बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सतुङ्गलमा चैत ५ गतेदेखि  विराट महायज्ञ हुँदै

सोमबार, ०२ चैत २०८२, १७ : २०
सोमबार, ०२ चैत २०८२

सारांश

  • सतुङ्गलमा विन्ध्यवासिनी आध्यात्मिक सङ्घले १० दिने श्रीमद्देवीभागवत महायज्ञ आयोजना गर्दैछ।
  • महायज्ञको मुख्य उद्देश्य विश्व शान्ति, राष्ट्र कल्याण र मानव समाजका समस्या समाधान गर्नु हो।
  • यज्ञमा पुराण पाठ, महारुद्र अनुष्ठान, र मन्दिर निर्माणका लागि रकम सङ्कलन गरिनेछ।

काठमाडौँ । काठमाडौँको सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट महायज्ञ आयोजना हुने भएको छ । विश्व शान्ति, राष्ट्र कल्याण र मानव समाजमा देखिएका विविध समस्याको समाधानका लागि भन्दै विन्ध्यवासिनी आध्यात्मिक सङ्घको आयोजनामा आगामी २०८२ साल चैत्र ५ गतेदेखि १४ गतेसम्म उक्त महायज्ञ सञ्चालन हुन लागेको हो । 

विश्वमा मच्चिएको आधिभौतिक, आधिदैविक एवं आध्यात्मिक तापको कोलाहललाई वैदिक सनातन धर्मको माध्यमबाट शान्त पार्ने उद्देश्यले यो महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महायज्ञमा श्रीमद्देवीभागवत पुराणको पाठ(पारायण र कथा प्रवचन मुख्य आकर्षण रहनेछ । यसका साथै १३३१ आवृत्तिको विशाल महारुद्र अनुष्ठान गरिनेछ । देशमा उत्पन्न हुन सक्ने राजकीय उपद्रव, भोकमरी, भूकम्प, अतिवृष्टि, अनावृष्टि र असाध्य रोग शान्त पार्न नवार्ण मन्त्रको ९ लाख जप तथा हवन गरिनेछ ।

दरिद्रता नाश र सु–स्वास्थ्यका लागि श्रीसूक्तको विधि विधानपूर्वक एक हजार जप र हवन, नवग्रह पूजन, वेद र गायत्री मन्त्रको सस्वर पाठलगायतका कार्यक्रमहरू पनि महायज्ञमा समावेश गरिएका छन् ।

सङ्कलित रकम मन्दिर निर्माणमा खर्च गरिने

२०४१ सालमा जगदाचार्य नेपाली बाबाले स्थापना गरेको यस पीठले विगतमा पनि देशका विभिन्न स्थानमा थुप्रै ठुला धार्मिक अनुष्ठान र पदयात्राहरू सम्पन्न गरिसकेको छ । जगदाचार्यको निधन भएपछि हाल उनका छोरा रामचन्द्र शर्माको नेतृत्वमा संस्था सञ्चालन भइरहेको छ ।

आयोजकका अनुसार यस महायज्ञमा भक्तजनहरूबाट सङ्कल्प गरिएको रकम सोही स्थानमा जगन्माता विन्ध्यवासिनी देवीको श्रीयन्त्रमय मन्दिर निर्माण कार्यमा प्रयोग गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप