मिचेल स्टार्क र दीप्ति शर्मा बने विश्वकै उत्कृष्ट क्रिकेटर
सारांश
- विज्डनले अस्ट्रेलियाका मिचेल स्टार्कलाई 'लिडिङ मेन्स क्रिकेटर' र भारतकी दीप्ति शर्मालाई 'लिडिङ वुमेन्स प्लेयर' घोषणा गरेको छ।
- विज्डनको उत्कृष्ट पाँच खेलाडीको सूचीमा शुभमन गिल, रवीन्द्र जडेजा, ऋषभ पन्त र मोहम्मद सिराज लगायतका भारतीय खेलाडीहरू समावेश भएका छन्।
- आक्रामक ब्याट्सम्यान अभिषेक शर्मा विश्वको लिडिङ टी-२० प्लेयर घोषित भएका छन्।
काठमाडौँ । विश्व क्रिकेटकै बाइबल मानिने विज्डन क्रिकेटर्स अल्मानाखले सन् २०२५ को उत्कृष्ट खेलाडीहरूको घोषणा गरेको छ, जसमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क र भारतकी अलराउन्डर दीप्ति शर्माले मुख्य विधामा बाजी मारेका छन्।
३६ वर्षको उमेरमा पनि घातक बलिङ गरिरहेका स्टार्कलाई ‘लिडिङ मेन्स क्रिकेटर इन द वर्ल्ड’ घोषित गरिएको छ। उनले गत वर्ष ११ टेस्टमा १७.३२ को औसतले ५५ विकेट लिएका थिए, जसमा वेस्ट इन्डिजविरुद्धको ६ रन खर्चेर ६ विकेट लिएको प्रदर्शन करिअरकै उत्कृष्ट रह्यो। यति मात्र नभई, उनले एसेज शृङ्खलामा ३१ विकेट लिँदै अस्ट्रेलियाको जितमा निर्णायक भूमिका खेलेका थिए।
महिलातर्फ भारतकी दीप्ति शर्माले ‘लिडिङ वुमेन्स प्लेयर’ को सम्मान पाएकी छिन्। गत नोभेम्बरमा घरेलु मैदानमा सम्पन्न एकदिवसीय विश्वकपमा भारतलाई ऐतिहासिक उपाधि दिलाउन दीप्तिले सानदार प्रदर्शन गरेकी थिइन्।
उनले प्रतियोगिताभर २१५ रन बनाउनुका साथै २२ विकेट लिएकी थिइन्। विशेषगरी दक्षिण अफ्रिकाविरुद्धको फाइनलमा उनले ५८ रनको महत्वपूर्ण इनिङ खेल्दै ३९ रन खर्चेर ५ विकेट लिएपछि भारतले ५२ रनको जित निकाल्दै पहिलो पटक ५० ओभरको विश्वकप जितेको थियो।
विज्डनको १६३औँ संस्करणमा भारतीय पुरुष खेलाडीहरूको पनि ठूलो दबदबा देखिएको छ। ‘विज्डन फाइभ क्रिकेटर्स अफ द इयर’ को सूचीमा चार भारतीय खेलाडीहरू शुभमन गिल, रवीन्द्र जडेजा, ऋषभ पन्त र मोहम्मद सिराज अटाएका छन्।
उनीहरूले गत वर्ष इंग्ल्याण्डविरुद्धको रोमाञ्चक टेस्ट शृङ्खला २-२ को बराबरीमा टुङ्ग्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। भारतीय टोलीका कप्तान शुभमन गिलले विज्डन ट्रफी समेत जितेका छन्। उनले एजबास्टनमा भएको दोस्रो टेस्टमा ४३० रनको विशाल योगदान दिँदै वर्षकै उत्कृष्ट व्यक्तिगत प्रदर्शनको अवार्ड हात पारेका हुन्।
यस्तै, आक्रामक ब्याटिङका लागि परिचित अभिषेक शर्मा विश्वको लिडिङ टी-२० प्लेयर घोषित भएका छन्। उनले एकै क्यालेन्डर वर्षमा २०० भन्दा बढीको स्ट्राइक रेटमा १ हजारभन्दा बढी रन बनाएका थिए।
यस वर्षको मुख्य पाँच खेलाडीको सूचीमा समेटिने एक्लो इंग्लिस खेलाडी हसिब हमिद बनेका छन्। उनले नटिंगघमशायरलाई काउन्टी च्याम्पियनसिप जिताउन दुई दोहोरो शतकसहित १ हजार २५८ रन बनाएका थिए।
यद्यपि, विज्डनका सम्पादक लरेन्स बुथले एसेजमा इंग्ल्याण्डको ४-१ को लज्जास्पद हारप्रति कडा आलोचना गरेका छन्। उनले बेन स्टोक्स र ब्रेन्डन म्याकुलमको ब्याजबाल शैली अब पूर्वानुमान गर्न सकिने र जिद्दी बन्दै गएको टिप्पणी गरेका छन्। बुथले इंग्ल्याण्डले आफ्नो जग मानिने काउन्टी क्रिकेटसँगको सम्बन्ध पुनः बलियो बनाउनुपर्ने र सरकारी विद्यालयहरूमा क्रिकेटको पहुँच बढाउनुपर्नेमा जोड दिएका छन्।
यस पटकको अल्मानाखले गत सेप्टेम्बरमा ९२ वर्षको उमेरमा निधन भएका दिग्गज अम्पायर डिकी बर्डलाई पनि विशेष श्रद्धाञ्जली अर्पण गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण