निर्यात प्रवर्द्धनका लागि इ–कमर्स र पेमेन्ट गेटवे प्रणाली सहज बनाउन आवश्यकः पाण्डे
सारांश
- नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्षले निर्यात प्रवद्र्धनका लागि ई-कमर्स र पेमेन्ट गेटवे प्रणाली सहज बनाउनु पर्ने बताए।
- उनले नेपालका उत्पादन अन्य देशमा बेच्न सक्ने अनलाइन प्लेटफर्मको आवश्यकता औंल्याए।
- अध्यक्ष पाण्डेले निर्यात अनुदान र फेसलेस प्रणालीको माध्यमबाट निर्यात प्रक्रिया सहज बनाउनुपर्ने धारणा राखे।
काठमाडौँ । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपालमा निर्यात प्रवद्र्धनका लागि इ–कमर्स र पेमेन्ट गेटवे प्रणाली सहज बनाउन आवश्यक रहेको बताएका छन् ।
उनले अहिले नेपाललाई विदेशबाट सामान किन्ने एप वा पोर्टलभन्दा पनि नेपालका उत्पादन अन्य देशमा बेच्न सक्ने अनलाइन प्लेटफर्म आवश्यक रहेको बताए ।
नेपालबाट बैंकिङ च्यानल प्रयोग गरेर विदेशबाट सामान किन्न सकिने व्यवस्था भएपनि अहिलेको अवस्थामा त्यस्तो प्रणालीभन्दा नेपालका वस्तु विश्व बजारमा बेच्न मिल्ने एप वा पोर्टल विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
अध्यक्ष पाण्डेकाअनुसार नेपालमै इ–कमर्स पेमेन्ट गेटवे प्रणाली विकास गरेर पेपल, अमेजनजस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूलाई नेपालमा आकर्षित गर्नुपर्छ । ती कम्पनीहरू नेपालमा स्थापना भएमा नेपालका निर्यातजन्य वस्तुहरूको विश्व बजार विस्तार गर्न सहयोग पुग्ने उनले बताए ।
अध्यक्ष पाण्डेले आयकरसहित निर्यात अनुदानमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि बताए । निर्यात अनुदान पाउन हरेक वर्ष कार्यविधि परिवर्तन हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, निर्यातसम्बन्धी सम्पूर्ण सरकारी कामहरू फेसलेस प्रणालीमार्फत सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसले निर्यात प्रक्रिया सहज हुने र निर्यात बढ्न सहयोग पुग्ने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण