारणले भएको थियो, जसमा ३५ जनाको ज्यान गएको थियो।
- पहिरो नियन्त्रणका लागि ग्याबिन पर्खाल, बाँसको पर्खाल र माइक्रो पाइल प्रविधिको प्रयोग गरिएको छ।
काठमाडौँ । डेढ वर्षअघि ३५ जनाको ज्यान जाने गरी आएको विनाशकारी झ्याप्ले खोला पहिरो नियन्त्रणको काम ९९ प्रतिशत सम्पन्न भएको छ । नागढुंगा–मुग्लिन मुग्लिन सडक अन्तर्गतको नागढुंगा–नौबिसे सडक खण्डमा पर्ने यो संवेदनशील क्षेत्रमा गरिएको बलियो रोकथामका कारण आगामी वर्षायाममा सडक अवरुद्ध हुने जोखिम कम हुने अपेक्षा गरिएको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख केशवप्रसाद ओझाले झ्याप्ले खोलाको पहिरो नियन्त्रण कार्य अहिले ९९ प्रतिशतसम्म पूरा भएको जानकारी दिए । भने, ‘यो पहिरो नियन्त्रणको काम लगभग सकिएको छ, अब १ प्रतिशत काम बाँकी छ ।’
२०८१ असोज १२ गते अविरल वर्षासँगै झ्याप्ले खोलामा लेदोसहितको भीषण पहिरो खसेको थियो । यो पहिरो प्राकृतिक कारण मात्र नभई मानवीय गतिविधिको परिणाम पनि थियो । सडकदेखि २–३ सय मिटर माथि प्लटिङका क्रममा जम्मा गरिएको माटोले पहिरोको जग बसालेको थियो । ठुलो पानी परेपछि उक्त थुपारिएको माटो बगेर आएको र त्यहाँ रहेको सानो कल्भर्टलाई पूर्ण रूपमा पुरिदिएको थियो । पानीको निकास अवरुद्ध भएपछि लेदोको तीव्र बहावले गर्दा कल्भर्ट भरियो र त्यसको दबाबले थप भूस्खलन गराएर ठुलो पहिरोको रूप लिएको थियो ।
उक्त पहिरो खस्दा बुटवलबाट आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस, चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस र गोरखाबाट आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस यही खोलामा पुरिएका थिए । यो घटनामा ३५ यात्रुको ज्यान गएको थियो, जसले राष्ट्र नै शोकमा परेको थियो । पछि यी गाडीहरू माटोले पुरिएको अवस्थामा स्काभेटरले खनेर निकालिएको थियो । सोबेला यस पहिरोका कारण काठमाडौँ भित्रिने तथा बाहिरिने मुख्य नाका अवरुद्ध भएको थियो, जसले गर्दा सयौँ गाडीहरू रोकिएका थिए ।
यसअघि सोही स्थानमा २०५० सालमा पनि पहिरो आएको इतिहास रहेको छ, जसले यस क्षेत्रको भूबनोटको संवेदनशीलतालाई थप उजागर गर्छ । साथै आगामी दिनमा यो पहिरो आउन नदिन दीर्घकालीन नियन्त्रणका लागि नागढुंगा मुग्लिन सडक योजना पूर्वीखण्डले वैज्ञानिक प्रविधिको प्रयोग गरेको हो ।
यस पहिरोको दीर्घकालीन नियन्त्रणका लागि सडक विभागले वैज्ञानिक रि–डिजाइन गरी आधुनिक र बलियो प्रविधिहरू अपनाएको छ । पहिरो नियन्त्रणका लागि मुख्यतया ग्याबिन पर्खालको प्रयोग गरिएको छ, जसले माटोलाई स्थिर राख्न र पानीको बहावलाई नियन्त्रण गर्न मद्दत गर्छ । गल्लीहरूमा भने ‘बेम्बो क्रिब वाल’ (बाँसलाई गाडेर पर्खाल बनाउने विधि) प्रयोग गरिएको छ । यसले माटोलाई अड्याउनुका साथै बाँस आफैँ उम्रेर झाङ बनेपछि प्राकृतिक रूपमा थप बलियो र दिगो समाधान प्रदान गर्दछ ।
यसका अतिरिक्त, माथिल्लो सडकमा ‘माइक्रो पाइल’ प्रविधि प्रयोग गरिएको छ, जसले जमिनभित्र साना र बलिया पिलरहरू गाडेर माटोको स्थिरता बढाउँछ । त्योभन्दा माथि एङर रड र एसटी रड हालेर आरसीसी (प्रबलीकृत सिमेन्ट कंक्रिट) को संरचना निर्माण गरिएको छ । यी इन्जिनियरिङ उपायहरूले पहिरोलाई थप फैलिनबाट रोक्न र माटोलाई बलियो तथा स्थायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन् । यस किसिमको बहु–पक्षीय र बलियो संरचनाले झ्याप्ले खोलालाई भविष्यमा पनि सुरक्षित राख्ने विश्वास गरिएको छ ।
साथै झ्याप्ले खोलाको पहिरो नियन्त्रणको काम लगभग पूरा भएसँगै आगामी वर्षायाममा यो सडक खण्डमा सडक अवरुद्ध हुने र दुर्घटना हुने जोखिम निकै कम हुने अपेक्षा गरिएको छ । यो कामले काठमाडौँ भित्रिने तथा बाहिरिने मुख्य नाकामा यात्रुहरूको यात्रालाई सुरक्षित र सहज बनाउन ठुलो मद्दत पुर्याउनेछ ।
यद्यपि, नागढुंगा–नौबिसे सडक खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ । १२.२५ किलोमिटर दूरी रहेको यो सडक खण्डमा अहिले तेस्रो तहको कालोपत्र गर्ने तयारी भएको छ । निर्वाचनका कारण इन्जिनियरिङ टोली, कर्मचारी चुनावमा खटिएका र निर्माण व्यवसायीका मतदानका लागी घर फर्किएकाले केही दिन काम प्रभावित बनेको थियो । अब कामले पुनः पूर्ण गति लिनेछ ।
आयोजना प्रमुख ओझा भन्छन्, ‘यो सडक खण्ड दुई तहको कालोपत्र सकिसकेको छ । अब तेस्रो तहको कालोपत्र गर्ने तयारी भएको छ । यो खण्डमा कालोपत्र गर्ने कार्य तीन सातामा सकिन्छ । यसपछि रोडमार्किङका काम सुरु गर्छौँ ।’
साथै यही खण्डको खानीखोलामा पैदल यात्रीका लागि अपाङ्गमैत्री आकाशे पुल निर्माण भइरहेको छ । नागढुंगा–नौबिसे खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएको छ र यसको म्याद पटक–पटक थपिँदै आएको छ ।
२०७८ चैत २९ गते ठेक्का सम्झौता भएको यो खण्ड विस्तार सम्झौता भएको डेढ वर्षपछि २०७९ जेठ २६ गतेदेखि काम सुरु भएको थियो । २०८१ जेठ २७ गतेभित्र काम नसकिएपछि माघ २०८१ सम्मका लागि म्याद थपिएको थियो । काम नसकिएपछि फेरि २०८२ साउन १० गतेसम्मका लागि म्याद थप गरिएको थियो । उक्त अवधिमा नसकिएपछि फागुन मसान्तसम्म पुनः थपिएको थियो । चुनावका कारण काम प्रभावित बनेपछि अझै समय लाग्ने आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण