सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँमा रात्रिकालीन सार्वजनिक यातायात सफल होला ?

बिहीबार, १९ चैत २०८२, २१ : ११
बिहीबार, १९ चैत २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले २०८३ साल वैशाख १ गतेदेखि व्यवस्थित रूपमा रात्रिकालीन सार्वजनिक विद्युतीय बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
  • यी बसहरूले राति ८ बजेदेखि ११ बजेसम्म दुईवटा मुख्य रुटमा सञ्चालन भई उपत्यकाका अस्पताल, व्यापारिक केन्द्र र आवासीय क्षेत्रलाई जोड्नेछन्।
  • यात्रुको सुरक्षाका लागि बसहरूमा सीसीटीभी क्यामरा जडान गरिनुका साथै नगर प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकाको जनजीवनलाई चलायमान बनाउन र रात्रिकालीन समयमा आवतजावत गर्ने यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले पुनः रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ ।

विगतमा पटक–पटक विभिन्न निकायबाट प्रयास भए पनि दिगो हुन नसकेको यो सेवालाई यसपटक महानगरपालिकाले २०८३ साल वैशाख १ गतेदेखि व्यवस्थित रूपमा सुरु गर्न लागेको हो ।

नयाँ वर्षको अवसर पारेर सुरु हुन लागेको यो सेवाले काठमाडौँको ‘नाइट इकोनोमी’ र रात्रिकालीन सुरक्षालाई नयाँ उचाइ दिने विश्वास गरिएको छ । महानगरले सार्वजनिक गरेको योजनाअनुसार सुरुवाती चरणमा दुई वटा मुख्य रुटमा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने छन्, जसले उपत्यकाका मुख्य अस्पताल, व्यापारिक केन्द्र र आवासीय क्षेत्रहरूलाई जोड्नेछन् ।

कस्तो छ रुट ?

महानगरपालिकाले तय गरेको पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्मको १६ किलोमिटर क्षेत्रमा फैलिनेछ । यो उत्तर–दक्षिण करिडोरले विशेषगरी बिरामी, कुरुवा र रात्रिकालीन ड्युटीमा खटिने स्वास्थ्यकर्मीहरूलाई ठुलो राहत दिने अपेक्षा गरिएको छ ।

त्यसैगरी, दोस्रो रुटको रूपमा थानकोटदेखि सतुङ्गल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्मको २० किलोमिटरको पूर्व–पश्चिम खण्ड निर्धारण गरिएको छ । यी दुवै रुटमा ४ वटा अत्याधुनिक विद्युतीय बस सञ्चालन गरिनेछन्, जसले साँझ ८ बजेदेखि राति ११ बजेसम्म निरन्तर सेवा प्रदान गर्नेछन् ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार बेलुका ८ बजेपछि सार्वजनिक सवारी साधन नपाइने र निजी ट्याक्सीमा महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्न यो सेवा अपरिहार्य देखिएको हो । विशेषगरी महिला, किशोरी र विद्यार्थीहरूले रात्रिकालीन समयमा भोग्नुपरेको सुरक्षा चुनौती र आर्थिक भारलाई कम गर्नु महानगरको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ ।

डङ्गोलले सार्वजनिक यातायातलाई एउटा सुरक्षित र भरपर्दो प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राख्दै यसलाई अत्याधुनिक र एकीकृत बनाउन साझेदारहरूसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएकी छन् । रात्रिकालीन सेवामा सुरक्षाको प्रत्याभूति गराउन प्रत्येक बसमा सीसीटीभी क्यामरा जडान गरिने र सुरक्षाका लागि नगर प्रहरीहरू परिचालन गरिने व्यवस्था मिलाइएको छ ।

पहिले पनि सुरु भएर बन्द भएको थियो

यसअघि पनि काठमाडौँमा रात्रिकालीन यातायात सञ्चालनका लागि भएका प्रयास सफल हुन सकेका थिएनन् । २०७९ साल भदौ १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उपत्यकाका सम्पदा क्षेत्रमा ‘रात्रिकालीन सम्पदा यात्रा’ सुरु गर्ने योजना अघि सारेका थिए ।

काठमाडौँ, भक्तपुर, पाटन र कीर्तिपुरका कला, संस्कृति र सम्पदालाई रात्रिकालीन पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने र स्थानीय व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको उक्त योजना सुरक्षा र समन्वयको अभावमा अलपत्र परेको थियो । त्यस्तै २०७६ असार २६ गते साझा यातायात आफैँले पनि न्युरोड गेटलाई केन्द्र बनाएर तीन वटा रुटमा रात्रिकालीन बस सेवा सुरु गरेको थियो । तर, त्यतिबेला यात्रुको अभाव, महँगो सञ्चालन खर्च र सरकारी अनुदानको सुनिश्चितता नहुँदा उक्त सेवा केही समयमै बन्द हुन पुगेको थियो ।

साझा यातायातको यस्तो छ तयारी

साझा यातायातका सीइओ भुपेन्द्र अर्यालका अनुसार आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायातको नयाँ युग सुरु हुनेछ । उनले भने, ‘हामीले वैशाख १ गतेदेखि यसको शुभारम्भ गर्ने तयारी गरेका छौँ । राति ८ बजेदेखि सुरु भएर कम्तीमा ११ बजेसम्म यात्रीहरूलाई सेवा दिने हाम्रो लक्ष्य हो । दिउँसो त हाम्रा बसहरू चलिरहेकै हुन्छन्, तर रातको समयमा हुने यातायातको समस्यालाई हल गर्न यो एउटा महत्त्वपूर्ण कदम हुनेछ ।’

अर्यालका अनुसार विगतमा पनि रात्रिबस चलाउने प्रयास नभएको होइन, तर त्यतिबेला सञ्चालन मोडालिटी र सरकारको तर्फबाट यसलाई सपोर्ट गर्ने मेकानिजममा केही समस्या थियो । ‘अहिले हामीले यसलाई निरन्तरता दिने गरी योजना बनाएका छौँ । सुरुको पाँच–छ महिना वा यो आर्थिक वर्षभरि हामीलाई घाटा हुनसक्छ, तर हामी घाटा सहेरै भए पनि चलाउँछौँ,’ उनले भने ।

निजी क्षेत्रले घाटा सहेर चलाउन सम्भव नहुने, तर साझा यातायात एउटा सरकारी संस्थाको समेत सहभागिता भएको निकाय रहेको र स्थानीय सरकारको पूर्ण प्रतिबद्धता प्राप्त भएकाले यसपटक सेवा बन्द नहुने उनको दाबी छ ।

अर्यालले आर्थिक पाटोबारे थप प्रस्ट्याउँदै भने, ‘अहिले हामी विभिन्न नगरपालिकाहरूसँग समन्वय गरिरहेका छौँ । काठमाडौँ महानगरपालिका त हाम्रो प्रमुख साझेदार छँदैछ, यसका साथै बुढानीलकण्ठ नगरपालिका र चन्द्रागिरि नगरपालिकासँग पनि हामीले घनिभूत छलफल गरेका छौँ,’ उनले भने ।

सीइओ अर्यालका अनुसार साझा यातायातका ईभी बसहरू राति सञ्चालन गर्न आवश्यक पर्ने चार्जिङ स्पट र पार्किङका लागि जग्गा उपलब्ध गराउन स्थानीय तहहरू मन्जुर भएका छन् । ‘तत्कालका लागि आर्थिक सहयोग नभए पनि आगामी आर्थिक वर्षको बजेटमा रात्रिकालीन यातायातका लागि छुट्टै बजेट एलोकेट गर्ने र साझालाई हुने घाटा पूर्ति गर्ने (रिकभरी सपोर्ट) मा उनीहरू तयार भएका छन्,’ अर्यालले भने ।

बस राति चलाउनका लागि अतिरिक्त ६ देखि ७ हजार रुपैयाँ खर्च लाग्ने उनले बताए । यो खर्च विशेष गरी कर्मचारीहरूको ओभरटाइम भत्ता र डिउटी तलबका कारण हुन्छ । राति काम गर्ने ड्राइभर र सह–चालकलाई डेढगुणा तलब वा अतिरिक्त ओटीको व्यवस्था गर्नुपर्ने उनले बताए ।

‘यात्री संख्या कम भए पनि यो खर्च अनिवार्य हुन्छ, जसलाई हामीले अहिले साझाको आफ्नै कोषबाट पाइलटिङका रूपमा चलाउन लागेका हौँ,’ उनले भने ।

अर्यालका अनुसार रात्रिकालीन बसहरूलाई सुरक्षित बनाउन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । उनले भने, ‘हाम्रा बसहरू पूर्ण रूपमा हाम्रो डेस्क रुमबाट कन्ट्रोल हुने मेकानिजममा छन् । जीपीएस सिस्टम जडान गरिएको छ, जसले गर्दा बस कहाँ छ र त्यहाँ के भइरहेको छ भन्ने कुरा लाइभ हेर्न सकिन्छ ।’

बसभित्र सीसीटिभी क्यामरा हुनेछ, जसले गर्दा विशेष गरी महिला र किशोरीहरूमाथि हुन सक्ने कुनै पनि प्रकारका दुर्व्यवहार वा यौनजन्य हिंसाको निगरानी गर्न सकिने उनले बताए । उनले भने, ‘कसले के गरिरहेको छ भन्ने कुरा हामी लाइभ ट्रयाक गर्छौं ।’

सहरलाई भाइब्रेन्ट बनाउन यसले काम गर्छ

यातायात विज्ञ सागर वन्तले रात्रिकालीन यातायातको सञ्चालनलाई केवल एउटा प्रयोगका रूपमा मात्र नहेरी यसलाई सहरको अर्थतन्त्रसँग जोडेर हेर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार काठमाडौँ जस्तो बढ्दो सहरीकरण भएको ठाउँमा रात्रिकालीन सेवा एउटा विलासिता नभई आवश्यकता हो ।

वन्तले ठमेल, बानेश्वर र एयरपोर्ट जस्ता व्यस्त क्षेत्रहरूमा रात्रिकालीन समयमा यात्रुको चाप हुने भए पनि अन्य रुटहरूमा यात्रु संख्या कम हुन सक्ने सम्भावना औँल्याए ।

‘सहरलाई भाइब्रेन्ट बनाउन र श्रमजीवी वर्गलाई सुविधा दिन सुरुमा केही आर्थिक भार सरकारले नै व्यहोर्नुपर्ने हुन्छ,’ उनले भने ।

विद्युतीय बसहरूको प्रयोगले वातावरण संरक्षणमा सहयोग पुग्ने र डिजेलको तुलनामा खर्च कम हुने हुनाले यो मोडल बढी व्यावहारिक भएको वन्तको विश्लेषण छ ।

वन्तका अनुसार रात्रिकालीन यातायात सञ्चालनको अर्को महत्त्वपूर्ण पक्ष सुरक्षा र प्रविधिको प्रयोग हो । साझा यातायातका बसहरूमा जडान गरिने जीपीएस ट्रयाकिङ र कन्ट्रोल रुमबाट गरिने प्रत्यक्ष निगरानीले यात्रुहरूलाई सुरक्षित महसुस गराउने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप