ओलीको अनुपस्थितिमा आफू कार्यवाहक अध्यक्ष बन्न चाहन्थे विष्णु पौडेल !
सारांश
- अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि रामबहादुर थापा 'बादल' कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता बनेका छन्।
- संसद्मा बादलले दिएको विवादास्पद अभिव्यक्तिप्रति एमालेका नेताहरू योगेश भट्टराई, विष्णु पौडेल र सुरेन्द्र पाण्डेले विरोध जनाएका छन्।
- ओलीको अनुपस्थितिमा कार्यवाहक अध्यक्ष बन्ने चाहना पूरा नभएपछि विष्णु पौडेल नेतृत्वसँग असन्तुष्ट बनेका छन्।
काठमाडौँ । चुनावी जनमतको हिसाबले कमजोर अवस्थामा पुगेको नेकपा एमालेभित्र आन्तरिक किचलो थप बढ्न थालेको छ । अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलन जाँचबुझ गर्न बनेको गौरिबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेसँगै वरिष्ठताको आधारमा कार्यवाहक अध्यक्ष र संसदीय दलको नेतामा पूर्वमाओवादी पृष्ठभूमिका नेता रामबहादुर थापा ‘बादल’ बनेपछि एमालेभित्रको विवाद बढेको हो ।
कार्की आयोगको प्रतिवेदनका आधारमा अध्यक्ष ओली शनिबार पक्राउ परेका थिए भने उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
जनेजी आन्दोलनको मर्म आत्मसात् गर्न नसकेको र आफ्ना कमीकमजोरी स्विकार्नुको साटो ढाकछोपमा मात्र लागेको भन्दै एमालेको एक समूहले यसअघिदेखि नै अध्यक्ष ओलीकै विकल्प खोजिरहेको थियो । उक्त समूहले महाधिवेशनबाट पार्टी अध्यक्ष परिवर्तन गर्न नसकेपनि दलको नेता युवा पुस्ताका सांसदलाई बनाउनुपर्ने बताउँदै आएको थियो । त्यही आवाज सम्बोधन गर्न युवा सांसद सुहाङ नेम्वाङले चैत १८ गते दलको नेता छान्न भएको निर्वाचनमा उम्मेदवारी समेत दिने तयारी गरेका थिए ।
तर, पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीका सांसदहरूलाई सुहाङको पक्षमा नउभिन निर्देशन दिएका थिए । त्यसपछि सुहाङले आफू दलको नेतामा उम्मेदवारी नै दर्ता गरेनन् । सुहाङको उम्मेदवारी नपर्दा रामबहादुर थापा बादल सर्वसम्मत एमाले संसदीय दलको नेता चयन भए ।
सुहाङलाई रोकेर बादललाई दलको नेता बनाएसँगै एमालेका युवा पुस्ताका नेताहरू नेतृत्वको कार्यशैली र व्यवहारलाई लिएर चर्को आलोचनामा उत्रिएका थिए । यो असन्तुष्टि कायमै रहेका बेला बादललाई अध्यक्ष ओलीले कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी दिए ।
कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता दुवै पद बादलले पाएको भोलिपल्ट अर्थात चैत १९ गते प्रतिनिधि सभाको पहिलो बैठक बस्यो, जहाँ उनले दलको नेताको हैसियतले संसदमा बोल्ने मौका पाए ।
त्यहाँ बादलले एमालेले निर्वाचन हार्नु र रास्वपाले निर्वाचन जित्नुमा क-कसको निर्णायक भूमिका रह्यो भन्ने केही तथ्यहरू नै पेस गरे । ‘यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो ? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो’, उनको दाबी थियो । बादलले यस्तो भूमिका खेल्ने सबै पात्र र संस्थाहरूलाई पार्टीका तर्फबाट बधाई समेत दिए ।

त्यतिमात्र होइन, नेता बादलले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संघीयता,धर्म निरपेक्षता, शान्ति र समृद्धिका नायकहरुलाई ‘खलनायक’ र ‘हत्यारा’ को रूपमा स्थापित गरेको अनि जसले सिंहदरबार जलाउने र आफ्नो राष्ट्रिय पहिचान काम गर्यो उनीहरूलाई चाहिँ ‘महानायक’ बनाउने प्रयास भएको भन्दै ती संस्था तथा पात्रहरूले नै बाह्यरूपमा यो जादुमय विजयमा निर्णायक भूमिका निर्वाह गरेको दाबी गरेका थिए ।
नेता बादलले संसदमा यस्तो अभिव्यक्ति दिएलगत्तै सवैभन्दा पहिला उपमहसचिव योगेश भट्टराईले विरोध गरे । भट्टराईले सामाजिक सञ्जालमा जनताको बहुदलीय जनवाद नेकपा एमालेको सिद्धान्त भएको भन्दै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा बैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने जबजको मान्यता भएको प्रस्ट्याउदै थापाको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
‘नेपाली सेना लगायतका सुरक्षा अङ्गहरू, न्यायालय लगायतका संवैधानिक अङ्गहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन, त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ’, भट्टराईले भने, ‘संसद् वा सडक, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत रहने छ ।’
भट्टराईले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको केहीबेरमै एमालेका अर्का नेता तथा उपाध्यक्ष विष्णु पौडेलले पनि भट्टराईकै समर्थनमा बादल अभिव्यक्तिको विरोध गरे । ‘प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यता विपरीत छन्’, पौडेलले भने, ‘यस सम्बन्धमा भोली आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु ।’
त्यस्तै अर्का पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि शुक्रबार बिहान बादल अभिव्यक्तिको विरोध गरे ।
'हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो – सबै दोष अरूलाई! हामी पनि दोषी छौं – यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?’, प्रश्न गर्दै पाण्डेले भनेका छन्, ‘अब यो ‘घेराबन्दी’मा प-यौं भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयो । अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन् ।’ त्यतिमात्रै होइन पाण्डेले आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राख्दै अतिवादतिर धकेल्ने काम नगर्न चेतावनी दिए ।
बादललाई ओलीको ‘ग्रीन सिग्नल’
एमाले नेताहरूका अनुसार बिहीबार संसद् बैठकमा बादलले जे–जस्तो अभिव्यक्ति दिए, त्यो बादल आफैले चाहेर बोलेका होइनन् । त्यसका लागि उनले अध्यक्ष ओलीकै शब्दहरू समेत सापटी लिएका थिए । जसमा महासचिव शंकर पोखरेलको समेत साथ थियो ।

‘बादलले अध्यक्षसँग सल्लाह नगरी बोल्नुभएको होइन’, एक सचिवालय सदस्य भन्छन्, ‘अध्यक्ष र महासचिवसँग छलफल भएको छ ।’ ती नेताका अनुसार निर्वाचनको वस्तुनिष्ठ समीक्षा नै नगरी र सचिवालयमा समेत के बोल्ने भन्ने छलफल नै नभएकाले विवाद निम्तिएको हो ।
विष्णु किन बिच्किए ?
हत्तपत्त नबोल्ने विष्णु पौडेल विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मध्ये एक मानिन्छन् ।
नेता भट्टराई र पाण्डे एमालेको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट निर्वाचन लडेका थिए । महासचिवमा पाण्डे पराजित भए भने उपमहासचिवमा भट्टराईले जिते । पाण्डे र भट्टराईको जेनजी आन्दोलनलाई हेर्ने दृष्टिकोण पनि ओली भन्दा फरक रहँदै आएको थियो । तर, विष्णु पौडेल भने ओलीकै कित्तामा उभिएका थिए र ओलीकै समूहबाट प्रतिस्पर्धा गरेर पार्टी उपाध्यक्ष समेत बनेका थिए ।

यस्तो अवस्थामा भट्टराई र पाण्डेले अध्यक्ष ओलीको पक्षमा बोलेका बादलको अभिव्यक्तिमा आलोचना गर्नु स्वाभाविक मानिएपनि पौडेल नै विपक्षमा उभिनुलाई भने एमालेभित्र अर्थपूर्ण हेरिएको छ । एमालेका एक सचिवालय सदस्यका अनुसार पौडेलले ओलीको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको चाहना राखेका थिए । तर, यो चाहना विपरीत ओलीले बादल रोजेपछि उनी बिच्किएको नेताहरूको बुझाइ छ ।
‘विष्णुले असन्तुष्टि जनाउनुमा २ कारण हुन सक्छन्’, ती सचिवालय सदस्य भन्छन्, ‘पहिलो–बादल दलको नेता हुँदा ओलीको अनुपस्थितिमा आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी नपाउनू । र, दोस्रो–ओलीले आफूलाई विश्वास गर्न छाडेको महसुस गर्नु ।’
ती नेताको विश्लेषणमा यही बेला बादलको अभिव्यक्तिको विरोध गर्दा पार्टीकै विपक्षी कित्ताका नेताहरूको समेत मन जित्न सकिने बुझेर नै उनले यस्तो कदम चालेका हुन् । बादलको अभिव्यक्तिलाई लिएर शुक्रबार नै एमाले सचिवालय बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण