मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बाबरको ऐतिहासिक पुनरागमन : कीर्तिमानी शतकसँगै विराट कोहली र क्रिस गेललाई पछि पारे

मङ्गलबार, ०८ वैशाख २०८३, ०९ : १०
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • पाकिस्तान सुपर लिगमा पेशावर जाल्मीका कप्तान बाबर आजमले क्वेटा ग्ल्याडिएटर्सविरुद्ध सानदार शतक प्रहार गरेका छन्।
  • बाबर आजमले ३३८ इनिङ्समा १२ हजार रन पूरा गर्दै विराट कोहली र क्रिस गेलको कीर्तिमान तोडेका छन्।
  • बाबरले ५० भन्दा बढी बल खेलेर मात्र एक डट बल सामना गर्दै टी-२० क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

पेशावर । पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ अन्तर्गत क्वेटा ग्ल्याडिएटर्सविरुद्धको खेलमा पेशावर जाल्मीका कप्तान बाबर आजमले ब्याटिङमा नयाँ इतिहास रचेका छन्। लामो समयको रनको खडेरीलाई अन्त्य गर्दै बाबरले सानदार शतक प्रहार गरेपछि पेशावरले क्वेटालाई ११८ रनको फराकिलो अन्तरले पराजित गरेको हो। 

आइतबार भएको उक्त खेलमा पहिले ब्याटिङ गरेको पेशावरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको क्वेटा मात्र १३७ रनमा समेटिएपछि पेशावरले सानदार जित दर्ता गर्यो।

७८३ दिनको लामो प्रतीक्षापछि टी-२० क्रिकेटमा शतक प्रहार गरेका ३१ वर्षीय बाबरले यसक्रममा विश्व क्रिकेटका हस्तीहरू विराट कोहली र क्रिस गेलको कीर्तिमान समेत भंग गरेका छन्। बाबर टी-२० क्रिकेटमा सबैभन्दा छिटो १२ हजार रन पूरा गर्ने ब्याटर बनेका छन्। 

उनले मात्र ३३८ इनिङ्समा यो कोशेढुङ्गा पार गर्दै गेल (३४४ इनिङ्स) र कोहली (३६० इनिङ्स) लाई पछि पारेका हुन्। यो शतकसँगै बाबरको टी-२० करियरमा शतकीय संख्या १२ पुगेको छ, जुन क्रिस गेलको २२ शतकपछि विश्वकै दोस्रो धेरै हो। उनले यसअघि फेब्रुअरी २०२४ मा अन्तिम पटक शतक प्रहार गरेका थिए।

बाबरको यो इनिङ्स केवल रनका हिसाबले मात्र नभई तथ्याङ्कका दृष्टिले पनि निकै विरल मानिएको छ। ५२ बलमा १०० रन बनाएर अविजित रहेका उनले ६ चौका र ४ छक्का प्रहार गरे। 

यस इनिङ्सको सबैभन्दा रोचक पक्ष यो रह्यो कि ५० भन्दा बढी बल खेल्दा पनि उनले मात्र एउटा डट बल सामना गरे। टी-२० क्रिकेटको इतिहासमा ५० भन्दा बढी बल खेलेर एउटा मात्र डट बल खेल्ने बाबर पहिलो खेलाडी बनेका छन्। 

उनलाई अर्का ब्याटर कुसल मेन्डिसले बलियो साथ दिएका थिए। मेन्डिसले ४४ बलमा ८३ रनको विष्फोटक इनिङ्स खेलेपछि यी दुईबीच १३५ रनको साझेदारी भएको थियो, जसले पेशावरलाई पीएसएल इतिहासकै तेस्रो उच्च स्कोरमा पुर्‍यायो।

विशाल लक्ष्य पछ्याएको क्वेटाका लागि बेभन ज्याकोब्सले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। पेशावरका बलरहरूले कसिलो बलिङ गर्दै क्वेटालाई सस्तैमा समेटे। पेशावरका लागि मोहम्मद बासित र अली राजाले समान ३-३ विकेट लिए भने आरोन हार्डीले २ विकेट चट्काए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप