शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘पहाड’ हेरेपछि सेलिब्रेटीले के भने ?

मङ्गलबार, ०८ वैशाख २०८३, १२ : ५९
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • तुलसी घिमिरे निर्देशित फिल्म 'पहाड'ले नेपालको वर्तमान अवस्था र युवा पलायनको समस्यालाई मार्मिक रूपमा चित्रण गरेको छ।
  • फिल्म हेरेपछि सेलिब्रेटीहरूले यो कथाले युवाहरूलाई आफ्नो गाउँ र देश फर्किन प्रेरित गर्ने प्रतिक्रिया दिएका छन्।
  • नौ वर्षपछि निर्देशनमा फर्किएका तुलसी घिमिरे दर्शकको सकारात्मक प्रतिक्रियाबाट निकै उत्साहित देखिएका छन्।

काठमाडौँ । तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ले समग्र नेपालको अवस्थालाई चित्रण गरेको सेलिब्रेटीले बताएका छन् । फिल्मको सोमबार बेलुकी आयोजना गरिएको विशेष प्रदर्शनीमा फिल्म हेर्न पुगेका सङ्गीतकार शम्भुजित बाँस्कोटाले फिल्मले समग्र देशको अवस्थालाई चित्रण गरेको बताए ।

‘पहाड रितिदैछ, रोजगारी छैन, हरिया पहाड उजाड भएका छन् । यो फिल्मले दिएको सन्देश राष्ट्र ग्रहण गर्नुपर्ने छ । यहाँ युवालाई स्वदेश फर्कन र आफ्नो समस्यालाई सामूहिक रूपमा लडेर न्यूनीकरण गर्न प्रेरित गरिएको छ । फिल्म राम्रो बनेको छ’, सङ्गीतकार बाँस्कोटाले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तुलसी घिमिरेका पहिलेका फिल्म झैँ मनोरञ्जनसँगै सन्देश बोकेको ‘पहाड’ स–परिवार हेर्न मिल्ने फिल्म बनेको प्रतिक्रिया दिए । ‘तुलसी दाइले फिल्ममार्फत दिनुभएको सन्देश प्रशंसनीय छ’, उनले भने ‘फिल्ममा कलाकारको अभिनयसँगै पहाडमार्फत समग्र देशको अवस्थालाई चित्रण गरिएको छ । यो कथा पहाडको भएता पनि समग्र देश नै फिल्ममा देखिएको छ । युवालाई आफ्नो देश, गाउँ र पहाड फर्किन फिल्मले प्रेरित गर्छ ।’

निर्देशक तुलसी घिमिरे, अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अभिनेत्री रेनुनाथ योगीसँगै डेब्यु अभिनेत्री पञ्चमी घिमिरे लगायतले फिल्मले पाइरहेको प्रतिक्रिया बारे जानकारी गराएका थिए । झन्डै नौ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका निर्देशक घिमिरेले दर्शक प्रतिक्रियाले आफू निकै उत्साहित रहेको बताए ।

उनले भने, ‘हामीले फिल्ममार्फत भन्न खोजेको कुरालाई दर्शकले राम्रोसँग बुझ्नुभएको छ, अधिकांश दर्शकले यसलाई आफ्नै कथा भन्नुभएको छ । मैले जे सन्देश दिन खोजेको थिएँ, त्यो दर्शकसम्म पुगेको छ । फिल्म हेर्न आउनु भएका दर्शक सन्तुष्ट भएर फर्किनु भएको छ ।’

बेरोजगारी, मानवविहीन बन्दै गएको पहाड र पानी अभावजस्ता विषयमा आधारित फिल्मले अहिलेको समसामयिक विषयलाई पर्दामार्फत दर्शकसम्म पुर्‍याएको बताए ।

अभिनेता विपिन कार्कीले फिल्मले पाएको प्रतिक्रियाले आफूसहित टिम उत्साहित रहेको बताए । ‘यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्दा आगामी दिनमा दर्शकको भीड अझ बढ्नेमा आशावादी छु । यसले नेपाली माटोको मौलिक कथा प्रस्तुत गरेको छ । फिल्म हेर्नेले पक्कै अन्यलाई सिफारिस गरेर फिल्म हेर्न हलसम्म पठाउनु हुनेछ’, उनले भने ।

अभिनेता रवीन्द्र सिंह बानियाँले तुलसी घिमिरे जस्तो निर्देशकसँग काम गर्न पाउनु गौरवको विषय रहेको बताए । ‘म निर्देशक घिमिरेको फिल्महरू हेर्दै हुर्किएको पुस्ता परे, उहाँले नेपाली फिल्मलाई दिनुभएको योगदानको बारेमा शब्दमा वर्णन गर्न सकिँदैन । मेरो इच्छा थियो उहाँसँग काम गर्ने, यो पुरा भएको छ । मेरो कलाकारिता यात्रामा यो सहकार्य अमूल्य छ’, उनले भने ।   

फिल्म ‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्री तथा नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली बन्दै गएका पहाडी क्षेत्र र त्यसले निम्त्याएको सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप