जनयुद्धको उपलब्धि, विचलनको पीडा र इमानदार नेतृत्वको खोजी
सारांश
- दश वर्षे जनयुद्धले नेपाली राजनीतिक संरचनामा आमूल परिवर्तन ल्याउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको छ।
- क्रान्तिपछिको नेतृत्वमा आएको विचलन र बिचौलिया वर्गको उदयले जनयुद्धको आदर्श र मूल्यमान्यतालाई कमजोर बनाएको छ।
- हालको राजनीतिक सङ्कटबाट मुक्त हुन इमानदार नेतृत्व, आत्मसमीक्षा र मूल्यमा आधारित पुनर्निर्माणको खाँचो देखिएको छ।
नेपालको इतिहासमा महान् दश वर्षे जनयुद्ध केवल एक सशस्त्र सङ्घर्ष मात्र थिएन, त्यो उत्पीडित वर्ग, क्षेत्र र लिङ्गका लाखौँ भुइँमान्छेहरूको चेतनाको विस्फोट थियो । सदियौँदेखि दबाइएका आवाजहरूलाई बोल्ने हिम्मत दिलाउने, अन्याय र अत्याचारविरुद्ध उभिने साहस दिने, र 'मान्छे–मान्छेबिच कुनै भेदभाव हुँदैन' भन्ने समानताको मूल मन्त्र स्थापित गर्ने यो आन्दोलनले देशको राजनीतिक संरचनामा गहिरो परिवर्तन ल्यायो ।
राजतन्त्रजस्तो वंशका आधारमा चल्ने अवैज्ञानिक र अव्यावहारिक व्यवस्थालाई समाप्त पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नु जनयुद्धकै ऐतिहासिक उपलब्धि हो । यो परिवर्तन केवल सत्ता परिवर्तन थिएन, यो चेतनाको परिवर्तन थियो, जहाँ अधिकार मागेर होइन, सङ्घर्ष गरेर हासिल गर्नुपर्छ भन्ने बुझाइ जनमानसमा स्थापित भयो ।
तर, आजको यथार्थ यस गौरवपूर्ण इतिहाससँग मेल खाँदैन । जनयुद्धले अन्त्य गर्न खोजेको वर्गीय विभाजन–धनी र गरिब, शासक र शासितबिचको खाडल–झनै नयाँ रूपमा पुनःस्थापित भएको छ । विडम्बना के छ भने, यही आन्दोलनको नेतृत्व गर्ने पार्टी र त्यसका नेता–कार्यकर्ताहरू स्वयं दुई ध्रुवमा विभाजित भएका छन् । एउटा वर्ग सत्ताको स्वादसँगै सम्भ्रान्त जीवनशैलीमा रूपान्तरण भएको छ भने अर्को वर्ग अझै पनि सङ्घर्षमै, सुकुम्बासी जीवन बिताउन बाध्य छ । यो केवल विभाजन होइन, यो आदर्शको पतन हो ।
यसबिचमा अर्को खतरनाक शक्ति उभिएको छ– बिचौलिया वर्ग । यो वर्ग न त स्पष्ट रूपमा शासक हो, न त शोषितस तर यसको भूमिका शोषकको सेवकका रूपमा देखिन्छ । यिनीहरू सम्भ्रान्त बनेका नेताहरूको गुणगानमा रमाउँछन्, उनीहरूका कमजोरीहरूलाई ढाकछोप गर्छन् र इमान्दार आलोचनालाई दबाउने काम गर्छन् । अझ गम्भीर कुरा त के हो भने, यिनीहरू आफ्नै सहकर्मीहरूलाई हेप्ने, दमन गर्ने र तिरस्कार गर्ने प्रवृत्तिमा संलग्न छन् ।
यो बिचौलिया प्रवृत्ति केवल राजनीतिक विचलन होइन, यो नैतिक पतनको सङ्केत हो । यसले जनयुद्धले स्थापित गरेका मूल्य, आदर्श र लक्ष्यहरूलाई क्रमशः नष्ट गरिरहेको छ ।
आजको अवस्थामा आइपुग्दा, हिजोको माओवादी विचार, सङ्गठन र संरचना क्रमशः विलोप हुने स्थितिमा पुगेका छन् । जनमुक्ति सेना, जनसत्ता, जनअदालतजस्ता संरचनाहरू केवल इतिहासका पानामा सीमित हुँदै गएका छन् । आन्दोलनले जन्माएका सामाजिक मूल्यहरू समेत कमजोर बन्दै गएका छन् । यसरी, देशको राजनीतिक दिशा त्यहीँतिर मोडिएको देखिन्छ, जहाँ साम्राज्यवादी शक्ति केन्द्रहरूको अनुकूलता छ । यो केवल संयोग होइन, यो नेतृत्वको असफलता र विचलनको परिणाम हो ।
बिचौलिया वर्गको चरित्र
नेपालको समकालीन राजनीतिक यात्रामा एउटा यस्तो वर्ग तीव्र रूपमा उदाउँदै गएको छ, जसले न त प्रत्यक्ष रूपमा सत्ता सम्हालेको छ, न त श्रम र उत्पादनसँग जोडिएको छ, तर प्रभावका हिसाबले अत्यन्तै शक्तिशाली बनेको छ । यो हो–बिचौलिया वर्ग ।
यो वर्ग कुनै एक क्षेत्रमा मात्र सीमित छैनस राजनीति, प्रशासन, व्यापार, सामाजिक सङ्गठन, यहाँसम्म कि बौद्धिक वृत्तमा पनि विभिन्न रूप र आवरणमा फैलिएको छ । यिनीहरूको मूल चरित्र भनेको श्रमविहीन समृद्धि र जोखिमविहीन सुख–सयलको खोजी हो । बिनापरिश्रम, बिनालगानी र बिनासङ्घर्ष नै जीवनका सबै आवश्यकताहरू पूरा हुनुपर्छ भन्ने मनोविज्ञान यिनीहरूको मूल प्रेरणा हो ।
बिचौलियाहरूको सबैभन्दा खतरनाक विशेषता भनेको तिनीहरूको अनुकूलन क्षमता हो । कुन नेतालाई के मन पर्छ, कसरी प्रसन्न पार्न सकिन्छ, कसलाई गाली गर्दा 'मालिक' खुसी हुन्छ–यी सबै सूक्ष्म मनोविज्ञानमा यिनीहरू पारङ्गत हुन्छन् । यस अर्थमा यिनीहरू केवल अवसरवादी मात्र होइनन्, सत्तावरिपरि घुम्ने मनोवैज्ञानिक कलाकार पनि हुन् ।
बाहिरबाट हेर्दा यिनीहरूमा केही बौद्धिकता देखिन्छ–भाषण गर्न जान्ने, तर्क गर्न सक्ने, विचारका टुक्राहरू मिलाएर प्रस्तुत गर्न सक्ने । तर त्यो बौद्धिकता स्वतन्त्र र सिर्जनात्मक होइन, बरु परनिर्भर र स्वार्थकेन्द्रित हुन्छ । यिनीहरूको सोच आत्मनिर्भर नभई 'मालिक'को स्वार्थअनुसार ढल्किने खालको हुन्छ ।
यही कारणले गर्दा, बिचौलिया वर्गको कुनै स्थायी वर्गीय पहिचान हुँदैन । आज एउटा पक्षमा देखिने यिनीहरू भोलि अर्को पक्षमा सजिलै सरिहाल्छन् । न त यिनीहरूको आफ्नै स्पष्ट विचारधारा हुन्छ, न त स्थिर प्रतिबद्धता । यिनीहरूका लागि सिद्धान्तभन्दा अवसर ठूलो हुन्छ र आन्दोलनभन्दा व्यक्तिगत लाभ प्राथमिक हुन्छ ।
यिनीहरूको अर्को गम्भीर पक्ष भनेको एकता र आन्दोलनप्रति विरोधी भूमिका हो । जब पनि कुनै इमान्दार बहस उठ्छ, यिनीहरूले त्यसलाई दबाउने प्रयास गर्छन् । जब कुनै सही आलोचना आउँछ, त्यसलाई 'अवज्ञा' वा 'द्रोह'को नाम दिन्छन् । यसरी यिनीहरू आन्दोलनभित्रको स्वस्थ संवादलाई कमजोर बनाउँछन् र नेतृत्वलाई वास्तविकताबाट टाढा राख्छन् ।
वास्तवमा, बिचौलिया वर्ग आन्दोलनका लागि बाह्य शत्रुभन्दा पनि खतरनाक हुन्छ । किनकि बाह्य शत्रु स्पष्ट देखिन्छ, चिनिन्छ र त्यसविरुद्ध लड्न सकिन्छ । तर बिचौलिया वर्ग भित्रै बसेर, मित्रको आवरणमा, आन्दोलनको आत्मालाई कमजोर बनाउने काम गर्छ ।
आजको आवश्यकताः यस्ता प्रवृत्तिहरूको पहिचान गर्ने, इमानदार र श्रमशील शक्तिहरूलाई सङ्गठित गर्ने, र आन्दोलनलाई पुनः मूल्य, आदर्श र जनताको पक्षमा उभ्याउने । किनकि, जबसम्म बिचौलिया मानसिकता हाबी रहन्छ ।
कुनै पनि क्रान्ति आफ्नो लक्ष्यसम्म पुग्न सक्दैन र इतिहास फेरि त्यहीँ दोहोरिन्छ, जहाँबाट सङ्घर्ष सुरु भएको थियो । अब प्रश्न उठ्छ, यस अवस्थाको जिम्मेवारी कसले लिने ? को हो साँचो नेता ? नेता त्यो होइन, जो सत्तामा पुगेपछि आफ्ना आदर्श बिर्सन्छ । नेता त्यो होइन, जो जनताको नाममा व्यक्तिगत समृद्धि खोज्छ । साँचो नेता त्यो हो, जसले सत्य बोल्ने साहस राख्छ, आफ्नै कमजोरी स्वीकार गर्ने इमानदारिता देखाउँछ र जनताको पक्षमा उभिने दृढता राख्छ ।
आज आवश्यक छः आत्मसमीक्षा, इमानदार बहस र मूल्यमा आधारित पुनर्निर्माण । चाकडी, चाप्लुसी र बिचौलिया प्रवृत्तिबाट मुक्त राजनीतिक संस्कार । र, सबैभन्दा महत्त्वपूर्ण– जनताको विश्वास पुनः जित्ने प्रतिबद्धता । यदि नेतृत्वले अब पनि इमान्दार उत्तर दिन सकेन भने, इतिहासले फेरि नयाँ विकल्प खोज्नेछ । किनकि जनताको चेतना कहिल्यै मर्दैन, त्यो केवल केही समयका लागि मौन हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण