सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
सरकार

सिंहदरबारको ‘रेस्ट्रिक्टेड जोन’बाट देश हाँक्दै बालेन

शनिबार, २८ चैत २०८२, २० : ००
शनिबार, २८ चैत २०८२

सारांश

  • प्रधानमन्त्री बालेन शाहले सिंहदरबारभित्र ‘रेस्ट्रिक्टेड जोन’ कायम गरी सुशासन र कार्यसम्पादनको गति बढाउने रणनीति अघि सारेका छन्।
  • उनले प्रधानमन्त्री कार्यालयमा अनधिकृत भिडभाड र राजनीतिक गफगाफलाई निषेध गर्दै परिणाममुखी कार्यशैलीमा जोड दिएका छन्।
  • भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै मन्त्री र सचिवहरूलाई सय बुँदे कार्यसूचीमार्फत काम गर्न उनले कडा निर्देशन दिएका छन्।

काठमाडौँ । नेपालको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारभित्र ‘रेस्ट्रिक्टेड जोन’ मा बसेर प्रधानमन्त्री बालेन शाहले देश हाँकिरहेका छन् । सुरक्षा निकायका प्रमुख र क्याबिनेट सदस्यबाहेक अरूलाई सहजै भेट्न नपाउने गरी सचिवालयले उनको समय व्यवस्थापन गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा बाह्य व्यक्तिको खासै काम पर्दैन । आवश्यक परे प्रधानमन्त्री आफैँले बोलाउँछन् । उनको कार्यशैली र कार्यकक्षको संरचना सोही अनुसार मिलाइएको छ ।

  • बेदाग निस्किने प्रयास

सिंहदरबार पस्नेहरू धेरै हुन्छन्, तर बाहिरिँदा ‘दागरहित’ भएर निस्कनेहरू औँलामा गन्न सकिन्छ । काठमाडौँ महानगरपालिकामा आफ्नो छुट्टै कार्यशैली स्थापित गरिसकेका बालेन शाहले अब देशको कार्यकारी प्रमुखको भूमिकामा पुग्दा कस्तो मार्गचित्र कोरेका छन् त ?

उनका एक सचिवालय सदस्य भन्छन्, ‘सरकार चलाउनु भनेको केबल कुर्सी ओगट्नु होइन, यो एउटा उच्च गतिको गाडी हाँक्नुजस्तै हो, जहाँ चालकदेखि इन्जिनसम्म र इन्धनदेखि टायरसम्म सबै दुरुस्त हुनुपर्छ ।’

उनका अनुसार बालेनको अबको लक्ष्य सिंहदरबारबाट बाहिरिँदा कुनै पनि प्रश्न नउठ्ने गरी ‘बेदाग’ निस्कनु हो ।  यसका लागि उनले ‘रेस्ट्रिक्टेड सहितको रिफर्म’ रणनीति अघि सारेका छन् ।

  • १० बाट ९० को स्पिड पुर्‍याउने दाबी

बालेन शाहको टोलीले तय गरेको पहिलो वर्षको प्राथमिकता ‘सुशासन’ हो । उनले बारम्बार भन्ने गरेका छन्, ‘सुशासन हुने बित्तिकै कामको रफ्तार र डेलिभरी स्वतः बढ्छ ।’

विगतका सरकारहरू १०० मा १० को औसत गतिमा हिँडेको विश्लेषण गर्दै बालेनले आफ्नो कार्यकालमा ९० को स्पिडमा काम गर्ने लक्ष्य राखेका छन् ।

यो ग्याप कसरी पूर्ति हुन्छ त ? बालेनको सचिवालयका एक प्रमुख सदस्यको तर्क छ, ‘हाम्रो स्कुलिङ र चेन अफ कमाण्ड नै फरक छ । हामी फाइल अड्काउन होइन, निकास दिन आएका हौँ ।’

अन्तर्राष्ट्रिय परिस्थिति र बाह्य तनावले ठुलो असर नपार्ने हो भने नेपालको कर्मचारीतन्त्र र स्रोतसाधनलाई सही ढङ्गले परिचालन गर्दा १० को स्पिडमा ८० थपेर ९० पुर्‍याउन सम्भव रहेको उनको दाबी छ ।

बालेनका लागि सुशासन भनेको प्रक्रियामा अल्झिनु होइन, परिणाम निकाल्नु हो । ‘बिचमा कोही बाधा बनेर आउँछ भने त्यो आफैँ हट्छ । चाहे त्यो कानुनी झन्झट होस् या अदालती अड्चन, हामी सबैलाई हल गरेर अगाडि बढ्छौँ,’ बालेनले आफ्ना निकटस्थहरूलाई भन्ने गरेका छन् ।

बालेनले प्रधानमन्त्रीको भूमिकालाई बसको चालकसँग तुलना गरेका छन् । सचिवालय सदस्यहरूका अनुसार बालेनले भनेका छन्, ‘गन्तव्य भेट्न सहचालक, कन्डक्टर, मेकानिक, इन्जिन र टायर सबै राम्रो हुनुपर्छ । यहाँसम्म कि हालिने इन्धन पनि शुद्ध हुनुपर्छ ।’

यसको अर्थ हो– मन्त्रीहरू, कर्मचारीतन्त्र, नीति–नियमहरू सबैमा शुद्धीकरण आवश्यक छ ।

ती सदस्यका अनुसार बालेनले सुरुको समय यी सबै पक्षलाई ‘ट्युनिङ’ गर्नमा खर्चिनेछन् । ‘जब मेसिनरी फिट हुन्छ, तब रफ्तार लिने र गन्तव्यमा पुग्ने कुरामा सजिलो हुन्छ,’ उनले भने ।

  • प्रधानमन्त्री कार्यालयमा ‘रेस्ट्रिक्सन’

सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय विगतमा कार्यकर्ता भेटघाट, गफगाफ र फोटो खिच्ने थलोजस्तो बनेको बालेनको बुझाइ छ । अब त्यस्तो हुने छैन । बालेनले प्रधानमन्त्री कार्यालयमा कडा ‘रेस्ट्रिक्सन’ लगाएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री मुख्यतः अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति, राष्ट्रिय सुरक्षा, राष्ट्रिय गौरवका ठुला आयोजना र सुशासनको अनुगमन, समन्वय लगायतको मात्रै काम यहाँबाट हुन्छ । अरु काम यहाँबाट हुने होइन ।

‘प्रधानमन्त्रीसँग फोटो खिच्नकै लागि मात्र कार्यालय आइरहनु पर्दैन,’ आफ्नो टीमलाई बालेनको कडा सन्देश छ । उनले स्पष्ट पारेका छन् कि मन्त्रालयका सानातिना कामहरू सम्बन्धित विभागीय मन्त्री र सचिवहरूले नै सुल्झाउनुपर्छ ।

‘सञ्चारका लागि सरकारका प्रवक्ता तोकिएका छन्, सूचना त्यहीँबाट प्रवाह हुनेछ । प्रधानमन्त्रीलाई आवश्यक परे उनले आफैँ बोलाउनेछन्, अन्यथा अनधिकृत भिडभाडलाई पूर्णतः निषेध गरिएको छ,’ बालेन सचिवालयमा आन्तरिक निर्देशन छ ।

प्रधानमन्त्री कार्यालयमा मात्रै होइन, सिंहदरबार मै भिड घटाउनुपर्ने बालेनको तर्क छ । यही अनुसार कानुन व्यवसायीहरूले समेत पास लिनुपर्ने निर्देशन थियो, तर नेपाल बार एशोसिएशनको ध्यानाकर्षणपछि अहिले बारले जारी गरेको परिचयपत्रकै आधारमा प्रवेश दिने व्यवस्था मिलाइएको छ ।

  • सानो दाग लाग्न पनि भएन, ‘जिरो टोलेरेन्स’

बालेनले आफ्नो टिमलाई भनेका छन्, ‘सेतो टिसर्ट लगाउँदा सानो दाग पनि ठुलो फोहोर देखिन्छ ।’ उनले आफू र आफ्नो टिमलाई त्यही सेतो टिसर्टको रूपमा हेरेका छन् ।

‘काठमाडौँ महानगरपालिकाबाट बाहिरिँदा जसरी उनी र उनको टिममाथि भ्रष्टाचार वा अनैतिकताको कुनै प्रश्न उठेन, त्यही विरासत उनी सिंहदरबारमा पनि कायम राख्न चाहन्छन् । हामीले पनि सोही कुरा फलो गरिरहेका छौँ,’ सरकारका एक मन्त्री भन्छन् । 

‘अरूले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नारामात्र दिए, हामीचाहिँ व्यवहारमै लागु गर्छौं,’ ती मन्त्रीले भने । सरकारको कुनै पनि काममा सानो प्रश्नसमेत उठ्ने ठाउँ राख्न नहुने जिकिर गरेका ती मन्त्रीले सफा नियतले काम गर्दा नतिजा पनि सफा नै आउने दाबी गरे ।

१३ दिनमै श्रममन्त्रीबाट राजीनामा दिनुपरेका दीपक साहको उदाहरण दिँदै ती मन्त्रीले भने, ‘हामीले कसरी काम गरिरहेका छौँ भन्ने उदाहरण यही हो । उहाँले आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्तिको प्रयास गरेको थाहा पाउनासाथ पार्टी र सरकार गम्भीर बन्यो । यो एउटा उदाहरणमात्र हो । हाम्रा सबै गतिविधि यस्तै स्वच्छ हुनुपर्छ ।’

उनले यो कुरा जनप्रतिनिधिलाई मात्र नभई कर्मचारीको हकमा पनि लागु हुने बताए ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीलाई प्रधानमन्त्री बालेनले गम्भीर रूपमा लिन र सोही अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन् । मुलुकको प्रशासनिक, राजनीतिक र सेवा प्रवाहको क्षेत्रमा आमूल परिवर्तन गर्न भन्दै ल्याइएको उक्त कार्यसूचीमा ५ देखि १,००० दिनसम्मको समयावधि तोकेर विभिन्न काम सम्पन्न गर्ने उल्लेख छ ।

‘यो सय बुँदा केबल कागजको खोस्टोमात्र नभई सरकारको कार्यसम्पादन मापन गर्ने कसी हो,’ बालेनको सचिवालयले भन्यो ।

प्रधानमन्त्रीले सबै कुरा आफैँले हेर्न सम्भव नहुने ठानेर सांसदहरूसँगको रिपोर्टिङलाई प्राथमिकता दिएका छन् । प्रत्येक प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या बुझ्ने, त्यसलाई वर्गीकरण गर्ने र बजेटमार्फत समाधान गर्ने बालेनको योजना छ ।

  • सिंहदरबार : काम गर्ने थलो, गफ गर्ने चौतारी होइन

बालेनको कार्यशैलीमा कठोर ‘औपचारिकता’ रहेको उनको सचिवालयले जनाएको छ । बालेनले आफ्ना सहयोगीहरूलाई स्पष्ट भनिसकेका छन्, ‘सिंहदरबार र प्रधानमन्त्री कार्यालय औपचारिक काम गर्ने थलो हो, यहाँ बसेर अनौपचारिक गफ गर्ने वा रमाइलो गर्ने छुट कसैलाई छैन ।’

यदि कुनै बैठक १० बजे तय छ भने, त्यो १० बजे नै सुरु हुनुपर्ने बालेनको निर्देशन छ ।

मन्त्रीहरूलाई प्रभावकारी बनाउन प्रत्येक मन्त्रीका लागि ४ देखि ५ जना सांसद खटाइएको छ । ‘उहाँहरू छाया मन्त्रीको रूपमा काम गर्नुहुन्छ । विशेषगरी नीतिगत काममा मन्त्रीलाई सघाउन सांसदहरूलाई पठाइएको हो । यसले मन्त्रालयले गर्ने दीर्घकालीन काममा अर्थ राख्छ,’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्य भन्छन् ।

उनका अनुसार विषय विज्ञता र अनुभव भएका सांसदहरूलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

  • प्रधानमन्त्री कार्यालयबाटै कडा निगरानी

प्रधानमन्त्री बालेन प्रायः बिहान ८ः४५ मै कार्यालय आइपुग्छन् । उनी सिंहदरबार छिरेपछि हत्तपत्त बाहिर निस्कँदैनन् । प्रधानमन्त्री भएपछि सेनाको एक औपचारिक कार्यक्रम बाहेक उनी अन्य सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् ।

प्रायः साँझ साढे ५ बजेसम्म सिंहदरबारमै रहेर उनी बालुवाटार फर्कन्छन् । 

प्रधानमन्त्री कार्यालयमा राजनीतिक गफगाफ गर्न बन्देज लगाइएको छ । सचिवालयका ती सदस्यले भने, ‘सांसद वा कूटनीतिज्ञ भेट्ने कुरा सामान्य हो, तर यहाँ राजनीतिक गफगाफ हुँदैन । यो कार्यालयले सबै मन्त्रालयको कामको निगरानी, अनुगमन र समन्वय गर्छ ।’

सचिवालयमा पनि राजनीतिक काममा नहुने सदस्यहरू राखिएका छन् । ‘अहिलेको मुख्य लक्ष्य सरकारलाई सफल बनाउनु हो,’ सचिवालयका ती सदस्यले भने, ‘त्यसका लागि सबैले मिहिनेत गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको स्पष्ट निर्देशन छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप