शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सिटिजन्स बैंकको ४ करोड ९१ लाख घोटाला प्रकरण

मुख्य आरोपित अझै फरार, घटना विषयान्तर गर्न फण्डा गर्दै कँडेल परिवार

बैंककी तत्कालीन अप्रेसन इन्चार्ज रोजी कँडेल मुख्य योजनाकार
आइतबार, २२ चैत २०८२, १७ : ००
आइतबार, २२ चैत २०८२

सारांश

  • सिटिजन्स बैंकको करिब ५ करोड रुपैयाँ हिनामिना प्रकरणकी मुख्य आरोपित रोजी कँडेल घटनाको तीन साता बित्दा पनि फरार छिन्।
  • मुख्य आरोपित फरार रहेकै अवस्थामा कँडेल परिवारले अनुचित लेनदेनको उजुरी दिँदै घटनाको विषय मोड्ने प्रयास गरेको छ।
  • बैंकले १३ जना नक्कली ऋणी खडा गरी घोटाला गरेको भन्दै प्रहरीले फरार आरोपितको खोजी कार्य जारी राखेको छ।

विराटनगर । सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगर–३ स्थित कञ्चनबारी शाखामा भएको झन्डै ५ करोड रुपैयाँ हिनामिना प्रकरण सार्वजनिक भएको तीन साता बितिसकेको छ । तर, यस प्रकरणकी मुख्य योजनाकार मानिएकी कर्मचारी रोजी कँडेललाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

एकातिर गम्भीर आर्थिक अपराधमा संलग्न मुख्य आरोपितलाई पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएको भन्दै सरोकारवालाले तीव्र आलोचना गरिरहेका छन् भने अर्कोतिर कँडेल परिवारले मूल घटनालाई विषयान्तर गर्न नयाँ ‘फण्डा’ सुरु गरेको छ ।

छोरी फरार रहेको अवस्थामा परिवारले आफूहरूलाई मिटरब्याजी समूहले ज्यान मार्ने धम्की दिएको भन्दै उल्टै प्रहरीमा उजुरी दिएर बैंक घोटालाको अनुसन्धानलाई मोड्ने प्रयास गरेको देखिएको छ । यसलाई प्रहरीले गम्भीर रूपमा हेरिरहेको जनाएको छ ।

बैंकको करोडौँ रकम अपचलन गरेर रोजी फरार भएपछि उनका ६१ वर्षीय बुवा राजन क्षेत्री कँडेलले शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा ५ जनाविरुद्ध ‘अनुचित लेनदेन’ (मिटरब्याज) मुद्दामा किटानी जाहेरी दिएका छन् ।

जाहेरीमा विराटनगरका एजाज अहमद, विष्णु कुमार साह, आशिष निरौला, भोलेनाथ गुप्ता र प्रवीन जैनलाई प्रतिवादी बनाउँदै उनीहरूले ५ करोड ६० लाख रुपैयाँ माग गरेर मानसिक आतङ्क सिर्जना गरेको दाबी गरिएको छ ।

‘हस्ताक्षर नै नगरेका र लेनदेन नै नभएका नक्कली चेक देखाएर परिवारका सदस्यलाई गायब पारिदिने धम्की दिइएको छ,’ राजनले जाहेरीमा भनेका छन् ।

बैंकको आन्तरिक लेखापरीक्षण (अडिट) का क्रममा कर्मचारीकै मिलेमतोमा १३ जना नक्कली ऋणी खडा गरी ४ करोड ९१ लाख ५२ हजार १३ रुपैयाँ घोटाला भएको खुलेको थियो ।

तर, प्रहरीले भने यसलाई बैंक घोटालाबाट ध्यान हटाउने परिवारको रणनीतिका रूपमा लिएको छ । जग्गा व्यवसायी आशिष निरौलाले रोजीसँग जग्गा लगानीका लागि ७०–८० लाख रुपैयाँको व्यवहार रहेको बताउँदै भने, ‘हामीले मिटरब्याजमा पैसा दिएका होइनौँ, आफ्नै पैसा फिर्ता माग्न जाँदा हामीलाई नै फसाउन खोजियो । यो पूर्णतः व्यक्तिगत लेनदेन हो ।’

अर्का आरोपित भोलेनाथ गुप्ता र विष्णु कुमार साहले पनि व्यक्तिगत लेनदेनको विषयलाई राजनीतीकरण गरेर मूल घटनाबाट ध्यान मोड्न खोजिएको दाबी गरेका छन् ।

बैंकले गत चैत २८ गते नै रोजी कँडेलविरुद्ध बैंकिङ कसुर मुद्दामा उजुरी दर्ता गराएको थियो । सोही आधारमा उच्च अदालत विराटनगरले प्रहरीलाई पक्राउ अनुमति दिइसकेको छ, तर पक्राउ पुर्जी हातमा हुँदा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले उनको खोजी भइरहेको बताए ।

बैंकको आन्तरिक लेखापरीक्षण (अडिट) का क्रममा कर्मचारीकै मिलेमतोमा १३ जना नक्कली ऋणी खडा गरी ४ करोड ९१ लाख ५२ हजार १३ रुपैयाँ घोटाला भएको खुलेको थियो ।

निक्षेपकर्ताले मुद्दती निक्षेपमा राखेको रकमलाई धितोका रूपमा प्रयोग गरी २० लाखदेखि १ करोड २५ लाख रुपैयाँसम्मका किर्ते कर्जा फाइल खडा गरिएको थियो । रकम निकाल्न तत्कालीन अप्रेसन इन्चार्ज रोजी कँडेलसहित शाखा प्रबन्धक अभिषेक अग्रवाल, सहायक शाखा प्रबन्धक जोसेफ आचार्य र सोनिका राउतको युजर आईडी प्रयोग भएको बैंकको २५० पृष्ठ लामो छानबिन प्रतिवेदनमा उल्लेख छ ।

घटना बाहिरिएपछि बैंकले कँडेललाई बर्खास्त गर्दै अन्यलाई निलम्बन गरेको छ ।

‘मुख्य अभियुक्त पक्राउ परेपछि उसको बयानको आधारमा अरु अनुसन्धान अगाडि बढ्छ,’ उनले भने, ‘मुख्य अभियुक्त नेपालमै रहेको सूचना छ । छिटै प्रहरीले पक्राउ गर्छ ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेश पोखरेलका अनुसार हिनामिना सार्वजनिक भएपछि रोजीले १५ दिनभित्र रकम तिर्ने कागज गरेकी थिइन्, तर सम्झौताअनुसार रकम नतिरेपछि कानुनी कारबाहीका लागि प्रहरीमा सिफारिस गरिएको हो ।

यता, रोजीका बुवा राजन कँडेलले भने बैंकले आन्तरिक रूपमै मिलाउने आश्वासन दिएपछि रोजीका ससुरा खगेन्द्रप्रसाद रिजालको नाममा रहेको रंगेलीस्थित करिब ६ करोड मूल्यको जग्गा बैंकको नाममा दृष्टिबन्धक राखिएको दाबी गरेका छन् ।

जग्गा रोक्का राखेर पनि बैंकले सम्झौताविपरीत प्रहरीमा उजुरी दिएको भन्दै कँडेल परिवारले जिल्ला प्रहरी कार्यालय मोरङ, बैंकका सीईओसहितलाई विपक्षी बनाएर उच्च अदालत विराटनगरमा निषेधाज्ञाको रिटसमेत दायर गरेको छ ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बैंकको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढेको बताए । ‘बैंक ठगी प्रकरणमा फरार रहेकी रोजी कँडेल पक्राउ परेपछि धेरै कुरा स्पष्ट हुनेछ,’ एसपी कटवालले भने, ‘अहिले परिवारले दिएको अनुचित लेनदेनको उजुरीका सम्बन्धमा पनि दुवै पक्षलाई झिकाएर सत्यतथ्य बुझ्ने काम भइरहेको छ ।’

कटवालले यस घटनामा संलग्न भनिएका कोही पनि पक्राउ नपरेको बताए । ‘मुख्य अभियुक्त पक्राउ परेपछि उसको बयानको आधारमा अरु अनुसन्धान अगाडि बढ्छ,’ उनले भने, ‘मुख्य अभियुक्त नेपालमै रहेको सूचना छ । छिटै प्रहरीले पक्राउ गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप