जिम्मेवारीमा भएकाले लचिलो र विनम्र छु, यसलाई कमजोरी नठान्नुहोला : गगन थापा
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाले आफू जिम्मेवारीमा रहेकाले विनम्र बनेको बताउँदै यसलाई कमजोरी नठान्न आग्रह गर्नुभएको छ।
- थापाले पार्टी विधान र अनुशासनविपरीतका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभएको छ।
- आगामी वैशाख १५ गतेभित्र देशभर क्रियाशील सदस्यता नवीकरण र वितरण गरिसक्ने गरी अभियान सुरु गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको जिम्मेवारीमा रहेकाले लचिलो र विनम्र भएर सबैलाई समेटेर लैजाने प्रयासलाई कसैले पनि कमजोरीको रूपमा नलिदिन आग्रह गरेका छन् ।
मंगलबार काठमाडौँमा पार्टीको जरा अभियान र क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमको सुरुवात गर्दै सभापति थापाले पार्टी विधान विपरीतका कार्य स्विकार्न नसकिने बताए ।
‘पार्टीको जिम्मेवारीमा रहेकाले लचिलो र विनम्र भएर सबैलाई समेटेर लैजाने प्रयासलाई कसैले पनि कमजोरीको रूपमा नलिनुहोला, ’ सभापति थापाले भने, ‘पार्टीको विधान र अनुशासन भन्दा बाहिर गएर गरिने कुनै पनि कार्यलाई स्विकार्न सकिँदैन ।’
पार्टीभित्र भइरहेको क्रियाशील सदस्यता अद्यावधिक गर्दा आफू सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले पार्टीको विधान र अनुशासनभित्र रहेर काम गर्न सबै नेता कार्यकर्तालाई आग्रह गर्दै सहयोग गर्नेलाई धन्यवाद दिए र अवरोध गर्नेलाई सचेत गराउने बताए ।
थापाले आगामी वैशाख १५ गतेभित्रमा देशैभरका वडा तहमा क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गरिसक्नुपर्ने बताए।
क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई डिजिटलाइज गरिसकेको जानकारी दिए । उनले सदस्यता नवीकरण गर्दिन भन्ने पार्टी सदस्य योग्य नहुने बताए । ‘जसले म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दिन भन्छ, उनीहरू पार्टीको सदस्य रहन योग्य छैनन्,’ थापाले भने । विशेष कारणले उपस्थित हुन नसक्नेहरूका भने पार्टीले छुट्टै व्यवस्था गर्ने उनको भनाइ थियो।
थापाले पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ को आवश्यकता रहेको बताउँदै थापाले त्यसको सुरुवात आजबाट भएको बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण