बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सावधान ! कतै तपाईंका यी साना गल्तीले कपाल झारिरहेको छैन ?

शनिबार, ०७ चैत २०८२, ०८ : १२
शनिबार, ०७ चैत २०८२

सारांश

  • कपाल झर्ने, हाँगा पलाउने र कपाल रुखो हुने समस्याको कारण र समाधानबारे विज्ञहरूले सुझाव दिएका छन्।
  • ओसिलो कपाल लिएर सुत्ने, तौलियाले कपाल कस्ने, दैनिक स्याम्पु प्रयोग गर्ने जस्ता बानीले कपाललाई हानि गर्छन्।
  • कपालको प्रकारअनुसार उत्पादन छनोट नगर्दा र घामबाट कपाललाई नजोगाउँदा पनि कपालको स्वास्थ्यमा समस्या आउँछ।

काठमाडौँ । पछिल्लो समय धेरै मानिसहरू कपाल झर्ने, हाँगा पलाउने र कपाल रुखो हुने समस्याबाट हैरान छन्। महँगा स्याम्पु र तेलको प्रयोग गर्दा पनि सुधार नभइरहेको हुन सक्छ। यसको मुख्य कारण हाम्रो खानपान मात्र नभएर दैनिक जीवनमा गरिने केही सामान्य तर घातक गल्तीहरू हुन्।

विशेषज्ञहरूका अनुसार कपालको उचित हेरचाह नगर्दा र गलत बानी नत्याग्दा कपालको जरा कमजोर भई अल्पायुमै कपाल झर्ने समस्या देखिन्छ। यहाँ त्यस्ता केही बानी र कपाल स्वस्थ राख्ने उपायहरू दिइएको छ:

१. ओसिलो वा चिसो कपाल लिएर सुत्ने बानी

धेरैजना नुहाएपछि अल्छी लागेर वा हतारमा चिसो कपाल लिएरै सुत्ने गर्छन्। तर, चिसो कपाल सुक्खा कपालको तुलनामा धेरै कमजोर हुन्छ। सुत्दा सिरानीसँग कपालको रगड्दा कपालको जरामा दबाब पर्छ र कपाल सजिलै टुट्न थाल्छ। त्यसैले सधैँ कपाल राम्ररी सुकाएर मात्र सुत्ने बानी बसाल्नुपर्छ।

२. तौलियाले कपाल धेरै कसेर बाँध्ने

नुहाइसकेपछि कपाल छिटो सुकाउन धेरैले तौलियाले कपाललाई जोडले घोट्ने वा धेरै कसिलो गरी बाँध्ने गर्छन्। यसो गर्दा कपालमा अत्यधिक खिचावट पैदा हुन्छ, जसले गर्दा जरा कमजोर भई कपाल झर्ने समस्या बढ्छ। कपाललाई नरम तौलियाले हल्का हातले पुछ्नु नै उपयुक्त हुन्छ।

३. दैनिक स्याम्पुको प्रयोग र ड्राई स्याम्पुको मोह

हरेक दिन स्याम्पु गर्दा टाउकोको छालामा हुने प्राकृतिक तेल हराउँछ, जसले कपाललाई पोषण दिइरहेको हुन्छ। तेलको अभावमा कपाल रुखो र निर्जीव देखिन्छ। हप्तामा २ देखि ३ पटक मात्र स्याम्पु गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ। त्यस्तै, आजभोलि चल्तीमा रहेको ‘ड्राई स्याम्पु’ को धेरै प्रयोगले कपालको जरामा केमिकल जम्मा भई छिद्रहरू बन्द गरिदिन्छ, जसले कपालको वृद्धि रोक्छ।

४. अत्यधिक हिट स्टाइलिङ

हेयर ड्रायर, स्ट्रेटनर वा कर्लिङ मेसिनको धेरै प्रयोगले कपालको प्राकृतिक ओसिलोपना सोस्छ। उच्च तापक्रमले गर्दा कपाल डढ्ने र हाँगा पलाउने समस्या हुन्छ। यदि स्टाइलिङ टूल्स प्रयोग गर्नै परेमा लो वा मिडियम हिटमा राख्नुपर्छ र प्रयोग गर्नुअघि हिट प्रोटेक्टेन्ट स्प्रे वा सिरम अनिवार्य लगाउनुपर्छ।

५. कपालको प्रकार अनुसार उत्पादन छनोट नगर्नु

सबैको कपाल एकै किसिमको हुँदैन। कसैको चिल्लो, कसैको सुक्खा त कसैको सामान्य हुन्छ। अरूले प्रयोग गरेको वा विज्ञापनको भरमा मात्र स्याम्पु रोज्नु गलत हो। आफ्नो कपालको प्रकृति चिनि त्यसै अनुसारको उत्पादन प्रयोग गर्दा मात्र सही पोषण प्राप्त हुन्छ।

६. घामबाट असुरक्षित कपाल

हामी छालाका लागि त सनस्क्रिन लगाउँछौँ, तर कपाललाई घामबाट जोगाउन बिर्सन्छौँ। सूर्यको कडा किरणले कपालको प्रोटिन नष्ट गर्छ। त्यसैले घाममा निस्कँदा स्कार्फ, टोपी वा छाताको प्रयोग गर्नु कपालको स्वास्थ्यका लागि अनिवार्य छ।

कपाल बाहिरी रूपमा मात्र नभई भित्री रूपमा पनि स्वस्थ हुनुपर्छ। त्यसका लागि प्रशस्त पानी पिउने र भिटामिनयुक्त खानेकुरामा जोड दिनुहोस्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप