बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अफगानिस्तानको पिकनिक स्थलमा बन्दुकधारीको आक्रमण, कम्तीमा ११ जनाको मृत्यु

आइतबार, २९ चैत २०८२, १० : २३
आइतबार, २९ चैत २०८२

सारांश

  • अफगानिस्तानको हेरात प्रान्तस्थित एक पिकनिक स्थलमा अज्ञात बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
  • मोटरसाइकलमा आएका बन्दुकधारीहरूले सिया मुस्लिम समुदायलाई लक्षित गरी आक्रमण गरेका थिए।
  • घटनामा संलग्न एक जना संदिग्ध व्यक्तिलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ।

काबुल । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित एक पिकनिक स्थलमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । 

शुक्रबार हेरातको एन्जिल जिल्लाको देह मेहरी गाउँ नजिक भएको उक्त आक्रमणमा सुरुवातमा चार जनाको मृत्यु भएको बताइएको थियो । तर गम्भीर घाइते भएका थप सात जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या ११ पुगेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

घटनामा घाइतेहरूलाई हेरात सहरस्थित अस्पतालमा लगिएको थियो । चिकित्सकका अनुसार पीडितहरू सिया मुस्लिम समुदायका थिए, जो स्थानीय धार्मिक स्थलमा पिकनिक मनाउन गएका थिए । सिया इस्लाम मान्ने समुदाय अफगानिस्तानमा अल्पसंख्यक भएकाले उनीहरू विगतमा पनि लक्षित आक्रमणको सिकार बन्दै आएका छन् ।

 गृह मन्त्रालयका प्रवक्ता अनुसार मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीहरूले भिडभाड हुने उक्त मनोरञ्जन क्षेत्रमा अचानक गोली चलाएका थिए । घटना स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे भएको बताइएको छ ।                    

तालिबान सरकारका हेरातका सूचना तथा संस्कृतिका प्रमुख अहमदुल्लाह मुत्ताकी ले यसलाई आतंकवादी घटना भन्दै चार शव र १५ जना घाइतेलाई अस्पताल लगिएको जानकारी दिए । घाइतेमा दुई महिला पनि रहेका छन् । सुरक्षाकर्मीहरूले घटनामा संलग्न एक जना संदिग्धलाई पक्राउ गरिसकेको बताएका छन् । हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप