सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सुधन गुरुङले भने– मेरो विषयमा पार्टीले गर्ने हरेक निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्छु

सोमबार, ०७ वैशाख २०८३, १३ : ५६
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • गृहमन्त्री सुधन गुरुङले आफ्नो सेयर लगानीसम्बन्धी विवादबारे स्पष्टीकरण दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
  • उनले आफूले कुनै पनि सम्पत्ति नलुकाएको र आफ्नो लगानी बैंकिङ प्रणालीबाटै पारदर्शी रूपमा गरिएको जिकिर गरेका छन्।
  • मन्त्री गुरुङले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै पार्टीले गर्ने हरेक निर्णयलाई स्वीकार गर्ने बताएका छन्।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर सार्वजनिक भएका सेयर लगानीसम्बन्धी विवादका विषयमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका हुन् । 

मन्त्री गुरुङले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने हरेक निर्णयलाई शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफूले २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने चर्चाको खण्डन गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको लगानी स्पष्ट उल्लेख गरिएको जिकिर गरेका छन्। 

स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणभित्रै समेटिएको बताउँदै उनले यो लुकाउने विषय नभई वर्गीकरणको मात्र सवाल भएको स्पष्ट पारेका छन्। लुकाउने मनसाय भएको व्यक्तिले २ करोडभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक रूपमा नदेखाउने उनको दाबी छ।

मन्त्री हुनुअघि नै सेयर खरिद गरिएको र उक्त लगानीको स्रोत २०८० भदौ २९ गते गरिएको ऋण (कर्जा) को तमसुक रहेको उनले खुलाएका छन् । सबै कारोबार बैंकिङ प्रणालीमार्फत नै भएकाले यसको प्रमाण सुरक्षित रहेको उनले उल्लेख गरेकँ छन् । विवादित व्यक्तिसँग दीपक भट्टसँग साझेदारी भनिएको विषयमा टिप्पणी गर्दै उनले एउटै कम्पनीमा सयौँ सेयरधनी हुने भएकाले सेयर किन्नुलाई सबैसँगको व्यक्तिगत साझेदारी मान्न नहुने तर्क गरेका छन् । 

व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन

गृहमन्त्री गुरुङले व्यापारिक लगानी गर्दा भविष्यमा आउन सक्ने सबै उतारचढाव वा अवस्था पहिल्यै अनुमान गर्न नसकिने बताएका छन् । ‘व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन, हरेक लगानीमा जोखिम हुन्छ,ु उनले भनेका छन् । पछि घटेका घटनाका आधारमा पहिले गरिएको लगानीको निर्णयलाई दोषी ठहर्‍याउनु न्यायोचित नहुने उनको तर्क छ।

‘स्वार्थको द्वन्द्वु को आरोपका विषयमा स्पष्ट पार्दै उनले यस विषयको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको जानकारी दिएका छन् । यदि आफूले पदको प्रभाव वा हस्तक्षेप गरेको भए छानबिन प्रक्रिया नै अघि नबढ्ने दाबी गर्दै उनले अनुसन्धान चलिरहनुले नै प्रभाव नरहेको पुष्टि गर्ने बताएका छन् । 
शहीदहरूको बलिदान र ‘जेनजी आन्दोलनको मर्मप्रति आफू जिम्मेवार रहेको उल्लेख गर्दै उनले हल्लाका पछि नलागी प्रमाणका आधारमा निर्णयमा पुग्न सबैलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप