सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

विश्वकै सबैभन्दा पिरो खुर्सानीलाई माथ दिने बिरुवा

सोमबार, २३ चैत २०८२, १५ : ५८
सोमबार, २३ चैत २०८२

सारांश

  • मोरक्को र नाइजेरियामा पाइने विशेष वनस्पतिमा १६ अर्ब स्कोभिल युनिटको शक्तिशाली 'रेसिनिफेराटोक्सिन' नामक तत्त्व फेला परेको छ।
  • यो तत्त्व विश्वको सबैभन्दा पिरो खुर्सानी 'पेप्पर एक्स' भन्दा हजारौँ गुणा बढी शक्तिशाली र घातक मानिन्छ।
  • बिरुवाले जनावरबाट आफ्नो सुरक्षाका लागि यो रासायनिक विषको विकास गरेको वैज्ञानिकहरूको भनाइ छ।

मोरक्को । पिरो खाने सौखिनहरूका लागि खुर्सानीमा पाइने ‘क्याप्साइसिन’ भन्ने तत्त्व निकै परिचित छ। तर संसारमा यस्तो एउटा प्राकृतिक तत्त्व छ, जसको अगाडि विश्वकै सबैभन्दा पिरो खुर्सानी पनि सादा पानी जस्तै फिक्का लाग्छ। 

मोरक्को र नाइजेरियामा पाइने क्याक्टस जस्तो देखिने वनस्पतिमा एउटा यस्तो रासायनिक कम्पाउन्ड पाइन्छ, जसलाई विज्ञानको भाषामा ‘रेसिनिफेराटोक्सिन’ भनिन्छ। यो यति शक्तिशाली छ कि यसलाई खाद्य पदार्थ भन्नुभन्दा पनि एक प्रकारको रासायनिक हतियार मान्नु उपयुक्त हुन्छ।

गिनिज वर्ल्ड रेकर्डका अनुसार ‘पेप्पर एक्स’ विश्वकै सबैभन्दा पिरो खुर्सानी हो, जसको स्कोर स्कोभिल स्केलमा २६ लाख ९० हजार युनिट छ। मानिसले सहन नसक्ने यो पिरो खुर्सानी शुद्ध क्याप्साइसिनको तुलनामा भने केही पनि होइन। 

शुद्ध क्याप्साइसिन १६ करोड स्कोभिल युनिटको हुन्छ, जसको अत्यधिक सेवनले ज्यान समेत जान सक्छ। तर रेसिनिफेराटोक्सिनले पिरोको सबै सीमा पार गरिदिएको छ। यसको पिरोपन १६ अर्ब स्कोभिल युनिट मापन गरिएको छ, जुन क्याप्साइसिन भन्दा १ हजार गुणा बढी शक्तिशाली हो।

रेसिनिफेराटोक्सिनको असर कल्पनाभन्दा बाहिरको हुन्छ। यसले मानव शरीरमा पुग्ने बित्तिकै क्याप्साइसिनले जस्तै ‘टीआरपिभी !’ रिसेप्टरलाई सक्रिय बनाउँछ। तर क्याप्साइसिनले केही बेरका लागि मात्र असर गर्छ भने रेसिनिफेराटोक्सिनले ती स्नायु कोषहरूमा क्याल्सियम आयनको बाढी नै ल्याइदिन्छ। 

यसले गर्दा स्नायुका अन्तिम भागहरू लोड सहन नसकेर मर्छन् र शरीरको दुखाइ महसुस गर्ने क्षमता नै स्थायी रूपमा नष्ट हुन सक्छ। यसको सम्पर्कमा आउनासाथ छालामा गम्भीर रासायनिक जलन हुन्छ र मासु नै डढ्न सक्छ।

प्रकृतिले यो घातक विषालु तत्त्व बिरुवाको सुरक्षाका लागि सिर्जना गरेको वैज्ञानिकहरूको भनाइ छ। मोरक्कोमा पाइने युफोर्बिया रेसिनिफेरा र नाइजेरियाको युफोर्बिया पोइसोनी जस्ता बिरुवाहरूले शाकाहारी जनावरबाट बच्न यो रणनीतिक विकास गरेका हुन्। 

कुनै पनि स्तनधारी प्राणीले यसलाई थोरै मात्र स्पर्श गर्दा पनि भयानक दुखाइ र जलन महसुस गर्छ। त्यसैले अर्को पटक कुनै निकै पिरो खुर्सानी वा सस खाँदा त्यो नै संसारको सबैभन्दा पिरो चिज हो भन्ने भ्रममा नपर्नु बेस हुन्छ, किनकि प्रकृतिको खजनामा त्यो भन्दा हजारौँ गुणा खतरनाक विष लुकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप