शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डेढ अर्बको क्रिप्टो कारोबारमा संलग्न भारतीय नागरिकसहित तीन जना पक्राउ

सोमबार, ०९ चैत २०८२, १० : ५०
सोमबार, ०९ चैत २०८२

सारांश

  • काठमाडौंमा हुण्डी र क्रिप्टोकरेन्सी सञ्जालमा संलग्न एक भारतीयसहित तीन जना पक्राउ परेका छन्।
  • पक्राउ परेका मुख्य आरोपीले बाइन्यान्समार्फत १ अर्ब ३७ करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेको खुलासा भएको छ।
  • प्रहरीले उनीहरूको साथबाट नगद र मोबाइल सेट बरामद गरेको छ, र थप अनुसन्धान भइरहेको छ।

काठमाडौं । हुण्डी तथा अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्जाल चलाएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये मुख्य आरोपीले मात्रै बाइन्यान्समार्फत करिब १ अर्ब ३७ करोड रुपैयाँ बराबरको अवैध कारोबार गरेको खुलासा भएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चैत ६ गते काठमाडौंको सामाखुशीबाट बाँकेका ३१ वर्षीय नरेश रेउलेलाई नियन्त्रणमा लिएको थियो। रेउलेसँगको प्रारम्भिक सोधपुछका क्रममा उनले सर्लाहीकी ३० वर्षीया दिप्ती पोखरेल र भारतीय नागरिक प्रवेश अलीका लागि यूएसडीटी खरिद–बिक्री गर्ने गरेको बयान दिएका थिए। सोही बयानका आधारमा प्रहरीले सोही दिन सामाखुशीस्थित रेडहनपुलबाट दिप्ती पोखरेललाई १५ लाख ३० हजार रुपैयाँ नगदसहित र साँझ ७ बजे ललितपुरको एकान्तकुनाबाट भारतीय नागरिक प्रवेश अलीलाई पक्राउ गरेको हो।

पक्राउ परेका ४१ वर्षीय भारतीय नागरिक प्रवेश अलीको मोबाइल परीक्षण गर्दा झस्काउने तथ्य फेला परेको छ। उनले आफ्नो बाइन्यान्स आईडी प्रयोग गरी हालसम्म ९१ लाख ८१ हजार ५ सय १३ अमेरिकी डलर (यूएसडीटी) बराबरको कारोबार गरेको देखिएको छ। नेपाली रुपैयाँमा हिसाब गर्दा यो रकम १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रुपैयाँ हुन आउँछ। अवैध डिजिटल मुद्राको यति ठूलो कारोबार फेला परेसँगै प्रहरीले यसमा अन्य ठूला गिरोहको संलग्नता हुनसक्ने आशंका गरेको छ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ४ थान मोबाइल सेट र १५ लाख ३० हजार रुपैयाँ नगद समेत बरामद गरेको छ। पक्राउ परेका प्रवेश अली हाल ललितपुरको एकान्तकुनामा बस्दै आएका थिए भने रेउले बौद्ध जोरपाटी र पोखरेल नख्खुमा बस्दै आएका थिए। थप अनुसन्धान र आवश्यक कारबाहीका लागि उनीहरूलाई दशी प्रमाणसहित जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप