कक्षा ५ सम्मको परीक्षा हटाउनुभन्दा वैज्ञानिक मूल्याङ्कन विधि लागू गरौँ
सारांश
- नेपाल सरकारले कक्षा ५ सम्मको परम्परागत परीक्षा हटाउने निर्णय गरे पनि परीक्षा प्रणाली खारेज गर्नुभन्दा वैज्ञानिक मूल्याङ्कन विधि लागू गर्नु नै उत्तम विकल्प रहेको छ।
- बालबालिकाको सिकाइलाई तनावमुक्त र प्रभावकारी बनाउन निरन्तर मूल्याङ्कन, परियोजना कार्य र पोर्टफोलियोमा आधारित वैज्ञानिक प्रणालीको आवश्यकता छ।
- शिक्षकहरूको क्षमता अभिवृद्धि र स्पष्ट राष्ट्रिय मूल्याङ्कन ढाँचा निर्माण गरेर मात्र विद्यालय शिक्षामा अपेक्षित सुधार हासिल गर्न सकिन्छ।
नेपालको विद्यालय शिक्षा प्रणाली महत्त्वपूर्ण मोडमा उभिएको छ । नवगठित सरकारले ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ सार्वजनिक गर्दै आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने सार्वजनिक गरेसँगै शिक्षा क्षेत्रमा व्यापक बहस सुरु भएको छ ।
कतिपयले यसलाई विद्यार्थीमैत्री प्रगतिशील कदम भनेका छन् त कतिपयले यसले शैक्षिक गुणस्तर घटाउने भन्दै चिन्ता व्यक्त गरेका छन् । तर मूल प्रश्न के हो भने– के परीक्षा प्रणाली खारेज गर्नु समाधान हो ? वा मूल्याङ्कन प्रणालीलाई पुनर्संरचना गरेर थप वैज्ञानिक बनाउनुपर्ने हो ?
परीक्षा लिने प्रणाली हटाउनु समाधान होइन, बरु मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक, मनोवैज्ञानिक ढङ्गले पुनर्संरचना गर्नु नै प्रभावकारी समाधान हो । किनभने परम्परागत परीक्षा प्रणालीले बालबालिकामा डर, तनाव र कण्ठस्थ सिकाइको प्रवृत्ति बढाउने गरेको भए पनि त्यसलाई पूर्ण रूपमा हटाएर त्यसको विकल्प प्रस्तुत गरिएन भने सिकाइको गुणस्तर झन् कमजोर हुन सक्छ ।
फर्मेटिभ एसेसमेन्टको सिद्धान्तअनुसार मूल्याङ्कनलाई सिकाइ सुधार गर्ने उपकरणका रूपमा प्रयोग गर्ने गरिन्छ । यसले विद्यार्थीलाई डरमुक्त वातावरणमा निरन्तर सिक्न, गल्तीबाट सिकेर अघि बढ्न आत्मविश्वास दिन्छ ।
- परीक्षा प्रणालीको मनोवैज्ञानिक प्रभाव
परम्परागत परीक्षा प्रणाली विशेषगरी प्रारम्भिक तहका बालबालिकाका लागि सिकाइको साधनभन्दा मानसिक दबाबको स्रोत बन्दै गएको देखिन्छ । यस्तो प्रणालीले विद्यार्थीलाई निरन्तर जाँचिने, तुलना गरिने र मूल्याङ्कन गरिने अवस्थामार्फत ‘गल्ती गर्न नहुने’ मनोवृत्ति विकास गराउँछ । यसका कारण उनीहरूमा डर, असुरक्षा र असफलताको त्रास बढ्न थाल्छ ।
शिक्षा मनोविद् जिन पियाजेका अनुसार बालबालिकाले आफ्नो विकासको प्रारम्भिक चरणमा अनुभव, खेल र अन्वेषणमार्फत सिक्ने भएकाले उनीहरूलाई औपचारिक परीक्षा र अङ्ककेन्द्रित मूल्याङ्कनले स्वाभाविक सिकाइ प्रक्रियामा बाधा पुर्याउँछ ।
त्यसैले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई कागजकलममा आधारित परीक्षाभन्दा पनि अनुभवजन्य सिकाइ आवश्यक हुन्छ । यस उमेर समूहका विद्यार्थीहरू मुख्यतः प्रत्यक्ष अनुभव, खेल, अवलोकन र अन्तरक्रियाबाट सिक्ने चरणमा हुन्छन् । शिक्षा मनोविद् पियाजेका अनुसार बालबालिकाले ‘कंक्रिट अपरेसनल’ (मूर्त सञ्चालन) चरणमा वास्तविक वस्तु, गतिविधि र अनुभवमार्फत बुझाइ निर्माण गर्छन् ।
सरकारले पनि यही अवधारणालाई पछ्याउँदै पक्कै पनि साना नानीबाबुहरूको लिखित परीक्षाभन्दा उनीहरूको अनुभवजन्य परीक्षा लिनुपर्छ भनेर सोचेको हुनुपर्छ । तथापि हामीले हालसम्म प्रयोग गरेको विधिमा एकैपटक फेरबदल ल्याउँदा त्यसले विद्यार्थीको शैक्षिक गुणस्तरलाई प्रभावित पारिरहेको हुन्छ ।
- मूल्याङ्कन : सिकाइसँगै चल्ने प्रक्रिया
मूल्याङ्कनलाई विद्यार्थीको सिकाइको कुनै एक निश्चित समयमा लिइने परीक्षामार्फत मात्र मापन गर्ने होइन । यो दैनिक कक्षा गतिविधि, व्यवहार, सहभागिता, प्रयास र प्रगतिको आधारमा निरन्तर रूपमा अवलोकन, विश्लेषण र सुधार गर्ने प्रक्रिया हो ।
यसले सिकाइलाई बोझ नभई जीवन व्यवहारका रूपमा बुझ्छ । यस अवधारणामा शिक्षकले विद्यार्थीलाई अन्तिम नतिजाबाट मात्र होइन, उसले सिक्ने क्रममा देखाएको जिज्ञासा, सोधेका प्रश्न, गरेको प्रयास, गल्ती र त्यसबाट सिक्ने क्षमताका आधारमा मूल्याङ्कन गर्ने हो । मूल्याङ्कनलाई डर र दबाबको माध्यमबाट हटाएर सहयोग र मार्गदर्शनको उपकरणमा रूपान्तरण गर्छ ।
विश्वका सफल शिक्षा प्रणालीहरूले धेरै अघि नै परीक्षाकेन्द्रित दृष्टिकोणबाट सिकाइकेन्द्रित मूल्याङ्कनतर्फ फड्को मारिसकेका छन् । विद्यार्थीको मूल्याङ्कन केवल अङ्क र नतिजामा सीमित नरही उसको समग्र विकास, बुझाइ, सीप र व्यवहारमा आधारित हुन्छ । उदाहरणका लागि फिनल्यान्डमा प्रारम्भिक कक्षाहरूमा कुनै उच्च दबाबयुक्त औपचारिक परीक्षा हुँदैन, बरु शिक्षकले दैनिक कक्षा गतिविधि, अवलोकन र अन्तरक्रियामार्फत विद्यार्थीको प्रगति मूल्याङ्कन गर्छन् ।
यसले सिकाइलाई सहज र तनावमुक्त बनाउँछ । त्यस्तै सिङ्गापुरले दक्षतामा आधारित मूल्याङ्कन प्रणाली अपनाएको छ, जहाँ विद्यार्थीले सिकेको ज्ञानलाई व्यवहारमा कसरी प्रयोग गर्न सक्छन् भन्ने कुरामा विशेष जोड दिइन्छ ।
क्यानडामा भने मूल्याङ्कनलाई सिकाइ सुधारको उपकरणका रूपमा लिइन्छ । शिक्षकले निरन्तर प्रतिक्रिया, परियोजना कार्य र पोर्टफोलियोमार्फत विद्यार्थीको प्रगति ट्र्याक गर्छन्, जसले विद्यार्थीलाई आफ्नै सिकाइप्रति जिम्मेवार बनाउँछ । यी सबै उदाहरणहरूले स्पष्ट देखाउँछन् कि प्रभावकारी शिक्षा प्रणालीहरूमा परीक्षा अन्तिम लक्ष्य होइन, बरु सिकाइलाई गहिरो, अर्थपूर्ण र जीवनोपयोगी बनाउने माध्यम हो ।
- नेपालको नीति र व्यवहार
नेपालमा कक्षा ५ सम्म परम्परागत परीक्षा हटाउने प्रयास शिक्षा प्रणालीलाई बालमैत्री र आधुनिक बनाउने सकारात्मक सङ्केत हो । तर व्यवहारमा यसको प्रभावकारिता नीति र कार्यान्वयनबीचको दूरीका कारण सीमित हुने जोखिम देखिन्छ । कागजमा तयार गरिएका अवधारणाहरू विद्यालय तहमा समान रूपमा लागू हुन नसक्दा अपेक्षित परिणाम नआउन सक्छ ।
उदाहरणका लागि धेरै विद्यालयहरूमा निरन्तर मूल्याङ्कनको अवधारणा स्वीकार गरिए पनि त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट मापदण्ड, उपकरण र प्रशिक्षित मानवस्रोतको अभाव छ । यस्तोमा शिक्षकहरूले व्यक्तिगत अनुभव र अनुमानका आधारमा मूल्याङ्कन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । यसले निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठाउँछ । यसका साथै अभिभावकहरू अझै पनि अङ्क र श्रेणीलाई नै सिकाइको प्रमुख सूचक मान्ने परम्परागत सोचबाट बाहिर निस्किएका छैनन् ।
तर यसको ठाउँमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागू गरेमा मूल्याङ्कन प्रक्रियालाई स्पष्ट मापदण्ड, प्रमाण, निरन्तर अवलोकन र सुधारमुखी दृष्टिकोणबाट अघि बढाउन सकिन्छ । यसले विद्यार्थीको सिकाइलाई वस्तुनिष्ठ, निष्पक्ष र विश्वसनीय रूपमा मापन गर्न सक्छ । यससँगै मूल्याङ्कनलाई बहुआयामिक बनाउनु जरुरी छ । विद्यार्थीको ज्ञान मात्र होइन, उसको सोच्ने क्षमता, समस्या समाधान गर्ने सीप, व्यवहार, सहकार्य र सिर्जनात्मकतासमेत समेटिन्छ ।
वास्तविक सिकाइ केवल पाठ्यपुस्तकको जानकारीमा सीमित हुँदैन । वैज्ञानिक प्रणालीको अर्को महत्त्वपूर्ण पक्ष भनेको प्रमाणमा आधारित मूल्याङ्कन हो । यसका लागि विद्यार्थीको पोर्टफोलियो, परियोजना कार्य, कक्षा गतिविधि, मौखिक प्रस्तुति र दैनिक कार्यसम्पादनलाई अभिलेख राखिन्छ । यही प्रक्रियाले सिकाइलाई निरन्तर र प्रभावकारी बनाउँछ ।
- अब के गर्ने ?
कक्षा ५ सम्म परीक्षा हटाउने नीतिलाई प्रभावकारी बनाउन सबैभन्दा महत्त्वपूर्ण कुरा स्पष्ट, वैज्ञानिक र कार्यान्वयनयोग्य मूल्याङ्कन प्रणाली निर्माण गर्नु हो । जसका लागि सरकार, विद्यालय र शिक्षक–तीनै तहमा समन्वित र जिम्मेवार पहल आवश्यक हुन्छ । सर्वप्रथम, सरकारका तर्फबाट राष्ट्रिय स्तरको एकीकृत मूल्याङ्कन ढाँचा विकास गरिनु आवश्यक छ ।
यसले कक्षा १–५ सम्म के–कस्ता सिकाइ उपलब्धि अपेक्षित छन्, तिनीहरूलाई कसरी मापन गर्ने र कुन मापदण्ड प्रयोग गर्ने भन्ने स्पष्ट दिशा दिन्छ । साथै निरन्तर मूल्याङ्कनलाई व्यवहारमा लागू गर्न शिक्षकका लागि अनिवार्य तालिम, नियमित पुनर्ताजगी कार्यक्रम र प्रभावकारी अनुगमन प्रणाली स्थापना गर्नुपर्छ ।
विद्यालय स्तरमा मूल्याङ्कनलाई पारदर्शी, प्रमाणमा आधारित र व्यवस्थित बनाउन स्पष्ट कार्यतालिका तयार गर्ने; विद्यार्थीको पोर्टफोलियो र प्रगति अभिलेख राख्ने, डिजिटल प्रणालीमार्फत डेटा व्यवस्थापन गर्ने र अभिभावकलाई नियमित रूपमा गुणात्मक प्रतिवेदन उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । यसले मूल्याङ्कनप्रति विश्वास र उत्तरदायित्व बढाउँछ ।
शिक्षकका लागि भने मूल्याङ्कनलाई निष्पक्ष, अवलोकनमा आधारित र सुधारमुखी बनाउने सीप विकास गर्नु अनिवार्य छ । जसअन्तर्गत उनीहरूले विद्यार्थीलाई निरन्तर र स्पष्ट प्रतिक्रिया दिनु, व्यक्तिगत भिन्नतालाई सम्मान गर्नु र सिकाइलाई केन्द्रमा राखेर शिक्षण विधि अनुकूलन गर्नु आवश्यक हुन्छ ।
(आचार्य चैतन्य पाठशाला राप्तीका प्रबन्ध निर्देशक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण