उपराष्ट्रपति यादवद्वारा पानी दिवसको शुभकामना
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने, “पानी जीवनको आधार हो, यसको संरक्षण र समुचित उपयोग हाम्रो साझा जिम्मेवारी हो ।”
उपराष्ट्रपति यादवले पछिल्लो समय पानी सङ्कटको गम्भीर चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनले हिमनदी पग्लिने दर बढाएको बताएका छन् । सन्देशमा भनिएको छ, “भूमिगत पानीको स्तर घट्दै गएको छ, विशेषतः तराई–मधेसमा यो समस्या गम्भीर छ, पहाडी भूभागका झरना र प्राकृतिक स्रोतहरू सुक्दै गएका छन्, प्रदूषण, अव्यवस्थित संरचना र कमजोर व्यवस्थापनले जलाशयहरूको क्षमता घटाएको छ ।” यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सबैले मिलेर काम गर्नुपर्ने र पानीको संरक्षण वातावरणीय मुद्दामात्र होइन, राष्ट्रिय अस्तित्व र भविष्यको प्रश्न पनि भएको उनको भनाइ छ ।
नेपाल जलस्रोतमा धनी देश भए पनि त्यसको उपयोग र संरक्षणमा अझै सक्षम बन्न नसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नदी, ताल, झरना र भूमिगत पानीको दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक दृष्टिकोण टड्कारो भएको बताएका छन् । स्थानीय समुदायलाई सहभागी गराएर पानीको स्रोत व्यवस्थापन गर्दै आधुनिक प्रविधि प्रयोग गरी पानीको भण्डारण, पुनः उपयोग र शुद्धीकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उपराष्ट्रपति यादवले भने, “विश्व पानी दिवसले हामीलाई पानीको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्ने, भावी पुस्ताका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउने, पानीको न्यायपूर्ण पहुँच सुनिश्चित गर्दै सामाजिक समानता बलियो बनाउने, हिमनदी, आद्र्रभूमि र प्राकृतिक स्रोतहरूको संरक्षणलाई सामूहिक अभियानका रूपमा अगाडि बढाउने, महिलाहरूको आवाजलाई सुन्ने र उनीहरूको भूमिकालाई मान्यता दिने सङ्कल्प लिन प्रेरित गर्न सकोस् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण