कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान
सारांश
- गोरखाको अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराको समस्याबाट पीडित छन्, जसले पठनपाठनमा बाधा पुर्याएको छ।
- झुसिल्किराको कारणले विद्यार्थी र शिक्षकहरूलाई चिलाउने समस्या भएको छ र उनीहरूले एलर्जीको औषधि सेवन गरिरहेका छन्।
- विद्यालयले समस्या समाधानका लागि पहल गरे पनि विषादी प्रयोग गर्न नपाउँदा समस्या जस्ताको तस्तै रहेको छ।
गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका शिक्षक र विद्यार्थी झुसिल्किराका कारण हैरान भएका छन् । कक्षाभरि झुसिल्किरा भइँ दिँदा पठनपाठन प्रभावित भएको छ ।
विद्यालयको वरिपरि उतिसको जङ्गल छ । सुक्खा मौसम लागेपछि बिगत एक महिनायता उतिसमा लागेको झुसिल्किरा कक्षा कोठामा आएर बस्न थालेका छन् । शिक्षिका पवित्रा तामाङ भन्छिन्, “भन्दा सानो कुरा जस्तो लाग्छ, तर वरिपरिको उतिसको जङ्गलबाट आएको झुसिल्किराले कक्षाको भुइँ, डेक्स, बेञ्च, जस्ताको छानो, भित्ता कतै खालि छैन ।”
माघको अन्तिम सातादेखि झुसिल्किरा लागेर शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान भएका छन् । उनीहरुको जीउभरी डाबर उठेको छ । सबैले एलर्जीको औषधी खाँदै आएका छन् । “रातभरि कन्याएर सुत्न सकिँदैन । विद्यार्थीको बिजोग छ”, शिक्षिका तामाङले भनिन् । झुसिल्किराको झुस बिझेर बालबालिकाले जीउभरी तेल घसेर आउने गरेका उनी बताउँछन् ।
कक्षा १ देखि ३ सम्म पढ्ने विद्यार्थीका लागि ओछ्याएको कार्पेट झुसिल्किराले ढाकेपछि कक्षाकोठाबाट हटाइएको शिक्षिका तामाङको भनाइ छ । विद्यार्थीलाई पुस्तकालयमा लगेर राखिएको उनले बताइन् ।
“हावाहुरी चल्न थालेपछि झुस उडेर आँखामा पर्ने डर रहन्छ”, उनले भनिन्, “समस्या समाधान गरिदिन शिक्षा शाखा र गाउँपालिकाका जनप्रतिनिधिलाई गुनासो गरेका थियौँ । विषादी प्रयोग गर्न हुँदैन भन्ने सुझाव पायौँ । अवस्था उस्तै छ ।”
विद्यालयको समस्याबारे गत फागुन २६ गते बसेको कार्यपालिका बैठकमा कुरा राखेको वडाध्यक्ष बलबहादुर गुरुङ बताउँछन् । “हामीले वरिपरिको रुख ढालेर समस्या समाधान हुन्छ कि भन्ने सोचेर तीनवटा रुख ढाल्यौँ तर त्यसो गर्दा जङ्गलको झुसिल्किरा झन विद्यालयमा आउँदो रहेछ”, उनले भने, “समस्या घट्लाभन्दा झन बढ्यो । गाउँपालिकाले विषादी प्रयोग गर्नुहुन्न भनेर प्रयोग गर्न दिएन ।”
समस्या ज्यूँकात्यूँ रहेको वडाध्यक्ष गुरुङले भने । केही दिनयता पानी परेकाले झुस उड्ने समस्या भने केही कम भएको शिक्षिका तामाङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण