मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘बाइक हस्पिटल’ को आवरणमा चोरीका मोटरसाइकलको अप्रेसन, इन्जिन नम्बर नै किर्ते गर्ने गिरोह पक्राउ

शनिबार, ०७ चैत २०८२, ०८ : २५
शनिबार, ०७ चैत २०८२

सारांश

  • ललितपुरको टिकाथलीमा 'बाइक हस्पिटल' मा चोरीका मोटरसाइकलको स्वरुप परिवर्तन गरी बिक्री गर्ने गिरोह पक्राउ परेको छ।
  • प्रहरीले इन्जिन र चेसिस नम्बर फेरबदल गरी नक्कली ब्लुबुक बनाएर मोटरसाइकल बेच्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ।
  • प्रहरीले चार वटा मोटरसाइकल र किर्ते ब्लुबुक बरामद गरेको छ, र थप अनुसन्धान जारी छ।

ललितपुर । अस्पतालले बिरामीको उपचार गर्छ, तर ललितपुरको टिकाथलीमा खोलिएको एउटा ‘बाइक हस्पिटल’ले भने चोरीका मोटरसाइकलको स्वरुप र पहिचान नै बदल्ने अवैध धन्दा चलाइरहेको खुलासा भएको छ।

ललितपुर महानगरपालिका वडा नं. ५, टिकाथलीमा ‘बाइक हस्पिटल’ नामक ग्यारेज सञ्चालन गरी विभिन्न स्थानबाट चोरी भएका महँगा मोटरसाइकलहरूको इन्जिन र चेसिस नम्बर किर्ते गरेर बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उक्त ग्यारेजमा छापा मारेको थियो। अनुसन्धानका क्रममा यो गिरोहले विभिन्न ठाउँबाट चोरेर ल्याइएका मोटरसाइकलहरूको वास्तविक पहिचान मेटाउन इन्जिन र चेसिस नम्बरमा फेरबदल गर्ने गरेको पाइयो। यति मात्र नभई, उनीहरूले चोरीका ती मोटरसाइकललाई वैध देखाउनका लागि सरकारी कागजातहरू समेत किर्ते गरेर नयाँ ब्लुबुक (सवारी दर्ता किताब) तयार पारी निर्धक्कसँग बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीले यस अवैध धन्दामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नं. २ घर भई हाल टिकाथली बस्ने २३ वर्षीय विशाल महतो, सोही स्थानका तर हाल काठमाडौँको नरेफाँट बस्ने २९ वर्षीय भीम बहादुर अधिकारी र रौतहट जिल्ला वृन्दावन नगरपालिका वडा नं. ९ घर भई हाल कोटेश्वर बस्ने २७ वर्षीय सञ्जीव कुमार कुसवाहा रहेका छन्। उनीहरूले संगठित रूपमा चोरी, नम्बर प्लेट परिवर्तन र कागजात किर्ते गर्ने काम बाँडफाँट गरेर चलाउँदै आएका थिए।

प्रहरीले सो ग्यारेजबाट र पक्राउ परेका व्यक्तिहरूको साथबाट महँगो मूल्य पर्ने चार वटा मोटरसाइकल बरामद गरेको छ। बरामद भएका सवारी साधनहरूमा केटीएम ड्यूक २५० सीसी, केटीएम ड्यूक २०० सीसी, रोयल इन्फिल्ड ३५० सीसी र केटीएम एड्भेन्चर २५० सीसी रहेका छन्। यसका साथै उनीहरूका साथबाट किर्ते गरिएका ३ थान ब्लुबुक समेत फेला परेको छ।

पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त सातदोबाटोमा राखेर चोरी तथा किर्ते मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ। यो गिरोहले अहिलेसम्म कति वटा मोटरसाइकल यसरी किर्ते गरेर बेचिसकेको छ र यसमा अन्य व्यक्तिहरूको संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप