घरेलु हिंसामा परेको भन्दै ९८ पुरुषले काठमाडौं प्रहरीमा दिए उजुरी
सारांश
- काठमाडौंमा असोजदेखि चैत महिनासम्मको अवधिमा घरेलु हिंसामा परेको भन्दै ९८ जना पुरुषले प्रहरीमा उजुरी दिएका छन्।
- जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कुल १ हजार ३९ उजुरीमध्ये ९२८ वटा उजुरी फस्र्योट भइसकेका छन्।
- तीव्र सहरीकरण, वैदेशिक रोजगारी र पारिवारिक विखण्डनका कारण पुरुषहरू पनि घरेलु हिंसाको शिकार बन्ने क्रम बढेको छ।
काठमाडौं । काठमाडौंमा महिला मात्र नभई पुरुषहरू पनि घरेलु हिंसामा परेको पाइएको छ । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंले आयोजना गरेको अर्धवार्षिक कार्य समीक्षा कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले यसबारे जानकारी गराएका हुन् ।
एसपी भट्टराईका अनुसार गत असोजदेखि चैत महिनासम्मको अवधिमा घरेलु हिंसाका कुल १ हजार ३९ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका हुन् ।
तथ्याङ्क प्रस्तुत गर्दै एसपी भट्टराईले भने,‘पहिले पहिले घरेलु हिंसाका उजुरीमा महिला र बालबालिकाको मात्र नाम हुन्थ्यो, पुरुषको महल खाली जस्तै हुन्थ्यो । तर अहिले पुरुषहरू पनि पीडित भएर आउने क्रम सुरु भएको छ ।’
एसपी भट्टराईले पुरुषहरू पनि घरेलु हिंसामा पर्नुका पछाडि विभिन्न सामाजिक र आर्थिक कारणहरू रहेको विश्लेषण गरे । उनका अनुसार तीव्र सहरीकरण, बाह्य समाजको देखासिकी, वैदेशिक रोजगारी र त्यसले निम्त्याएको पारिवारिक विखण्डन मुख्य कारण हुन् ।
प्रहरीका अनुसार प्राप्त १ हजार ३९ उजुरीमध्ये ९२८ वटा उजुरी फस्र्योट भइसकेका छन् । पीडित र उजुरीकर्तामध्ये ७० प्रतिशत अर्थात् ९२० जनालाई प्रहरीका मनोपरामर्शदाताहरूबाट मनोसामाजिक परामर्श समेत प्रदान गरिएको एसपी भट्टराईले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण