सिंहदरबारमा ‘म्याराथन’ शैली, तर जवाफदेहिता...
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले बालुवाटारको साटो सिंहदरबारलाई कार्यस्थल बनाएर प्रशासनिक कार्यमा सक्रियता देखाएका छन्।
- उनले सांसद, मुख्यमन्त्री र कूटनीतिक नियोगका प्रमुखहरूसँग म्याराथन संवाद गर्दै प्रशासनिक गति बढाएका छन्।
- संसद्मा सम्बोधन नगरेको भन्दै उनको मौन शैलीको आलोचना भए पनि पूर्वप्रशासकहरूले यसलाई काममा केन्द्रित नेतृत्व मानेका छन्।
काठमाडौँ । गत चैत १३ गते मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विगतका प्रधानमन्त्रीहरूभन्दा सर्वथा भिन्न कार्यशैली अपनाएका छन् ।
पदभार ग्रहण गरेदेखि नै उनले आफ्नो कार्यक्षेत्रको मुख्य केन्द्र सरकारी निवास बालुवाटारलाई होइन, मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई बनाएका छन् । झन्डै तीन हप्तादेखि प्रधानमन्त्री शाहले सिंहदरबारमा ‘म्याराथन’ शैलीमा भेटघाट र प्रशासनिक कार्यलाई अगाडि बढाइरहेका छन् ।
विगतका प्रधानमन्त्रीहरू बालुवाटारबाटै पार्टीका काम र सरकार सञ्चालन गर्ने परम्परामा रमाउँदा सिंहदरबार सुस्ताएको टिप्पणी हुने गथ्र्यो, तर अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा चहलपहल मात्र बढेको छैन, प्रशासनिक कार्यमा समेत नयाँ रक्तसञ्चार भएको छ ।
प्रधानमन्त्री शाह बिहान प्रायः पौने ९ बजे नै सिंहदरबार प्रवेश गर्छन् र साँझ ५ः३० बजेसम्म मन्त्रालय एवं सचिवालयकै काममा व्यस्त रहन्छन् । उनले प्रधानमन्त्री कार्यालयमा एउटा कडा नियम बनाएका छन्– राजनीतिक गफगाफ निषेध ।
उनको सचिवालयका अनुसार त्यहाँ मन्त्रालयहरूका कामको निगरानी, अनुगमन र समन्वय मात्र हुने गर्छ । प्रधानमन्त्री भएपछि नेपाली सेनाको एउटा औपचारिक कार्यक्रमबाहेक उनी अन्य कुनै पनि सार्वजनिक वा उद्घाटन कार्यक्रममा सहभागी भएका छैनन् ।
‘अहिलेको मुख्य लक्ष्य सरकारलाई सफल बनाउनु र परिणाम दिनु हो,’ सचिवालयका एक सदस्य भन्छन्, ‘त्यसका लागि प्रधानमन्त्रीले सबै मन्त्रालयको प्रगति विवरण लिने र समन्वय गर्ने कामलाई प्राथमिकता दिनुभएको छ ।’
बालेनको म्याराथन संवाद
प्रधानमन्त्री शाहले बजेट निर्माण र स्थानीय समस्या बुझ्नका लागि सातै प्रदेशका प्रत्यक्ष तथा समानुपातिक तर्फका प्रतिनिधि सभा सदस्यहरूसँग छुट्टाछुट्टै सामूहिक भेटघाट गरेका छन् । उनले चैत १६ देखि ३० गतेसम्म सबै प्रदेशका सांसदहरूसँग म्याराथन छलफल गरे ।
चैत १६ः कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग भेटघाट ।
चैत १७ः सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग स्थानीय माग र समस्याबारे छलफल ।
चैत १८ः मधेश प्रदेशका ३० जना सांसदसँग बजेट र अल्पकालीन योजनाबारे ३ घण्टा लामो छलफल ।
चैत २०ः गण्डकी प्रदेशका सांसदहरूसँग संवाद ।
चैत २४ः लुम्बिनी प्रदेशका सांसदहरूसँग छलफल, जहाँ कपिलवस्तुको तिलौराकोटलाई ’स्मार्ट हेरिटेज सिटी’ बनाउने विषयले प्राथमिकता पायो ।
चैत ३०ः बागमती प्रदेशका सांसदहरूसँग भेटघाट गरी निर्वाचन क्षेत्रका समस्या सङ्कलन ।
वैशाख ३ः पाँच प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल । सङ्घीयता कार्यान्वयन र प्रदेशका समस्या फुकाउन उनले मुख्यमन्त्रीहरूसँग परामर्श गरे ।
१७ राष्ट्रका प्रतिनिधि एकै ठाउँमा
चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित १७ भन्दा बढी देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरे । भारत, चीन, अमेरिका, बेलायतलगायत राष्ट्रका प्रतिनिधिसँगको सामूहिक भेटलाई कूटनीतिक विज्ञहरूले समय व्यवस्थापनको उत्कृष्ट नमुना मानेका छन् । अलग–अलग भेट्दा हुने समयको खर्च बचाउँदै उनले नेपालको राष्ट्रिय प्राथमिकता र परराष्ट्र नीतिबारे एकैपटक स्पष्ट पारेका थिए ।
संसद्मा बोलेनन्, भेट्न मुस्किल
प्रतिनिधिसभाको झन्डै दुई–तिहाइ मतको विश्वासमा प्रधानमन्त्री बनेका रास्वपाका वरिष्ठ नेता शाहले एक शब्द पनि नबोली संसद्को पहिलो अधिवेशन अन्त्य भयो । विगतमा संसद्को पहिलो अधिवेशनको प्रारम्भमै प्रधानमन्त्रीले देश र जनताका नाममा सम्बोधन गर्ने चलन थियो, तर उक्त परम्परा बालेनले तोडे ।

नयाँ संसद् सञ्चालनको ९ दिनमा बसेका ६ वटा बैठकमा बोल्ने सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । कतिपय विषयमा सांसदहरूले प्रधानमन्त्री शाहकै जवाफ मागेका थिए, जसलाई उनले बेवास्ता गरिदिए ।
तर यसप्रति राजनीतिक अध्येता दोभान राईसहित नागरिक क्षेत्रका अगुवाहरूले भने आलोचना गरेका छन् । जेनजीकै आन्दोलनको जगमा बनेको सरकार भए पनि उक्त पुस्ताका अगुवाहरूले बालेनको मौन शैलीको विरोध गरिरहेका छन् ।
‘जनतालाई प्राविधिक समाधान मात्र होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिन्छ,’ बमले भनेकी छिन्, ‘लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी शैलीभन्दा लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य सञ्चालन गरिनुपर्दछ । संसद्मार्फत राष्ट्रलाई सम्बोधन गर्नु तपाईंको कर्तव्य हो ।’
नजी अगुवा रक्षा बमले प्रधानमन्त्रीले संसद्को पहिलो अधिवेशनदेखि हालसम्म सदनमा नबोलेको भन्दै आलोचना गरेकी छन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले निर्वाचन जितेपछि जनतालाई धन्यवाद दिन र नयाँ परिवर्तनलाई आत्मसात् गर्दै देशलाई सम्बोधन गर्नु प्रधानमन्त्रीको प्रमुख जिम्मेवारी भएको बताएकी छन् । ‘कुरा कम, काम बढी’ भन्ने प्रधानमन्त्रीको व्यक्तिगत कार्यशैलीलाई सम्मान गर्दै उनले लोकतन्त्रमा व्यक्तिगत स्वभावभन्दा प्रणाली र अभ्यास ठुलो हुने तर्क गरेकी छन् ।
‘जनतालाई प्राविधिक समाधान मात्र होइन, नेतृत्वको मनोवैज्ञानिक साथ पनि चाहिन्छ,’ बमले भनेकी छिन्, ‘लोकतान्त्रिक शासन व्यवस्थामा नेताको निजी शैलीभन्दा लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासले राज्य सञ्चालन गरिनुपर्दछ । संसद्मार्फत राष्ट्रलाई सम्बोधन गर्नु तपाईंको कर्तव्य हो ।’
उनले प्रधानमन्त्रीलाई आफ्नो ‘सीमित शैली’ सुधार्न आग्रह गर्दै भनेकी छन्, ‘यदि तपाईंले आफ्नै निजी शैलीमा मात्र शासन चलाउने सोच्नुभएको छ भने, पहिलो खुड्किलाबाटै फर्किनुस् । पछिल्लो आमनिर्वाचनले दिएको यो उत्कृष्ट अवसरलाई संकुचित सोचमा कैद गरेर उपलब्धि हासिल हुन सक्दैन ।’
_pi9c6dspfq_hDB5gFCG0t.jpg)
पूर्वप्रशासक भन्छन्, ‘विगतमा हामीले भन्थ्यौं, बालेनले गरेर देखाए’
विगतका प्रधानमन्त्रीहरू बालुवाटारस्थित निवासबाटै शासन चलाउन रुचाउने गर्थे, सिंहदरबार विरलै पुग्थे । तर बालेनले सिंहदरबारलाई नै ‘कमान्ड सेन्टर’ बनाएका छन् । यसलाई पूर्वमुख्यसचिवले ‘कोर फङ्सन’ (मुख्य कार्य) माथिको केन्द्रीकरणका रूपमा व्याख्या गरेका छन् । ‘एक सफल प्रशासक वा नेताले आफ्नो ‘कोर’ (मुख्य) र ‘नन–कोर’ (सहायक) काम छुट्याउन सक्नुपर्छ । बालेन शाहले ठ्याक्कै त्यही गरिरहेका छन्,’ ती पूर्वमुख्यसचिव भन्छन्, ‘विगतमा प्रधानमन्त्रीहरू पार्टीका कार्यकर्ता भेट्ने, उद्घाटन गर्ने र सानातिना सार्वजनिक कार्यक्रममा अल्झिने गर्थे । तर अहिलेका प्रधानमन्त्रीले ती सहायक कामलाई थाती राखेर नीतिगत छलफल, कूटनीतिक सम्बन्ध र कर्मचारीतन्त्रको परिचालनजस्ता मुख्य काममा १० देखि ५ बजेसम्म सिंहदरबारमा समय दिनु नै सबैभन्दा सकारात्मक पक्ष हो ।’
नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँगको सामूहिक भेटलाई उनले ‘कूटनीतिक परिपक्वता’को संज्ञा दिएका छन् । ‘पालैपालो राजदूतहरूलाई भेट्दा समयको बर्बादी हुने र फरक–फरक सन्देश जाने डर हुन्थ्यो । सामूहिक भेट गरेर राष्ट्रिय प्राथमिकताबारे एकै पटक स्पष्ट पार्नु समय व्यवस्थापनको उत्कृष्ट नमुना हो,’ उनले भने । यसले वैदेशिक सम्बन्धमा नेपालको ‘एउटै स्वर’ रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह गरेको ती पूर्वमुख्यसचिवको ठम्याइ छ ।
प्रधानमन्त्री आफैँ हरेक दिन कार्यालयमा उपस्थित भएर म्याराथन भेटघाटमा व्यस्त हुँदा त्यसको प्रत्यक्ष प्रभाव कर्मचारीतन्त्रमा परेको छ । ‘जब घरको मूली नै कार्यालयमा बसेर फाइल र समस्याहरू हेर्न थाल्छ, तब मन्त्री र सचिवहरूलाई पनि आफ्नो जिम्मेवारीप्रति सचेत हुन दबाब पर्छ । सिंहदरबारमा प्रधानमन्त्रीको नियमित उपस्थितिले सुस्ताएको कर्मचारीतन्त्रलाई चलायमान बनाएको छ,’ उनले थपे ।
संसद् र राष्ट्रका नाममा सम्बोधन नगरेको विषयमा उठिरहेका प्रश्नको जवाफ दिँदै उनी भन्छन्, ‘हामीकहाँ काम सुरु नगर्दै ठूला भाषण गर्ने र आश्वासन बाँड्ने पुरानो रोग छ । तर अहिलेका प्रधानमन्त्रीले पहिले कामबाट नतिजा देखाउँछु र त्यसपछि मात्र बोल्छु भन्दै मौनता साधेको देखिन्छ । यो एक किसिमको ‘एक्सन–ओरिएन्टेड’ नेतृत्वको शैली हो । जनताले भाषणभन्दा पनि डेलिभरी खोजेका छन्, जुन सिंहदरबारको सक्रियताले सङ्केत गरिरहेको छ ।’
प्रधानमन्त्रीले सिंहदरबारलाई कार्यकारी शक्तिको वास्तविक केन्द्र बनाएको भन्दै उनले भने, ‘पार्टीका मान्छेहरूको घेराबन्दीबाट मुक्त भएर सरकारी संयन्त्र र जनप्रतिनिधिहरूसँगको यो घनीभूत छलफलले ढिलो–चाँडो ठोस नतिजा दिने निश्चित छ । यदि यो शैलीले निरन्तरता पायो भने नेपालको प्रशासनिक इतिहासमा यो एउटा बेन्चमार्क साबित हुनेछ ।’
सिंहदरबारको सक्रियता एकदम राम्रो छ तर जवाफदेही पनि हुनुपर्छ – लीलामणि पौडेल
प्रधानमन्त्री सिंहदरबारमा बसेर मन्त्रालयका कामकारबाहीमा सक्रिय हुने तर संसद् र सार्वजनिक संवादबाट टाढिने प्रवृत्ति देखिएपछि पूर्वमुख्यसचिव लीलामणि पौडेलले यसलाई ‘मिश्रित अभ्यास’का रूपमा टिप्पणी गरेका छन् ।
पूर्वमुख्यसचिव पौडेलले प्रधानमन्त्री नियमित रूपमा सिंहदरबार जानु र कार्यालयबाटै प्रशासनिक नेतृत्व लिनुलाई अत्यन्त सकारात्मक कदम मानेका छन् । उनका अनुसार प्रधानमन्त्रीले बाहिरी औपचारिक र खुद्रा कार्यक्रममा समय खर्चिनुभन्दा राज्यको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै काम गर्नु प्रणाली सुधारका लागि आवश्यक छ । पौडेल भन्छन्, ‘मैले सधैँ प्रधानमन्त्री बिहान १० बजे नै कार्यालय आउनुपर्छ र बाहिरी कार्यक्रमतिर नलागी मन्त्रालयका समस्या समाधानमा केन्द्रित हुनुपर्छ भन्दै आएको छु । मन्त्रालयमा कुन काम कहाँ रोकियो र कहाँ समस्या छ भन्ने कुराको प्रत्यक्ष अनुगमन गर्ने, टेलिफोनबाट प्रगति विवरण लिने र प्राथमिकता तय गर्ने काम प्रधानमन्त्रीले कार्यालयबाटै गर्नुपर्छ ।’
प्रशासनिक सक्रियताको प्रशंसा गरे पनि प्रधानमन्त्रीले लामो समयसम्म संसद्मा सम्बोधन नगरेको र राष्ट्रका नाममा सन्देश नदिएको विषयमा भने पौडेलले गम्भीर प्रश्न उठाएका छन् । संसदीय लोकतन्त्रमा संसद्प्रतिको जवाफदेहिता प्रधानमन्त्रीको पहिलो कर्तव्य हुने उनको ठहर छ ।
धानमन्त्रीले अहिले सांसद, कूटनीतिक नियोगका प्रमुख र मुख्यमन्त्रीहरूसँग गरिरहेको म्याराथन भेटघाटलाई पनि पौडेलले सकारात्मक रूपमा लिएका छन् । यसले जननिर्वाचित प्रतिनिधि र तल्लो तहका समस्या बुझ्न सहयोग पुग्ने उनको विश्वास छ । सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा यस्ता छलफलले सहयोगी भूमिका खेल्ने उनको तर्क छ ।
प्रशासनिक सक्रियताको प्रशंसा गरे पनि प्रधानमन्त्रीले लामो समयसम्म संसद्मा सम्बोधन नगरेको र राष्ट्रका नाममा सन्देश नदिएको विषयमा भने पौडेलले गम्भीर प्रश्न उठाएका छन् । संसदीय लोकतन्त्रमा संसद्प्रतिको जवाफदेहिता प्रधानमन्त्रीको पहिलो कर्तव्य हुने उनको ठहर छ ।
पौडेलका अनुसार संसद्ले छानेको प्रधानमन्त्री संसद्मै नबोल्नु अस्वाभाविक हो । उनी भन्छन्, ‘कार्यालयमा बसेर काम गर्नु एउटा पक्ष हो, तर नागरिकसँग संवाद नगर्ने, सार्वजनिक विमर्शमा नआउने र संसद्मा सम्बोधन नगर्ने कुरा लोकतान्त्रिक चरित्रसँग मेल खाँदैन ।’
‘प्रधानमन्त्रीले सिंहदरबारबाट प्रशासनिक सुधारका प्रयास जारी राख्दै गर्दा संसद् र सार्वजनिक मञ्चमार्फत जनतासँगको संवादलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ । प्रशासनिक सक्रियता र लोकतान्त्रिक संवादबीचको सन्तुलनले मात्र सरकारको प्रभावकारिता देखिने गर्छ,’ पौडेलको सुझाव छ ।
_fiho8rpe5u_aixxTyi2qh.jpg)
राज्य प्रशासनमा नयाँ रक्तसञ्चार भयो – त्रिताल
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले अपनाएको ‘सिंहदरबार केन्द्रित’ कार्यशैलीले राज्य प्रशासनमा नयाँ रक्तसञ्चार गरेको विभिन्न मन्त्रालयमा सचिवका रूपमा काम गरेका पूर्वप्रशासक शारदा प्रसाद त्रितालको ठम्याइ छ । विगतका प्रधानमन्त्रीहरू बालुवाटारबाटै शासन चलाउन रुचाउने परम्परा तोड्दै बालेनले सिंहदरबारलाई नै कार्यसम्पादनको मुख्य थलो बनाउनुले प्रशासनिक सुधारमा ठुलो अर्थ राख्ने उनी बताउँछन् ।
‘हाम्रो देशमा प्रधानमन्त्री सिंहदरबार नआउने र बालुवाटारबाटै फाइल सदर गर्ने विकृति थियो, जसले गर्दा सिंहदरबार सुस्ताएको थियो,’ त्रिताल भन्छन्, ‘अहिले प्रधानमन्त्रीले दिनभर सिंहदरबारमा बसेर म्याराथन भेटघाट गर्नुको पहिलो सन्देश कार्यकारी प्रमुख ‘अन ड्युटी’ छ भन्ने हो । यसले कर्मचारीतन्त्र र मन्त्रीहरूलाई पनि आफ्नो कार्यालयमा बस्न र जिम्मेवार हुन बाध्य पार्छ । जब प्रधानमन्त्री कार्यालयमै रहन्छन्, तब मात्र उनले कर्मचारीका समस्या र कामको गति प्रत्यक्ष महसुस गर्न सक्छन् ।’
प्रधानमन्त्रीले प्रतिनिधि सभाका निर्वाचित र समानुपातिक सदस्य, राजदूत र मुख्यमन्त्रीहरूसँग गरिरहेको सामूहिक तथा व्यक्तिगत भेटघाटलाई त्रितालले समन्वयकारी नेतृत्वको संज्ञा दिएका छन् । ‘समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदहरूलाई सँगै राखेर कुरा सुन्नुले संसद्प्रतिको सम्मान झल्काउँछ । त्यस्तै, मुख्यमन्त्रीहरूसँगको नियमित संवादले सङ्घीयता कार्यान्वयनमा देखिएका गाँठा फुकाउन मद्दत पुग्छ । यो भेटघाट केवल औपचारिकता नभई फिडब्याक लिने माध्यम हुनुपर्छ,’ उनी थप्छन् ।
_ri0f023flf_QZZ74jQm9W.jpg)
संसद्मा सम्बोधन र राष्ट्रका नाममा सन्देश नदिएको विषयमा उठिरहेको जिज्ञासालाई त्रितालले फरक ढङ्गले हेरेका छन् । उनी भन्छन्, ‘हामीकहाँ प्रधानमन्त्री हुनासाथ लामो भाषण गर्ने र ठुला सपना बाँड्ने चलन छ । तर बालेनले अहिले ’पहिले कामको लय मिलाउँछु अनि मात्र बोल्छु’ भन्ने शैली अपनाएको देखिन्छ । संसद्मा बोल्नुपर्छ, त्यो लोकतान्त्रिक अभ्यास हो । तर हतारमा भाषण गर्नुभन्दा परिणाम देखिने गरी तयारी गरेर बोल्नु परिपक्वता हो । अहिले उनले बोलेरभन्दा पनि आफ्नो उपस्थितिले शासन सत्ता चलाइरहेका छन् ।’
प्रधानमन्त्री कार्यालयमा हुने नियमित भेटघाटले सचिव र अन्य उच्च कर्मचारीलाई कार्यसम्पादनमा दबाब सिर्जना गरेको त्रितालको विश्लेषण छ । उनी भन्छन्, ‘जब प्रधानमन्त्री आफैँले प्रत्यक्ष रूपमा कर्मचारी र सरोकारवालासँग संवाद गर्छन्, बिचौलियाहरू कमजोर हुन्छन् । यसले सुशासनमा टेवा पुग्छ । तर, यो भेटघाटको उद्देश्य केवल कुराकानीमा सीमित नभई कार्यान्वयनको प्रक्रियामा रूपान्तरण हुनुपर्छ ।’
त्रिताल थप्छन्, ‘बालेन शाहले सिंहदरबारलाई जुन गतिमा चलायमान बनाएका छन्, यो प्रशंसनीय छ । तर यो जोस केही हप्ताका लागि मात्र हुनु हुँदैन । सिंहदरबारको यो म्याराथन भेटघाटबाट निस्केका निष्कर्षलाई तत्कालै नीति र कार्यक्रममा ढाल्ने संयन्त्र पनि उनले बनाउनुपर्छ । राष्ट्रका नाममा सम्बोधन ढिलो भएर केही हुन्न, तर प्रशासनिक निर्णयहरू चाँडो र पारदर्शी हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण