बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

उपत्यकाको ट्राफिक र पार्किङ समस्या समाधानमा प्रदेश सरकार र नाडाबिच सहकार्य आवश्यक : मुख्यमन्त्री बानियाँ

सोमबार, ०९ चैत २०८२, १९ : ३५
सोमबार, ०९ चैत २०८२

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री र नाडाका अध्यक्षबीच अटोमोबाइल क्षेत्रका विविध विषयमा छलफल भयो।
  • मुख्यमन्त्रीले नाडाको प्रशंसा गर्दै प्रदेश सरकार र नाडा मिलेर ट्राफिक र पार्किङ समस्या समाधान गर्ने बताए।
  • नाडाका अध्यक्षले नेपालको अटोमोबाइल क्षेत्रमा १ खर्ब लगानी र वार्षिक ५ हजार जनशक्तिको आवश्यकता रहेको जानकारी दिए।

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियासँग नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडा प्रतिनिधि मण्डलले छलफल गरेको छ । 

सोमबार काठमाडौँमा मुख्यमन्त्री बानियाँसँगको भेटमा नाडाले अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको हो ।  भेटघाटमा मुख्यमन्त्री बानियाले अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्य समितिलाई सफल कार्यकालको शुभकामना दिए । 

मुख्यमन्त्री बानियाले ५० वर्ष पुगेको नाडासंग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै नाडाको प्रशंसा गरे । उनले देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा नै दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक र पार्किङ लगायतका विभिन्न समस्याहरू रहेकोले यसको समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढ्नु पर्ने धारणा राखे ।

मुख्यमन्त्री बानियाँले देशभित्रै  रोजगारी सिर्जना र सवारी साधनहरूका लागि ट्रायल सेण्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाबिच सहकार्य गरेर अघि बढ्न सकिने धारणा राखे । 

नाडाका अध्यक्ष उप्रेतीले नाडा ७ वटा प्रदेश सहित २ हजार ८८३ सदस्य कम्पनीहरू रहेको बताउँदै नेपालको अटोमोबाइल क्षेत्रमा १ खर्व भन्दा बढीको लगानी रहेको बताए । नेपालको अटोमोबाइल क्षेत्रमा वार्षिक ५००० जनशक्तिको आवश्यकता हुने समेत उनले जानकारी दिए । अध्यक्ष उप्रेतीले नाडाले बागमती प्रदेश सरकारसँग कुन कुन क्षेत्रमा सहकार्य गरेर अघि बढ्न सकिन्छ त्यस विषयमा मोडालिटी तयार गरी पेस गरिने बताए । 

नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोबाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको, नाडाले सिपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गरिरहेको भन्दै प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको धारणा राखे । 

नाडाका सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल प्रविधि तीव्र गतिले परिवर्तन भइरहेकोले त्यही स्तर र प्रकारको प्राविधिक जनशक्ति उत्पादन गर्दे जानु पर्ने चुनौती रहेको बताए । उनले आवश्यक तालिमका लागि संसाधनको अभाव मात्र नभई उस्तै ट्रेनरहरु समेतको खाँचो रहेको औँल्याए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप