बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा तथ्याङ्क व्यवस्थापन सूचना प्रणाली शुभारम्भ

मङ्गलबार, १७ चैत २०८२, ०१ : १४
मङ्गलबार, १७ चैत २०८२

सारांश

  • लुम्बिनी प्रदेश सरकारलाई 'प्रदेश तथ्याङ्क व्यवस्थापन सूचना प्रणाली' हस्तान्तरण गरिएको छ।
  • मुख्यमन्त्री चेतनारायण आचार्यले प्रणालीको शुभारम्भ गर्दै तथ्याङ्क व्यवस्थापनको महत्त्वबारे प्रकाश पारे।
  • यो प्रणाली सुशासन प्रवर्द्धन, सेवा प्रवाह र जवाफदेहिताका लागि विकास गरिएको हो।

बुटवल । लुम्बिनी प्रदेश सरकारलाई ‘प्रदेश तथ्याङ्क व्यवस्थापन सूचना प्रणाली’ हस्तान्तरण गरिएको छ। प्रदेश योजना आयोगको तर्फबाट उक्त प्रणाली मुख्यमन्त्री चेतनारायण आचार्यलाई हस्तान्तरण गरिएको हो । साथै मुख्यमन्त्री आचार्यले सोमवार सो प्रणालीको औपचारिक शुभारम्भ गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रमाणमा आधारित निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन तथ्याङ्क व्यवस्थापन सूचना प्रणालीले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । तीन तहका सरकारले सम्पादन गरेका कामबारे नागरिक सुसूचित हुन पाउनुपर्ने मान्यताका आधारमा प्रदेश सरकारले पारदर्शिता अभिवृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरिरहेको उनले बताए ।

प्रदेशका लागि तथ्याङ्क व्यवस्थापन प्रणाली महत्त्वपूर्ण पुँजी भएको उल्लेख गर्दै उनले तीनै तहका सूचना तथा विवरण यस प्रणालीमा समेटिने र प्रदेशका १०९ पालिकालाई यसमा आबद्ध गरिने जानकारी दिए ।

प्रणालीको नियमित अद्यावधिक तथा सञ्चालनका लागि प्रदेश सूचना प्रविधि प्रतिष्ठानलाई जिम्मेवारी दिइएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उद्घाटनमै सीमित नराखी यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा। डिल्लीराज अर्यालको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अर्यालले सुशासन प्रवर्द्धन, सेवा प्रवाह र जबाफदेहितालाई केन्द्रमा राखेर प्रणाली विकास गरिएको जानकारी दिए । उनले तथ्यमा आधारित योजना निर्माण, आवधिक योजनाको कार्यान्वयन तथा नियमित अनुगमनलाई यस प्रणालीमार्फत सुदृढ बनाइने बताए। प्रदेश स्थापना भए यताका कार्यसम्पादन र उपलब्धिहरूको तथ्याङ्कगत विश्लेषणसमेत प्रणालीमा समेटिएको छ ।

प्रणालीमा कुल १,१९६ तथ्याङ्क चर समेटेर ३४ वटा क्षेत्र विकास गरिएको छ। साथै ४२ चरहरू समावेश गरिएको छुट्टै राष्ट्रिय स्तरको तथ्याङ्क सेटसमेत तयार गरिएको छ । ड्यासबोर्डमार्फत सहज र स्पष्ट रूपमा जानकारी प्रस्तुत गर्न १६४ सूचकहरू विकास गरिएको छ।

बेलायतको अन्तर्राष्ट्रिय विकास सहयोग, द एसिया फाउन्डेसन र सेवा प्रतिष्ठान नेपालको सहकार्यमा प्रदेश योजना आयोगले उक्त प्रणाली तयार गरेको हो । कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीले स्मार्ट गभर्नेस अवधारणाअनुसार प्रणाली विकास गरिएको बताए।

कार्यक्रममा द एसिया फाउन्डेसनका प्रभाव निर्देशक क्वारोलिन ओ’डोनेलले मन्तव्य व्यक्त गरिन् भने डाइरेक्टर प्रणय स्थापितले प्रणालीसम्बन्धी प्रस्तुतीकरण गरे । नागरिक केन्द्रित तथ्याङ्क, सार्वजनिक तथ्याङ्कमा सहज पहुँच र तथ्याङ्कलाई मानव जीवनसँग जोड्ने उद्देश्यले प्रणाली विकास गरिएको हो ।

कार्यक्रमको सहजीकरण प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप