पीएसएल छाडेर आईपीएल रोज्ने शनाकालाई पाकिस्तानमा प्रतिबन्ध
सारांश
- पाकिस्तान क्रिकेट बोर्डले सम्झौता उल्लंघन गरेको भन्दै श्रीलङ्काली अलराउन्डर दासुन शनाकालाई पीएसएलको एक सिजनका लागि प्रतिबन्ध लगाएको छ।
- शनाकाले लाहोर कलन्दर्ससँगको सम्झौता तोडेर आईपीएलको राजस्थान रोयल्समा आबद्ध भएपछि बोर्डले यो कदम चालेको हो।
- प्रतिबन्धको निर्णय सार्वजनिक भएपछि शनाकाले पीएसएल र पाकिस्तानी समर्थकहरूसँग सार्वजनिक रूपमा माफी मागेका छन्।
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले श्रीलङ्काली अलराउन्डर दासुन शनाकालाई पाकिस्तान सुपर लिग (पीएसएल) बाट एक सिजनका लागि प्रतिबन्ध लगाएको छ। पीएसएलको फ्रेन्चाइज टोली लाहोर कलन्दर्ससँगको सम्झौता उल्लंघन गर्दै प्रतियोगिता छाडेर इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली राजस्थान रोयल्समा आबद्ध भएको भन्दै बोर्डले शनाकामाथि यो कठोर कदम चालेको हो।
पीसीबीका अनुसार शनाकाले एकतर्फी रूपमा सम्झौता रद्द गरेको पाइएकाले उनी सन् २०२७ को पीएसएल खेल्न अयोग्य हुनेछन्। शनाकालाई लाहोर कलन्दर्सले करिब २७ हजार अमेरिकी डलरमा अक्सनमार्फत टोलीमा भित्र्याएको थियो।
तर सिजन सुरु हुनुअघि नै उनी घाइते साम करनको स्थानमा करिब २ लाख १४ हजार डलरको आकर्षक पारिश्रमिकमा राजस्थान रोयल्समा सामेल भएका थिए। तीन वर्षपछि आईपीएल फर्कने अवसर पाए पनि उनले अहिलेसम्म कुनै खेल भने खेल्न पाएका छैनन्। पीसीबीले शनाकाको यो कदमलाई खेलाडी दर्ता सर्त र त्रिपक्षीय सम्झौताको स्पष्ट उल्लंघन भनेको छ।
प्रतिबन्धको निर्णय सार्वजनिक भएलगत्तै शनाकाले माफी समेत मागेका छन्। उनले पीएसएल र पाकिस्तानी क्रिकेट समर्थकहरूसँग माफी माग्दै लाहोर कलन्दर्सलाई निराश बनाएकोमा दुःख व्यक्त गरेका छन्।
उनले सुरुमा पीएसएल छाड्दा अन्य कुनै प्रतियोगिता खेल्ने मनसाय नरहेको दाबी गर्दै भविष्यमा फेरि पाकिस्तानमा फर्कने र समर्थकको विश्वास जित्ने आशा व्यक्त गरेका छन्। शनाकाले सार्वजनिक रूपमा माफी मागेका कारण उनलाई अन्य खेलाडीको तुलनामा केही कम सजाय दिइएको बुझिएको छ।
पीएसएल छाडेर आईपीएल रोजेकै कारण प्रतिबन्धमा पर्ने शनाका तेस्रो खेलाडी हुन्। यसअघि पीसीबीले जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजराबानीलाई दुई सिजनका लागि प्रतिबन्ध लगाइसकेको छ। मुजराबानीले इस्लामबाद युनाइटेड छाडेर कोलकाता नाइट राइडर्स रोजेका थिए।
त्यस्तै दक्षिण अफ्रिकाका अलराउन्डर कोर्बिन बोशमाथि पनि गत वर्ष यस्तै प्रकृतिको गल्तीका कारण चालू सिजनमा प्रतिबन्ध लगाइएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण