सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
क्रिकेट

इतिहास रच्दै सुदूरपश्चिम पहिलो पटक फाइनलमा पुग्दा समर्थक उत्साहित

मङ्गलबार, ०१ वैशाख २०८३, ११ : १८
मङ्गलबार, ०१ वैशाख २०८३

सारांश

  • सुदूरपश्चिमले प्रधानमन्त्री कप क्रिकेटको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाएर नयाँ कीर्तिमान कायम गरेको छ।
  • खेलाडीहरूको कडा मेहनत र व्यक्तिगत पहलमा भएको प्रशिक्षणका कारण टोलीले बलिया विभागीय टोलीहरूलाई पराजित गर्न सफल भएको छ।
  • वैशाख ४ गते हुने फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिमले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

धनगढी । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले इतिहास रचेको छ। विगतका सात संस्करणसम्म विभागीय टोलीहरूको मात्रै एकछत्र राज रहेको यस प्रतियोगितामा यस पटक सुदूरपश्चिमले आठौँ संस्करणमा नयाँ रेकर्ड बनाएको हो।

२०७४ देखि सुरु भएको प्रधानमन्त्री कपमा हालसम्म त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफ जस्ता विभागीय टोलीहरूको दबदबा रहँदै आएको थियो। 

मधेस प्रदेशमा जारी प्रतियोगितामा सुदूरपश्चिमले साबिक विजेता पुलिस क्लब र दुई पटकको विजेता एपीएफ जस्ता बलिया विभागीय टोलीहरूलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। उचित अवसर र तयारी पाउने हो भने प्रादेशिक टोलीहरू पनि विभागीय टोलीभन्दा कम छैनन् भन्ने कुरा सुदूरपश्चिमले प्रमाणित गरेर देखाएको छ।

सुदूरपश्चिमको यो सफलताको पछाडि खेलाडीहरूको कडा परिश्रम र निजीस्तरको तयारी मुख्य कारण रहेको देखिन्छ। कप्तान शेर मल्लले प्रतियोगिता सुरु हुनुअघि टोलीका अधिकांश खेलाडीहरूले आफ्नै खर्चमा भारत गएर प्रशिक्षण गरेको बताए ।  

सरकारी वा प्रादेशिक निकायबाट खासै ठुलो सहयोग नपाए पनि खेलाडीहरूले आफ्नो खेल सुधार गर्न कुनै कसर बाँकी नराखेको उनको भनाइ छ । 

टोलीका सहायक प्रशिक्षक देवनारायण झाले यस पटक टोली निकै सन्तुलित रहेको बताए। यस्तै मुख्य प्रशिक्षकका रूपमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी धिरेन्द्र चन्दको आगमनले खेलाडीहरूको मनोबल उच्च बनाएको थियो। ‘हाम्रो टोलीमा सुरुदेखि नै एउटा छुट्टै ऊर्जा थियो। सिनियर र जुनियर खेलाडीबिचको तालमेलले गर्दा हामीले मैदानमा राम्रो नतिजा निकाल्न सक्यौँ,’ झाले भने।

सुदूरपश्चिमको फाइनल यात्रामा केही खेलाडीहरूको प्रदर्शन लोभलाग्दो रह्यो। बलिङतर्फ हेमन्त धामीले जादुमयी प्रदर्शन गर्दै ९ खेलमा २५ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थान ओगटेका छन्। उनलाई कप्तान शेर मल्लले २२ विकेटसहित बलियो साथ दिएका छन्।

ब्याटिङतर्फ नारायण जोशीले ९ खेलबाट ३०३ रन बनाउँदै आफूलाई अब्बल साबित गरे भने अभिषेक पाल र अशोक धामीले पनि टोलीलाई संकट परेको बेला सम्हाल्ने काम गरे। सुदूरपश्चिमको बलिङ र ब्याटिङ दुवै पक्ष यस पटक निकै धारिलो देखिएको छ।

सुदूरपश्चिमले मैदानमा इतिहास रचे पनि खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई चुनौती छ। नेपाल क्रिकेट संघ (क्यान) ले प्रत्येक टोलीलाई तयारी र व्यवस्थापनका लागि ११ लाख रुपैयाँ उपलब्ध गराएको छ। तर, यातायात, स्तरीय होटल बास, डाइट र किट्सका लागि यो रकम अपुग रहेको व्यवस्थापनमा त्यो पैसा पुग्दैन। होटल प्याकेज महँगो हुनु र लामो समयसम्म प्रतियोगिता चल्दा अतिरिक्त खर्च प्रदेशले नै बेहोर्नुपरेको छ।

अर्कोतर्फ, विभागीय र प्रादेशिक खेलाडीबिचको सुविधाको खाडल अझै ठुलो छ। विभागीय खेलाडीहरूले मासिक तलब, भत्ता र वर्षैभरि प्रशिक्षणको सुविधा पाउँछन्। प्रदेशका खेलाडीहरू भने प्रतियोगिताको समयमा मात्रै सक्रिय हुन्छन्। प्रदेशबाट खेल्ने खेलाडीलाई पनि केहि तलब वा भत्ताको व्यवस्था गरिदिए उनीहरूलाई अभ्यास गर्न सजिलो हुने खेलाडीहरूको भनाइ छ।

यसैबिच सुदूरपश्चिम फाइनलमा पुगेपछि प्रदेशका क्रिकेट समर्थकहरूमा उत्साह छाएको छ। क्रिकेटप्रेमी पारस खड्काले सुदूरपश्चिम क्रिकेटको उर्वर भूमि भएको बताए ‘हाम्रो सुदूरपश्चिम क्रिकेटको उर्वर भूमि हो। विनोद अहिलेको टोलीले इतिहास रचेर प्रमाणित गरिदियो कि सुदूरपश्चिमेली चेलो कसैभन्दा कम छैन। अब सरकारले यी खेलाडीलाई तलब र सुविधामा ध्यान दिनुपर्छ।’, खड्काले भने।

उपाधिका लागि वैशाख ४ गते सुदूरपश्चिमले अब त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। आर्मी यस प्रतियोगिताको अहिलेसम्मकै एक मात्र अपराजित र सबै संस्करणमा फाइनल पुगेको टोली हो। 

सुदूरपश्चिम भने ९ खेलमध्ये ६ मा जित निकाल्दै १२ अङ्क बटुलेर फाइनल पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप