नेपाल बैंकका ऋणीलाई राहत: कर्जा चुक्ता तथा नियमित गर्दा आकर्षक ब्याज छुट
सारांश
- नेपाल बैंक लिमिटेडले ऋणीहरूका लागि ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना ल्याएको छ।
- २०७९ चैत मसान्तअघि खराब वर्गमा परेका ऋणीले २०८३ असारभित्र चुक्ता गर्दा ब्याज छुट पाउनेछन्।
- २०८० वैशाख १ गतेपछिका ऋणीले २०८२ चैत मसान्तभित्र बक्यौता तिरे ब्याज छुट पाउनेछन्।
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ऋणीहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना सार्वजनिक गरेको छ।
बैंकले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समयमा प्रवाह भएका तथा विभिन्न वर्गमा रहेका कर्जाका ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको हो।
यस योजनाअन्तर्गत वि.सं. २०७९ साल चैत्र मसान्तअगाडि खराब वर्गमा वर्गीकरण भएका तथा अपलेखित कर्जा ग्राहकहरूले विशेष लाभ लिन सक्नेछन्। सावाँ रकम १ करोड रूपैयाँसम्म रहेका यस्ता ऋणीहरूले वि.सं. २०८३ साल आषाढ मसान्तभित्र बैंकको शर्तअनुसार कर्जा चुक्ता गरेमा ब्याज छुटको सुविधा पाउनेछन्।
बैंकले लामो समयदेखि कर्जा तिर्न नसकेका यस्ता ग्राहकहरूलाई यस सुवर्ण अवसरको सदुपयोग गर्दै कर्जा राफसाफ गर्न आग्रह गरेको छ।
त्यसैगरी, वि.सं. २०८० वैशाख १ गतेपश्चात् निष्क्रिय तथा सक्रिय दुवै वर्गमा रहेका कर्जा ग्राहकहरूका लागि पनि बैंकले अर्को व्यवस्था गरेको छ। यस्ता ऋणीहरूले वि.सं. २०८२ चैत्र मसान्तभित्र आफ्नो बक्यौता सावाँ र ब्याज बुझाई कर्जा चुक्ता गरेमा वा कर्जालाई नियमित गरेमा समेत ब्याज छुट प्रदान गरिने बैंकले जनाएको छ।
यस सहुलियतपूर्ण योजनामा सहभागी भई ब्याज छुटको लाभ लिनका लागि सम्बन्धित ऋणीहरूले पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। बैंककी प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलद्वारा जारी विज्ञप्तिमा आफ्ना सम्बन्धित कर्जा ग्राहकहरूलाई समयमै शाखामा सम्पर्क गरी यस आकर्षक योजनाको फाइदा उठाउन अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण