सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

यो वर्ष मात्र १७०० वर्गकिमि युक्रेनी भूमि कब्जा गरिएको रुसको दाबी

मङ्गलबार, ०८ वैशाख २०८३, १७ : २१
मङ्गलबार, ०८ वैशाख २०८३

मस्को । यस वर्ष मात्रै युक्रेनको करिब १ हजार ७०० वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा आएको दाबी रुसले गरेको छ । रूसका शीर्ष सैनिक अधिकारी भ्यालेरी गेरासिमोभले रूसी रक्षा मन्त्रालयद्वारा सार्वजनिक गरिएको भिडियोमा सन् २०२६ को सुरुवातदेखि हालसम्म ८० वटा बस्ती कब्जा गरिएको बताएका हुन् । 

सन् २०२२ मा सुरु भएको युद्धपछि रूसले पूर्वी युक्रेनको डोनबास क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ । हाल युक्रेनी सेना क्रमशः पछाडि हट्दै स्लोभियान्स्क, क्रामाटोस्र्क र कोस्टियान्टिनिभ्का जस्ता महत्त्वपूर्ण सहरहरूको रक्षामा केन्द्रित रहेको बताइएको छ ।

गेरासिमोभका अनुसार रूसी सेना यी सहरहरूको 'किल्ला रेखा'तर्फ अघि बढिरहेको छ र केही क्षेत्रमा कोस्टियान्टिनिभ्काभित्रै लडाइँ भइरहेको छ । साथै, उनले उत्तरतर्फ सुमे र उत्तर–पूर्वमा खार्किभ क्षेत्रमा पनि 'सुरक्षा क्षेत्र' बनाउन आक्रमण तीव्र बनाइएको बताएका छन् । 

तर युक्रेनले रूसी दाबीलाई पुष्टि गरेको छैन । युक्रेनी शीर्ष कमाण्डर ओलेक्जेन्डर स्रिस्कीका अनुसार मार्च महिनामा मात्र युक्रेनले करिब ५० वर्ग किलोमिटर क्षेत्र पुनः नियन्त्रणमा लिएको थियो । युक्रेनी सेनाले पछिल्लो २४ घण्टामा लोभियान्स्क आसपासका गाउँहरूमा रूसी आक्रमण विफल पारेको र कोस्टियान्टिनिभ्का क्षेत्रमा धेरै आक्रमणहरू रोकिएको जनाएको छ । 

स्वतन्त्र रूपमा यी दाबीहरूको पुष्टि हुन सकेको छैन ।

प्रो–युक्रेनी नक्साहरू अनुसार भने रूसले यस वर्ष करिब ६०० वर्ग किलोमिटर मात्र क्षेत्र कब्जा गरेको देखिन्छ । हालको अवस्थामा रूसले डोनबासको करिब ९० प्रतिशत हिस्सा नियन्त्रणमा लिएको दाबी गरेको छ ।

यसबाहेक पनि जापोरिजिया र खेरसन क्षेत्रको ठूलो हिस्सा पनि रुसको कब्जामा रहेको भनिएको छ । सन २०१४ मा कब्जा गरिएको क्रिमिया पनि अझै रूसकै नियन्त्रणमा छ । यद्यपि अन्तर्राष्ट्रिय रूपमा यो भूभाग युक्रेनकै मानिन्छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप