आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

नक्कली सुनसहित ४ जना पक्राउ, ठगीको आशंका

मङ्गलबार, १० चैत २०८२, २० : ५४
मङ्गलबार, १० चैत २०८२

सारांश

  • रौतहटको चन्द्रपुरमा नक्कली सुनसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • प्रहरीले जगत रिसोर्ट होटलमा छापा मार्दा नक्कली सुन जस्तो देखिने धातु बरामद गरेको हो।
  • प्रहरीका अनुसार उनीहरूले उक्त नक्कली सुन प्रयोग गरी ठगी गर्ने योजना बनाएका थिए।

काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित एक होटलबाट नक्कली सुन जस्तो देखिने धातुसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरीका अनुसार मिति २०८२ चैत १० गते अपराह्न करिब ४:४५ बजे चन्द्रपुरस्थित जगत रिसोर्ट होटलको कोठा नम्बर १०२ मा सुनचाँदीको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली खटिएको थियो।

प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले कोठा जाँच गर्दा चार जना पुरुषलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा “PAMP” र “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखिएको प्याकेटमा राखिएको पहेंलो रंगको नक्कली सुन जस्तो देखिने धातु ४ थान, थप गरी जम्मा ७ थान धातु बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, घटनास्थलबाट ६ थान मोबाइल फोन र “ANTICK MAGNIFYING BINOCULAR” लेखिएको एक उपकरणसमेत बरामद गरिएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले उक्त नक्कली सुन प्रयोग गरी ठगी गर्ने उद्देश्य राखेको देखिएको छ।

नियन्त्रणमा लिइएकाहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारत दार्जिलिङ बस्दै आएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर–१० का ३० वर्षीय अरबिन्द चौधरी, रौतहट बौधीमाई–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडीका ३० वर्षीय संजोक बस्नेत रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप