सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद

नेपालको घातक बलिङसामु १२८ रनमै रोकियो यूएई

मङ्गलबार, ०८ वैशाख २०८३, १८ : ४२
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनसामु यूएई १२८ रनमा समेटिएको छ।
  • सन्दीप लामिछानेले तीन र हेमन्त धामीले दुई विकेट लिँदै यूएईको ब्याटिङ लाइन ध्वस्त पारेका छन्।
  • नेपालले आजको खेलमा यूएईलाई जितका लागि १२९ रनको लक्ष्य दिएको छ।

काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी ‘अन्डर लाइट्स टी–२० आई सिरिज’ अन्तर्गत दोस्रो दिनको खेलमा यूएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको छ ।

नेपाली बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण यूएई निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रनमा समेटिन पुग्यो ।

टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय आज तुलनात्मक रूपमा फलदायी भयो । नेपाली बलरहरूले घातक बलिङ गर्दै यूएईको ब्याटिङ लाइन ध्वस्त पारे । नेपालका लागि हेमन्त धामीले इनिङको पहिलो बलमै यूएईका मोहम्मद वासिमलाई गोल्डेन डकको सिकार बनाएका थिए । यसपछि अन्य ब्याटरहरू पनि लगातार आउट हुँदै गए । 

यूएईका लागि अक्षदीप नाथले अर्धशतक पूरा गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । त्यस्तै, मुहम्मद अफरानले ३६ बलमा ३२ रनको योगदान दिए । अदीप उस्मानीले सन्दीप लामिछानेको बलिङमा एलबीडब्ल्यू धरापमा पर्नुअघि २२ बलमा ३२ रन जोडेर केही आशा जगाएका थिए ।

यता, नन्दन यादवको बलिङमा अलिसन सफरु मात्र एक रनमा लोकस बमबाट क्याच आउट भए । हेमन्त धामीले हरप्रित सिंहलाई एलबीडब्ल्युमार्फत आउट गराएका थिए । सोहेब खान, निलान्स केसवानी र खुजाइमी तन्वीरले भने रनको खाता नै खोल्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने आज पनि उत्कृष्ट बलर साबित भए । पूरा चार ओभर बलिङ गरेका उनले एक मेडन राख्दै मात्र ६ रन खर्चेर यूएईको महत्वपूर्ण तीन विकेट लिए ।

यस्तै, हेमन्त धामीले पनि पूरा ४ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिए । साहब आलमले ३ ओभरमा २९ रन दिएर एक विकेट हात पारे भने गुलशन झाले मात्र एक ओभर बलिङ गर्दै एक रन मात्र दिए ।

कप्तान दीपेन्द्र सिंह ऐरीले तीन ओभरमा १६ रन दिएर विकेट लिन सकेनन् । आज अन्तर्राष्ट्रिय डेब्यु गरेका सन्तोष यादव भने महँगा साबित देखिए, उनले एक ओभरमा ११ रन खर्चिए । 

सिरिजअन्तर्गत नेपाल र यूएईबीच आज दोस्रो पटक प्रतिस्पर्धा भइरहेको हो ।

हिजो सम्पन्न पहिलो भेटमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो । सो हारको बदला लिने लक्ष्यका साथ आज नेपाल मैदानमा उत्रिएको हो । आजको खेलका लागि नेपाली टोलीमा चार खेलाडी परिवर्तन गरिएको छ, शेर मल्लको स्थानमा सन्तोष यादवलाई टोलीमा समावेश गरिएको छ, सन्तोष यादवको यो अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु खेलसमेत हो । 

नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले सम्हालिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप