शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

सदाबहार समानुपातिक उम्मेदवार, तर चौथो पटक पनि बन्न सकेनन् सांसद

बुधबार, ०४ चैत २०८२, ०७ : ०८
बुधबार, ०४ चैत २०८२

सारांश

  • नेकपा एमालेका नेता गोरखबहादुर बोगटी चौथो पटक समानुपातिक उम्मेदवार बने पनि सांसद बन्न असफल रहे।
  • हुम्लाका नेता बोगटी प्रत्यक्ष निर्वाचनमा रुचि नदेखाउँदा र पार्टीभित्र गुटबन्दीका कारण कमजोर बनेको चर्चा छ।
  • बोगटी कर्णालीमा यामलाल कँडेलसँग प्रतिस्पर्धामा कमजोर देखिएका छन्, जसले गर्दा उनले आफ्ना नेताहरूलाई समेत संरक्षण गर्न सकेनन्।

सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य गोरखबहादुर बोगटीको संसद् पुग्ने चाहना यो पटक पनि त्यत्तिकै भयो ।

एमाले कर्णालीका सदाबहार समानुपातिक उम्मेदवार बोगटी यो पटकसहित चौथो पटक समानुपातिक उम्मेदवार थिए । एमालेले उनलाई पिछडिएको क्षेत्रतर्फ एक नम्बरमै राखेको पनि थियो ।

यो पटक धेरैले भन्ने गर्थे—बोगटीजी यो पटक सांसद बन्ने सम्भावना छ । यद्यपि उनी समानुपातिक सांसदको सूचीमा अटाउन सकेनन् ।

पिछडिएको क्षेत्र महिला खस आर्यतर्फबाट कालिकोटकी यशुदाकुमारी बराल समानुपातिक सांसद बनेकी छन् ।

बोगटी २०७०, ०७९ मा प्रतिनिधि सभा र ०७४ मा प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार थिए । यो पटकलाई चार पटक उनी समानुपातिक उम्मेदवार बने, तर संसद छिर्न सकेनन् । हुम्लाकै एमाले नेताहरूका अनुसार उनी प्रत्यक्षतर्फको चुनाव लड्न चाहँदैनन् ।

२०४८ सालदेखि ०६४ सम्म लगातार प्रत्यक्षतर्फ चुनाव लडेका उनी ०५६ सालमा विजयी भएका थिए, जतिबेला एमालेप्रति देशैभर लहर थियो । जसका कारण हुम्लालगायत साविक कर्णालीका सबै जिल्लामा एमालेले जित निकालेको थियो ।

तर ६० को दशकपछि हुम्लामा माओवादी बलियो शक्तिका रूपमा उदायो । ०६४ सालमा उनी तेस्रो भएका थिए । त्यसपछि उनी प्रत्यक्षतर्फको संसदीय चुनाव लड्न अग्रसर भएनन् । कारण, पार्टीतर्फ प्रदेशको शीर्ष नेता भए पनि उनको ‘ग्राउन्ड’ कमजोर छ ।

कर्णालीमा यामलाल कँडेलसँग दाँजिने बोगटी जनमत कमजोर रहेकै कारण प्रत्यक्षतर्फ चुनाव लड्न डराउने गरेका बताउँछन् हुम्ला एमालेका एक नेता ।

आफू नभएपछि उनले एक पटक श्रीमतीलाई राष्ट्रिय सभा सांसद बनाए । तर उनी गणतन्त्रपश्चात् सांसद बन्न सकेका छैनन् । कर्णालीमा यामलाल कँडेलसँग दाँजिने बोगटी जनमत कमजोर रहेकै कारण प्रत्यक्षतर्फ चुनाव लड्न डराउने गरेका बताउँछन् हुम्ला एमालेका एक नेता ।

‘उहाँजत्तिको नेता प्रत्यक्ष चुनाव लड्न सक्ने ल्याकत राख्ने हो, तर खै उहाँ समानुपातिकमै बस्नुहुन्छ,’ ती नेताले भने, ‘तर पार्टीले सांसद बनाउँदैनन् । यत्तिको नेतालाई त बनाउनु पनि पर्ने हो, बनाएको देखिँदैन।’

एमालेभित्र यामलालका कमजोर प्रतिस्पर्धी

गोरखबहादुर बोगटी नेकपा एमालेभित्र कर्णालीका शीर्ष नेता हुन् । कर्णाली प्रदेशबाट पार्टीको स्थायी कमिटी सदस्य बनेका उनी प्रदेश अध्यक्षदेखि इन्चार्जको जिम्मेवारी पुरा गरिसकेका नेता हुन् ।

साथै उनलाई कर्णालीमा एमालेभित्र यामलाल कँडेलको प्रतिस्पर्धी नेताका रूपमा लिइन्छ । यिनी दुई नेताहरूबिच प्रदेशमा गुटको राजनीति हुने गरेको छ । कर्णालीमा यामलालविरुद्धको गुटको नेतृत्व बोगटीले नै गर्दै आएका छन् ।

यसअघि ११ औँ राष्ट्रिय महाधिवेशनमा पनि कर्णालीबाट सचिवमा यिनी दुई जनाको दाबी थियो । पछि कँडेले सचिव भए । बोगटी केन्द्रीय सदस्यमै रहे ।

कँडेलले पटक–पटक प्रतिनिधि सभादेखि प्रदेश सभा चुनाव लडेका छन् । उनी हाल कर्णालीको मुख्यमन्त्री छन् । तर, प्रदेशकै शीर्ष नेता मानिएका बोगटी भने समानुपातिकमा मात्रै बस्न खोज्ने, आफ्ना गुटका नेताहरूलाई समेत संरक्षण गर्न नसक्ने हुँदा कँडेलको तुलनामा निकै कमजोर मान्छिन्, उनी ।

संसदीय चुनावमा पनि आफू निकट नेताहरूलाई टिकट दिलाउने, संरक्षण गर्ने, पार्टीका जनवर्गीय संगठनमा बलियो उपस्थिति देखाउने कुरामा बोगटी कमजोर बन्दै गएको उनकै टिमका एक नेताले बताए ।

निरन्तर प्रदेशको पार्टीको शीर्ष स्थानमा रहे पनि उनको गृह जिल्ला हुम्लामा ०५६ सालपछिका कुनै पनि प्रतिनिधि सभा चुनाव एमालेले जित्न सकेको छैन ।

यो पटकको प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ तीन जनाको दाबी थियो । जसमा कँडेल निकट दल रावल र बोगटी निकट दल फडेराबिच टिकट फुत्काउन संघर्ष चल्यो । फडेरा ०७९ को स्थानीय तहदेखि प्रदेशसभाको चुनाव हारेका नेता थिए ।

फडेरा प्रदेशमा गोरख बोगटी समूहका नेता हुन् । बोगटीकै जोडबलमा उनले पुनः टिकट ल्याउन सफल भएका थिए ।

यद्यपि १२ निर्वाचन क्षेत्रमा बोगटी निकट उम्मेदवार निकै कम थिए । एमालेको महाधिवेशन प्रतिनिधि छनोटदेखि उम्मेदवार छनोटमा कँडेल पक्ष हाबी हुने गरेको छ ।

केन्द्रमा दुवै जना नेताहरू केपी शर्मा ओली निकट मानिन्छन् । तर प्रदेशमा दुईबिच पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा हुने गरेको छ ।

तथापि कँडेलको तुलनामा बोगटी निकै कमजोर देखिएका छन् । उदाहरणका लागि एमालेको कर्णाली प्रदेशस्तरिय प्रथम अधिवेशनका बेला सिङ्गो कँडेल टिमले चुनाव जितेको थियो । बोगटी समूहको शर्मनाक हार भयो ।

संसदीय चुनावमा पनि आफू निकट नेताहरूलाई टिकट दिलाउने, संरक्षण गर्ने, पार्टीका जनवर्गीय संगठनमा बलियो उपस्थिति देखाउने कुरामा बोगटी कमजोर बन्दै गएको उनकै टिमका एक नेताले बताए ।

यो पटकको निर्वाचनमा पनि १२ प्रतिनिधि सभा क्षेत्रमध्ये अधिकांशमा कँडेल निकट नेताहरू नै उम्मेदवार थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप