आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वकपको अन्तिम तयारीका लागि ब्राजिलियन टोलीको घोषणा, नेयमार अटाएनन्

मङ्गलबार, ०३ चैत २०८२, १० : ३०
मङ्गलबार, ०३ चैत २०८२

सारांश

  • ब्राजिलले आगामी विश्वकपको तयारीका लागि टोली घोषणा गर्‍यो, जसमा नयाँ खेलाडीहरू समावेश छन्।
  • इगोर थियागो र रायन जस्ता नयाँ खेलाडीहरूलाई टोलीमा समावेश गरिएको छ, जबकि नेयमार भने टोलीमा परेका छैनन्।
  • ब्राजिलले फ्रान्स र क्रोएसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ, जुन विश्वकपको तयारीको लागि महत्त्वपूर्ण हुनेछ।

ब्रासिलिया । आगामी जुनमा हुने विश्वकपको अन्तिम तयारीका लागि ब्राजिलले आफ्नो टोली घोषणा गरेको छ। प्रशिक्षक कार्लो एन्चेलोटीले फ्रान्स र क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रिमियर लिगमा तहल्का मच्चाइरहेका ब्रेन्टफोर्डका स्ट्राइकर इगोर थियागो र बोर्नमाउथका विङ्गर रायनलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन्।

२४ वर्षीय थियागो यस सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन्। उनले १९ गोल गर्दै अर्लिङ हालान्डलाई पछ्याइरहेका छन्। सन् २०२४ मा ३० मिलियन पाउण्डमा क्लबमा भित्रिएका थियागो सुरुवाती सिजन चोटका कारण संघर्ष गरे पनि अहिले लयमा फर्किएका हुन्।

ब्रेन्टफोर्डका प्रशिक्षक कीथ एन्ड्रुजले थियागोको यो सफलताले क्लबलाई नै गौरवान्वित बनाएको बताएका छन्। त्यस्तै, १९ वर्षीय रायनले पनि जनवरीमा ब्राजिलियन क्लब भास्को डी गामाबाट प्रिमियर लिग आएलगत्तै प्रभावशाली प्रदर्शन गर्दै टोलीमा स्थान पक्का गरेका हुन्।

ब्राजिलियन टोलीमा यसपटक गलाटासरायका मिडफिल्डर गेब्रियल सारा र फ्लेमेन्गोका डिफेन्डर लियो पेरेरा पनि नयाँ अनुहारको रूपमा भित्रिएका छन्। यता रियल मड्रिडबाट लियोनमा लोनमा रहेका १९ वर्षीय युवा स्टार एन्ड्रिकले एक वर्षपछि पुनरागमन गरेका छन्। उनले हालै लियोनका लागि डेब्युमै ह्याट्रिक गर्दै आफ्नो क्षमता प्रमाणित गरेका थिए।

यद्यपि, ब्राजिलियन फुटबलका दिग्गज खेलाडी नेयमार भने यसपटक पनि टोलीमा अटाउन सकेनन्। ३४ वर्षीय नेयमार पूर्ण रूपमा फिट नभएका कारण उनलाई नबोलाइएको प्रशिक्षक एन्चेलोटीले स्पष्ट पारेका छन्। सन् २०२३ अक्टोबरदेखि राष्ट्रिय टोलीबाट बाहिर रहेका नेयमार विश्वकपको अन्तिम टोलीमा पर्ने वा नपर्ने भन्ने विषय अझै अनिश्चित छ।

ब्राजिलले मार्च २६ मा बोस्टनमा फ्रान्सको सामना गर्नेछ भने मार्च ३१ मा ओर्लान्डोमा क्रोएसियासँग खेल्नेछ। जुन १३ देखि सुरु हुने विश्वकपमा ब्राजिल समूह ‘सी’ मा मोरक्को, हाइटी र स्कटल्याण्डसँगै रहेको छ। यो मैत्रीपूर्ण खेलको प्रदर्शन नै खेलाडीहरूका लागि विश्वकपको टिकट काट्ने अन्तिम अवसर हुनेछ।

ब्राजिल टोली

गोलकिपर: एलिसन (लिभरपुल), बेन्टो (अल-नासर), एडरसन (फेनेरबासे)

डिफेन्डरः एलेक्स सान्ड्रो (फ्लेमेन्गो), ब्रेमर (युभेन्टस), ड्यानिलो (फ्लेमेन्गो), डगलस सान्तोस (जेनिट सेन्ट पिटर्सबर्ग), गेब्रियल म्यागाल्हेस (आर्सनल), इबानेज (अल-अहली), लियो परेरा (फ्लेमेन्गो), मार्किन्होस (पेरिस सेन्ट जर्मेन), वेसले

मिडफिल्डर: आन्द्रे सान्तोस (चेल्सी), कासेमिरो (म्यानचेस्टर युनाइटेड), डानिलो (बोटाफोगो) फाबिनहो (अल-इत्तिहाद), गेब्रियल सारा (गालारासारे)

फरवार्डहरू: एन्ड्रिक (लियोन), गेब्रियल मार्टिनेली (आर्सनल), इगोर थियागो (ब्रेन्टफोर्ड), जोआओ पेड्रो (चेल्सी), लुइज हेनरिक (जेनिट सेन्ट-पिटर्सबर्ग), म्याथियस कुन्हा (म्यानचेस्टर युनाइटेड), राफिनहा (बार्सिलोना), रायन (बोर्नेमाउथ), भिनिसियस जेडर (बार्सिलोना)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप