महाकालीमा तुइन विस्थापन गर्न गएको साम्पाङको टोली घट्टे खोलामा पुल बनाउँदै
सारांश
- हर्क साम्पाङको टोलीले महाकाली नदीमा कूटनीतिक अनुमति नपाएपछि दार्चुलाको व्यास गाउँपालिकामा घट्टे खोलामा पुल निर्माण सुरु गरेको छ।
- जनताबाट संकलित रकमको सही सदुपयोग गर्न साम्पाङको टोलीले महाकालीको विकल्पमा स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै सोही क्षेत्रमा पुल बनाइरहेको छ।
- महाकाली नदीमा तुइन विस्थापन गर्ने मुख्य योजना तत्कालका लागि अवरुद्ध भए पनि स्थानीयवासीहरू सानो पुल निर्माणबाटै खुसी भएका छन्।
धनगढी । २०८१ को अन्त्यतिर हर्क साम्पाङले फेसबुकमार्फत एउटा आह्वान गरे, ‘दार्चुलाको तुइनको साटो झोलुङ्गे पुल बनाउने घोषणा अनुरुप रु १० देखि माथि जति सहयोग गर्न चाहनुहुन्छ, सहयोग गर्नुहोला ।’
यो आह्वानले काम गर्यो । साम्पाङका समर्थकहरूले स्वस्फूर्त रूपमा रकम संकलन गरे । ‘एउटा जनप्रतिनिधिले चाहेमा जे पनि गर्न सक्छ’भन्ने उदाहरण दिन साम्पाङ आफैँ र उनको प्राविधिक टोली दार्चुलाको दुर्गम व्यास गाउँपालिका पुग्यो ।
उनको लक्ष्य थियो– व्यास गाउँपालिका–२, दुम्लिङ र भारतको पिथौरागढ जोड्ने महाकाली नदीको तुइन हटाउने । तर, जब टोली फिल्डमा पुग्यो, तब वास्तविकता अर्कै देखियो ।
महाकाली नदी नेपाल र भारतबिचको अन्तर्राष्ट्रिय सीमा पनि हो । सीमा नदीमा कुनै पनि संरचना बनाउन दुवै देशको सहमति र कूटनीतिक अनुमति अनिवार्य हुन्छ । व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार साम्पाङको टोलीले महाकालीमा पुल बनाउन निकै प्रयत्न गरे पनि भारतको अनुमति बिना त्यो सम्भव भएन ।
‘करिब १५–२० दिन अगाडि हर्क साम्पाङको टोली तुइन विस्थापनको साइट हेर्न आएको थियो । तर महाकालीमा तुइन विस्थापन गरेर झोलुङ्गे पुल हाल्न सक्ने अवस्था भएन । भारतसँगको समन्वय र अन्तर्राष्ट्रिय सीमाका कारण त्यहाँ तत्काल काम अघि बढाउन सकिने स्थिति देखिएन,’ उनले भने ।
यसरी महाकालीमा पुल हाल्ने योजनामा कूटनीतिक अवरोध आएपछि टोलीले विकल्पको खोजी गर्यो । चन्दा उठाएको रकम र जनताको भरोसालाई निराश नपार्न टोलीले सोही वडाको भित्री भागमा रहेको घट्टे खोला रोज्यो ।
अहिले साम्पाङको टोलीले व्यास–२ को काठा दुम्लिङ र आसपासका गाउँलाई जोड्ने घट्टे खोलामा पुल बनाउन सुरु गरेको छ । आइतबार मात्रै हर्क साम्पाङको टोलीले त्यहाँ पुलको शिलान्यास गरेको छ । यो पुलले स्थानीय दुई–तीन वटा स–साना टोलका मानिसलाई आवतजावतमा सहज बनाउनेछ ।
यद्यपि, यो पुलले साम्पाङले सुरुमा घोषणा गरेको महाकालीको तुइन विस्थापनको मुख्य लक्ष्यलाई भने तत्काल सम्बोधन गर्दैन ।
’महाकालीमा तुइन हटाउने कुरा अहिलेलाई असम्भव जस्तै भयो । त्यसैले स्थानीय आवश्यकतालाई हेरेर घट्टे खोलामा पुल बनाउने सहमति भयो । यसले स्थानीयलाई केही राहत त दिन्छ, तर तुइनको समस्या भने जस्ताको तस्तै छ,’ उपाध्यक्ष कुँवरले भने ।
साम्पाङको करिब ३० जनाको टोलीले काम सुरु गरिसकेको छ । गाउँपालिकाले प्राविधिक सहयोग गर्ने समन्वय गरेको छ । यो टोली खोलाको छेउमा ससाना टेन्टमा बस्ने गर्छ । कामदारहरू पनि त्यही टोलीभित्र छन् । महाकालीमा पुल बनाउन नसके पनि आफ्नो क्षेत्रमा आएर एउटा सानै भए पनि पुल बनाउन लागेकोमा स्थानीय भने खुसी नै देखिएका दुम्लिङ स्थानी युनिका बुढाथोकीले बताइन् ।
तुइन तर्ने क्रममा महाकालीमा खसेर २०४९ सालयता व्यासमा गाउँपालिका–२ मा मात्रै २३ जनाको ज्यान गइसकेको छ ।
नेपाली भूमिमा बाटो नभएपछि महाकाली नदीमा तुइन तरेर भारतीय भूमि हुँदै सदरमुकाम जानुपर्ने बाध्यता व्यास गाउँपालिकाबासीमा छ । हरेक दिन सदरमुकामा जानु पर्दा यहाँका नागरिकले कष्टकर जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
बिरामी हुँदा, सुत्केरी, दुर्घटनामा परे नजिकका स्वास्थ्य चौकी पुग्छन् । त्यहाँ पनि औषधि, जनशक्ति र उपकरण अभाव छ । त्यसपछि बोकेर सदरमुकाम ल्याउन भारतकै बाटो लगिन्छ । नेपालमै बाटो बन्नुपर्छ भन्ने यहाँका नागरिकको माग छ । भारतको भूमि प्रयोग गर्न नपरे हुन्थ्यो भन्ने उनीहरू चाहन्छन् । तिंकर सडक बने यहाँका नागरिकले तुइन तर्नुपर्ने बाध्यता हट्छ । किनकि सुविधा भए मान्छेले ज्यान जोखिममा नहाल्ने गाउँपालिकाका उपाध्यक्ष बुढाथोकी बताउँछन् ।
चट्टानले, पहिरोले र सरकारको बेवास्ताले तिंकर सडक निर्माणमा ढिलाइ भइरहेको छ । दार्चुला–तिंकर सडक योजना ब्रहमदेवदेखि दार्चुलासम्म २९१ किमी र दार्चुलादेखि तिंकरसम्म १३४ किमी गरी दुई खण्डमा विभाजन गरिएको छ । सो सडक बने व्यासका जनताले तुइनमा चढेर महाकाली वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुन्थ्यो । तर उक्त सडक कहिले बन्ने हो यकिन छैन ।
कछुवा गतिमा निर्माण भइरहेको यो सडक बन्ने आसामा यहाँका नागरिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण