शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओरेन्ज र पर्पल क्यापको होडबाजी थप रोमाञ्चक

शुक्रबार, ०४ वैशाख २०८३, ०९ : ०८
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई पराजित गर्दै आईपीएल २०२६ मा आफ्नो बलियो उपस्थिति जनाएको छ।
  • प्रभसिमरन सिंह र श्रेयस अय्यरको उत्कृष्ट प्रदर्शनले गर्दा ओरेन्ज क्यापको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ।
  • बलिङतर्फ प्रसिद्ध कृष्णा र अंशुल कम्बोज १० विकेटसहित संयुक्त रूपमा पर्पल क्यापको शीर्ष स्थानमा छन्।

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २४औं खेलमा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई सहजै पराजित गर्दै पञ्जाब किंग्सले आफ्नो बलियो उपस्थिति जनाएको छ। यो जितसँगै ओरेन्ज र पर्पल क्यापको तालिकामा खासै ठूलो उलटपुलट नभए पनि केही खेलाडीहरूले शीर्ष स्थानमा रहेका दाबेदारहरूलाई कडा चुनौती दिन थालेका छन्। 

विशेषगरी पञ्जाबका ब्याटरहरूको उत्कृष्ट लयले आगामी खेलहरूमा प्रतिस्पर्धा अझै रोचक हुने संकेत गरेको छ। मुम्बईविरुद्धको खेलमा पञ्जाबका लागि प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यर नायक बने। 

ओपनर प्रभसिमरनले मात्र ३९ बलमा अविजित ८० रनको आक्रामक इनिङ्स खेलेपछि उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं स्थानमा उक्लिएका छन्। यस तालिकामा रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहली शीर्ष स्थानमा कायम छन् भने सनराइजर्स हैदराबादका हेनरिक क्लासेन, बेंगलुरुका रजत पाटीदार र हैदराबादकै इशान किशन क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। जारी सिजनमा प्रभसिमरनले चार इनिङ्समा १७२.९५ को स्ट्राइक रेटमा २११ रन जोडिसकेका छन्।

पञ्जाबकै कप्तान श्रेयस अय्यरले पनि मुम्बईविरुद्ध ३५ बलमा ६६ रनको योगदान दिँदै आफूलाई छैटौं स्थानमा सुरक्षित राखेका छन्। उनले अहिलेसम्म कुल २०३ रन बनाएका छन्। 

अर्कोतर्फ, केही समयअघिसम्म तालिकाको शीर्ष स्थानमा रहेका राजस्थान रोयल्सका युवा खेलाडी वैभव सूर्यवंशी भने हैदराबादविरुद्ध शून्य रनमा आउट भएसँगै सातौं स्थानमा चिप्लिएका छन्। ब्याटिङतर्फको यो प्रतिस्पर्धाले अबका खेलहरूमा शीर्ष पाँचको समीकरण फेरबदल हुने सम्भावना बढाएको छ।

बलिङतर्फको पर्पल क्याप तालिकामा भने शीर्ष ९ स्थानसम्म कुनै परिवर्तन भएको छैन। यद्यपि, मुम्बई इन्डियन्सका शार्दुल ठाकुरले १०औं स्थानमा नयाँ प्रवेश पाएका छन्। बिहीबार श्रेयस अय्यरको विकेट लिएसँगै उनको कुल विकेट संख्या ६ पुगेको छ। उनीसँगै बेंगलुरुका ज्याकोब डफी र कोलकाताका वैभव अरोरा पनि ६ विकेटसहित १०औं स्थानकै वरपर छन्।

अहिले पर्पल क्यापको दौडमा गुजरात टाइटन्सका प्रसिद्ध कृष्णा र चेन्नई सुपर किंग्सका अंशुल कम्बोज १०–१० विकेटका साथ संयुक्त रूपमा शीर्ष स्थानमा छन्। उनीहरूलाई लखनउ सुपर जाइन्ट्सका प्रिन्स यादव र राजस्थानका रवि बिश्नोईले ९–९ विकेट लिएर पछ्याइरहेका छन्। त्यस्तै, जोफ्रा आर्चर, भुवनेश्वर कुमार र क्रुनाल पाण्ड्या सात–सात विकेटका साथ तालिकाको बीचतिर संघर्षरत छन्। पञ्जाब र मुम्बईबीचको खेलपछि ब्याटिङ र बलिङ दुवैतर्फ नयाँ खेलाडीहरूको उदयले आइपिएलको उपाधि भिडन्तसँगै व्यक्तिगत विधाका पुरस्कारहरूमा पनि ठूलो प्रतिस्पर्धा देखिने निश्चित छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप