सुनको मूल्यमा अप्रत्यासित गिरावट : ‘सेफ हेभन’बाट किन बाहिरिँदैछन् लगानीकर्ता ?
सारांश
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएको छ, जसले नेपाली बजारमा पनि प्रभाव पारेको छ।
- अमेरिकी फेडको ब्याजदर यथावत् राख्ने निर्णय र डलरको मूल्य बढ्दा सुनको मूल्य घट्न थालेको हो।
- पश्चिम एसियाको तनाव र भारतलगायत एसियाली मुलुकमा मुद्रास्फीतिको दबाबका कारण सुनको मूल्य घटिरहेको छ।
काठमाडौं । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव चरम अवस्थामा पुगेको बेला सामान्यतया सुनको मूल्य बढ्ने अपेक्षा गरिन्छ । नासिएर नजाने विशेषता तथा सर्वस्वीकार्य धातुको रुपमा रहेकोले सुनलाई लगानीको एउटा सुरक्षित माध्यमको रुपमा समेत लिइन्छ ।
तर पछिल्लो समय यसको गति ठीक उल्टो देखिएको छ । अमेरिका–इरान युद्ध चरम विन्दुमा रहेको बेला पछिल्लो केही दिनदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दिनप्रतिदिन घट्दो क्रममा देखिएको छ । दुई साताअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५४ सय डलर हाराहारीमा थियो । शुक्रबार उक्त मूल्य ४ हजार ४९७ डलरमा झरेको थियो । यो अहिले ४ हजार ४९० डलरभन्दा तल झरेको छ ।
यसको प्रभाव नेपाली बजारमा समेत देखिएको छ । गत माघमा ३ लाख ३९ हजार पुगेको सुनको मूल्य अहिले २ लाख ८२ हजार रुपैयाँमा झरेको छ । आइतबार मात्रै सुनको मूल्य १२ हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसो त सुनको भाउ ऐतिहासिक विन्दुमा पुग्नुको मुख्य कारण अमेरिका–इरानबिचको सम्भावित युद्ध नै हो । अमेरिकाले इरानमाथि आक्रमण गर्ने चेतावनीसँगै सुनको मूल्य आकाशिएको थियो । अहिलेसम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ५ हजार ५९७ प्रतिऔंसको रेकर्ड कायम भएको देखिन्छ ।
चरम युद्धबिच किन घट्न थाल्यो सुनको मूल्य ?
अहिले सुनको मूल्य घट्नुको मुख्य कारण पश्चिम एसियाको तनाव नै भए पनि यसको असर भने घुमाउरो हिसाबले परेको अर्थविद् नरबहादुर थापा बताउँछन् । अहिले सुन र तेलको मूल्य घट्नु र डलरको मूल्य बढ्नुमा केही महत्वपूर्ण कारण रहेको उनको भनाइ छ ।
सबैभन्दा पहिलो र महत्त्वपूर्ण कारण भनेको अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) को कदम हो । फेडले यसअघि निरन्तर रुपमा घटाउँदै आएको ब्याजदरलाई नघटाउने निर्णय गर्यो । फेडका गभर्नर जेरोम पावेलले फेड दरलाई ३.५० देखि ३.७५ प्रतिशतको बिचमा रहने यसअघिको निर्णयलाई निरन्तरता दिएका हुन् ।
यो निर्णयसँगै डलरको मूल्य बढेको छ । अर्थात् अन्तर्राष्ट्रिय लगानीकर्ताहरु धेरै ब्याजदर पाइने आशमा कमोडिटीको लगानीलाई विस्तारै डलरमा सार्दै गएका छन् । यसले कमोडिटीको मूल्य घट्ने र डलरको बढ्ने अवस्था देखिएको अर्थविद् थापा बताउँछन् ।
‘ब्याजदर र सुनजस्ता सम्पत्तिको मूल्यबिच विपरीत सम्बन्ध हुन्छ । जब बैंकहरूले ब्याजदर बढाउँछन्, ठुला लगानीकर्ताहरूले आफ्नो लगानी सुरक्षित र ब्याज आउने ठाउँमा राख्न रुचाउँछन् । यसो गर्दा सुनजस्तो ब्याज नआउने सम्पत्तिमा आकर्षण कम हुन्छ,’ थापा भन्छन्, ‘अहिले उत्पादन नहुने सुनचाँदी जस्ता कमोडिटीप्रतिको आकर्षण घटेको छ । त्यही भएर मूल्य घटिरहेको छ । ब्याजदर नघट्दा डलर बलियो भयो र लगानीकर्ताहरू सुन बेचेर डलरतिर आकर्षित भए ।’

दोस्रो कारण भनेको युद्धको प्रभाव सुनको सञ्चिति गरेका मुलुकमा देखिएको आर्थिक संकट हो । अहिले पश्चिम एसियाको युद्धको सबैभन्दा ठुलो असर अमेरिका बाहेकका अन्य महाशक्तिहरुमा परेको छ । खासगरी चीन, जापान, भारत जस्ता मुलुकमा महँगी बढ्ने सम्भावना देखिएको छ । यसले सुन सञ्चित गरेका देशलाई तेल किन्न सुनको सञ्चिति घटाउँदै जानुपर्ने बाध्यता देखिएको छ । यसले समेत सुनको मूल्यलाई घटाउन भूमिका खेलेको अर्थविद् थापाको भनाइ छ ।
सुनको मूल्य एकातिर घटिरहँदा डलर भने दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार डलरको बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम भएको छ । यो इतिहासकै सबैभन्दा उच्च मूल्य हो ।
अमेरिकी फेड र भारत लगायत एसियाली मुलुकमा परेको मुद्रास्फीतिको दबाबका कारण डलरको मूल्य इतिहासकै बलियो बन्दै गएको हो । त्यसो त भारतमा देखिएको महँगी दबाबका कारण अहिले भारतीय स्टक मार्केटका लगानीकर्ताले आफ्नो लगानी धमाधम सिफ्ट गर्दै गएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो केही सातामा मात्रै ५ अर्ब डलर भन्दा धेरै लगानी भारतीय स्टक बजारबाट बाहिरिएको छ जुन डलरमा लगानी हुन गएको आशंका गरिएको छ । यो कारणले भारतीय मुद्रा थप कमजोर बनेको अर्थविद् थापा बताउँछन् ।
भारतसँग नेपालको स्थिर विनिमय प्रणाली (पेग) भएका कारण यसको असर नेपाली विनिमयदरमा सोझो रुपमा परेको देखिन्छ । यद्यपि गतिशील विनिमय भएको भए नेपाली मुद्रा योभन्दा थप कमजोर हुने उनको अनुमान छ ।
कहिलेसम्म होला गिरावट ?
भू-राजनीतिक संकटका बेला सुनलाई ‘सेफ हेभन’ अर्थात् सुरक्षित लगानीको माध्यम मानिन्छ । अमेरिका–इरान युद्धको हल्लाबिच केही समयअघिसम्म आकर्षण देखिएको सुनमा पछिल्लो समयको गिरावटले यसबाट बाहिरिँदै गएको देखिन्छ । यद्यपि यसको असर कति र कहिलेसम्म पर्छ भन्ने विषय भने पश्चिम एसियामा जारी युद्धको अवस्था र अमेरिकी नीतिले निर्धारण गर्ने सरोकारवालाहरु बताउँछन् । युद्धको डरभन्दा प्रतिफलले निर्धारण गरेको देखिन्छ । खासगरी अमेरिकी अर्थतन्त्रको प्रभावका कारण यो अवस्था कायम भएको थापा बताउँछन् ।
‘अमेरिकी अर्थतन्त्र अरु ठुला ३/४ वटा देशको अर्थतन्त्रभन्दा ठुलो छ, युद्धको असर पनि कम हुँदा अहिले पनि अन्तर्राष्ट्रिय लगानीकर्ताहरु यही अर्थतन्त्रलाई विश्वास गरिरहेका छन्,’ थापा भन्छन्, ‘एक्सेप्सनलिजमको शक्तिका कारण अहिले यो अवस्था देखिँदै आएको छ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण