१४ वर्षीया प्रेमिकालाई स्कुल पुर्याउन १५ वर्षीय किशोरले चोरे बस
सारांश
- जर्मनीमा एक १५ वर्षीय किशोरले प्रेमिकालाई स्कुल लैजान बस चोरे।
- किशोरले बस डिपोबाट साँचो फेला पारेर १३० किलोमिटर टाढासम्म बस चलाए।
- प्रहरीले उनलाई कार्लस्रुहेमा पक्राउ गर्यो र उनीमाथि सवारी चोरीको आरोप छ।
बर्लिन । प्रेममा मानिसले के सम्म गर्दैनन् भन्ने एउटा अनौठो उदाहरण जर्मनीमा देखिएको छ। जर्मनीको विसब्याडेनका एक १५ वर्षीय किशोरले आफ्नी प्रेमिकालाई स्कुल पुर्याउनका लागि सिधै एउटा ठूलो बस नै चोरी गरेर गुडाएका छन्।
गत शुक्रबार बिहान भएको यो घटनाले अहिले जर्मनीको प्रहरी र यातायात कम्पनी दुवैलाई चकित पारेको छ। बिहान करिब ६ बजे ती किशोर लुकिछिपी बस डिपोमा छिरेका थिए।
त्यहाँ उनले बसको मुख्य साँचो फेला पार्न सफल भए र एउटा बस स्टार्ट गरेर कसैले पत्तो नपाउने गरी डिपोबाट बाहिर निकाले। अचम्मको कुरा त के छ भने, डिपोमा जडान गरिएको सीसीटीभीमा बस बाहिरिएको कैद भएको थियो, तर कर्मचारीहरूले आफ्नै चालकले बस लिएर गएको ठानेर वास्ता गरेनन्।
दिउँसो मात्रै थाहा भयो चोरी
कम्पनीले दिउँसोसम्म पनि आफ्नो बस हराएको पत्तो पाएको थिएन। कुनै चालकले झुक्किएर अर्कै बस लगेको हुन सक्ने अनुमानमा कम्पनीले आफ्ना सबै कर्मचारीहरूसँग सोधपुछ गर्यो। जब सबै चालकहरूले उक्त बस नलगेको पुष्टि गरे, तब मात्र कम्पनीले बस चोरी भएको थाहा पायो र प्रहरीलाई खबर गर्यो।
१३० किलोमिटर टाढा भेटियो बस
प्रहरीले बसमा जडान गरिएको जीपीएस ट्रयाक गर्दा बस विसब्याडेनबाट करिब १३० किलोमिटर टाढा रहेको कार्लस्रुहे सहरमा फेला पर्यो। त्यहाँको एउटा पट्रोलिङ टोलीले बसलाई रोक्दा चालकको सिटमा १५ वर्षका किशोरलाई देखेपछि प्रहरी अधिकारीहरू नै छाँगाबाट खसेझैँ भए।
प्रहरी प्रवक्ताका अनुसार ती किशोरले आफ्नी १४ वर्षीया प्रेमिकालाई स्कुल पुर्याउनका लागि बस लिएर आएका थिए। उनले प्रेमिकालाई स्कुल छाडेर विसब्याडेनतर्फ फर्कने तयारी गरिरहँदा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
‘हामीलाई अहिलेसम्म यो थाहा छैन कि उनले बसको साँचो कसरी प्राप्त गरे र उनले यति राम्रोसँग बस कसरी चलाउन सके,’ प्रहरी प्रवक्ताले भनिन्।
यो घटनामा कुनै मानवीय क्षति भएको छैन र बसमा एउटा सानो कोतरिएको दाग समेत लागेको छैन। बसलाई सुरक्षित रूपमा धनीलाई फिर्ता गरिएको छ। यद्यपि, ती किशोरमाथि सवारी चोरी र लाइसेन्स बिना गाडी चलाएको अभियोगमा कानुनी कारबाही अघि बढाइएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण