बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नेपाली तयारी पोसाकलाई विश्व बजारमा चिनाउन ‘ऊलमार्क’ सँग सहकार्य

मङ्गलबार, १० चैत २०८२, १२ : २६
मङ्गलबार, १० चैत २०८२

सारांश

  • तयारी पोसाक उद्योग संघ र ऊलमार्कबीचको साझेदारीले नेपाली निर्यात बढाउने विश्वास छ।
  • नेपालले मेरिनो ऊनबाट बनेका कपडाहरू उत्पादन गरी निर्यात क्षमता विस्तार गर्ने योजना बनाएको छ।
  • यो सहकार्यले नेपालको अर्थतन्त्रमा सुधार ल्याउनुका साथै विदेशी मुद्रा भित्र्याउन मद्दत गर्नेछ।

काठमाडौँ । नेपालको तयारी पोसाक क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र उच्च मूल्यका वस्तुको निर्यात बढाउन तयारी पोसाक उद्योग संघ र प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्था ‘ऊलमार्क’ बिच साझेदारी सुरु भएको छ। राजधानीमा आयोजित ‘अपर्चुनिटी विथ मेरिनो ऊल फर नेपाल’ विषयक विशेष कार्यक्रममा संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अस्ट्रेलियाको ऊलमार्कसँगको यो सहकार्यले नेपाली अर्थतन्त्र र निर्यातको क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गरेका छन्। 

विशेष गरी विश्व बजारमा गुणस्तरीय र महँगो मानिने मेरिनो ऊनबाट बनेका कपडाहरू उत्पादन गरी नेपालले आफ्नो निर्यात क्षमता विस्तार गर्ने योजना बनाएको छ। यो परियोजनाका लागि विगत ६ महिनादेखि भारत र नेपालमा विभिन्न चरणमा गहन छलफल र अध्ययन गरिएको थियो। 

नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने प्रक्रियामा रहेको वर्तमान सन्दर्भमा ऊलमार्कसँगको सहकार्य रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण हुने अध्यक्ष पाण्डेले बताए। नेपालको समग्र निर्यातको आकार अन्य देशको तुलनामा सानो भए तापनि विशिष्ट र गुणस्तरीय सामग्रीको माग हुने ‘निस मार्केट’ का लागि मेरिनो ऊनका उत्पादनहरू निकै उपयुक्त हुनेछन्। यसले राज्यको ढुकुटीमा विदेशी मुद्रा भित्र्याउन ठुलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हाल नेपालबाट वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको तयारी पोसाक निर्यात भइरहेको छ, जुन गलैँचापछि तेस्रो मुलुक निर्यात हुने दोस्रो ठुलो वस्तु हो। मुलुकमा आउन लागेको नयाँ सरकार र युवा प्रधानमन्त्रीप्रति सङ्केत गर्दै अध्यक्ष पाण्डेले निजी क्षेत्रका समस्या बुझ्ने र व्यापार व्यवसायलाई प्राथमिकता दिने सरकारको अपेक्षा गरेका छन्। 

उनले स्तरोन्नतिपछि आउने व्यापारिक चुनौती र ‘डबल ट्रान्सफर्मेसन’ को प्रावधानमा जानुपर्ने बाध्यात्मक अवस्थामा ऊलमार्कको प्राविधिक सहयोगले नेपाली उद्योगीहरूलाई ठुलो राहत पुग्ने धारणा राखे। संघको सदस्य कम्पनी ‘ट्रिकोट’ ले त यसमा काम समेत सुरु गरिसकेको छ।

भविष्यमा यो साझेदारी केवल कपडा आयातमा मात्र सीमित नभई नेपालमै कच्चा पदार्थ उत्पादन गर्ने दिशामा अघि बढ्ने लक्ष्य राखिएको छ। अहिले फ्याब्रिक (कपडा) आयात गरेर काम सुरु गरे पनि आगामी दिनमा ऊलमार्कसँग मिलेर नेपालकै पहाडी भेगमा बाख्रा पालन गरी प्राकृतिक रेसा उत्पादन गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप