जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो
सारांश
- म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा जीर्ण भवनको सट्टा नयाँ भवन निर्माण भएको छ।
- नयाँ भवन बनेपछि विद्यार्थी र शिक्षकले सुरक्षित वातावरणमा पठनपाठन गर्न पाएका छन्।
- अन्नपूर्ण गाउँपालिका र जर्मनको सहयोगमा भवन निर्माण भएको हो, जसमा २२ जना विद्यार्थी लाभान्वित छन्।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ।
चारकोठे नयाँ भवन निर्माण भएपछि तीन दशक पुरानो पानी चुहिने, पर्खाल चिरा परेको र भत्कने अवस्थामा रहेको जोखिमयुक्त भवनमा बसेर पठनपाठन गर्नुपर्ने विद्यार्थी र शिक्षकको समस्या हटेको हो।
कक्षाकोठा भवन बनेपछि सुरक्षित वातावरणमा सहज रूपमा पठनपाठन हुन थालेको विद्यालयका प्रधानाध्यापक मैयाकुमारी बरुवालले बताइन्। “यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा डरत्रास थियो,” उनले भनिन्, “सुरक्षित भवन बनेपछि ढुक्कसँग पठनपाठन गर्ने वातावरण सिर्जना भएको छ।”
कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल २२ जना विद्यार्थी रहेका छन्। अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेण्ड्स इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चारकोठे कक्षाकोठा भवन बनाएका हुन्। कक्षाकोठासँगै शौचालय पनि निर्माण भएको छ।
अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा रु २० लाख र चालु आर्थिक वर्षमा रु पाँच लाख ५० हजार बजेट विनियोजन गरेको उक्त भवन निर्माणका लागि जर्मन संस्थाले रु एक लाख ४९ हजार सहयोग गरेको वडाध्यक्ष रामबहादुर खड्काले बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण