बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्पताल सुधारको माग

बिहीबार, ०५ चैत २०८२, २२ : ५२
बिहीबार, ०५ चैत २०८२

सारांश

  • लहान अस्पतालमा सेवा सुधारको माग गर्दै रास्वपाले ज्ञापनपत्र बुझायो ।
  • ज्ञापनपत्रमा कर्मचारी नियुक्ति, पारदर्शिता, र आमा सुरक्षा कार्यक्रमको विवरण सार्वजनिक गर्नुपर्ने माग छन् ।
  • अस्पताल सञ्चालन समितिका अध्यक्षले स्वयंसेवक र मेसुको अभावबारे जानकारी दिए ।

सिरहा । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक प्रादेशिक अस्पतालमा सेवामा सुधारको माग गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लहान नगर समितिले अस्पताल प्रशासनलाई आठ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सुधारको माग अघि सारेको हो ।

अस्पतालमा हालै भएको कर्मचारी नियुक्ति, सेवा प्रवाहमा देखिएको लापरबाही तथा पारदर्शिताको अभावका विषयमा नागरिकस्तरबाट गुनासो बढेपछि रास्वपाले औपचारिक रूपमा ध्यानाकर्षण गराएको हो । ज्ञापनपत्रमा फागुन मसान्तसम्मको मासिक तथा आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय–व्यय विवरण सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्नासम्बन्धी विज्ञापन, नियुक्ति प्रक्रिया तथा स्वयंसेवक सम्बन्धी सम्पूर्ण विवरण पारदर्शी रूपमा उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

त्यस्तै, ‘आमा सुरक्षा कार्यक्रम’ को आय–व्यय तथा समय व्यवस्थापनको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने र चालु आर्थिक वर्षमा नियुक्त भएका सबै कर्मचारीको नियुक्तिपत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्ने उल्लेख छ । आकस्मिक सेवामा आएका बिरामीका आफन्तलाई बाहिरका निजी पसलबाट औषधि किन्न बाध्य पार्ने वा दबाब दिने कार्य तत्काल रोक्नुपर्ने, अस्पतालका पदाधिकारी तथा कर्मचारीको स्पष्ट कार्य विभाजन र जिम्मेवारी निर्धारण गर्नुपर्नेलगायत माग राखिएका छन् ।

ज्ञापनपत्र बुझ्दै अस्पताल सञ्चालन समितिका अध्यक्ष रामनारायण मेहताले बिरामीको चाप बढ्दै जाँदा केही कर्मचारीलाई स्वयंसेवकका रूपमा बिना तलब खटाइएको जानकारी दिए । आन्तरिक स्रोत पर्याप्त नभएकाले नियमित तलबमा राख्न नसकिएको उहाँको भनाइ छ । साथै, प्रदेश सरकारले मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त नगर्दा झन्डै दुई वर्षदेखि निमित्त मेसुको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

रास्वपा लहान नगर सभापति लवकुमार मण्डलद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रको बोधार्थ मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सिरहा तथा इलाका प्रशासन कार्यालय लहानमा पठाइएको छ । अस्पतालको सेवा सुधार, पारदर्शिता र जनमैत्री व्यवस्थापन सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्ने उनको माग छ ।

विगत ४७ वर्षदेखि मुरारका र सारडा परिवारले अस्पतालको नाममा दान गरेको जग्गाको स्वामित्व गत मङ्सिरमा मात्र अस्पतालकै नाममा दर्ता भएको थियो । जग्गा अस्पतालको स्वामित्वमा आएपछि नयाँ भवन निर्माण, सिटी स्क्यान, एमआरआई सेवा तथा विशिष्टीकृत ट्रमा सेन्टर स्थापना गर्ने बाटो खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप