बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कोशी प्रदेशको आगामी बजेट

३० अर्बको सिलिङ, नयाँ योजना नथप्न सचिवहरूको दबाब

आयोजना बैंक बाहिरका योजनाले बजेट नपाउने
बुधबार, ०९ वैशाख २०८३, २० : ४०
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्बको बजेट सिलिङ तोक्दै नयाँ योजना थप नगर्ने नीति लिएको छ।
  • बजेट निर्माणमा अनुशासन कायम राख्दै पुराना तथा अधुरा आयोजनाहरूलाई तीन वर्षभित्र सम्पन्न गर्ने गरी प्राथमिकता दिइएको छ।
  • स्रोतको अभाव र संघीय अनुदानमा कटौतीका कारण बजेटको आकार खुम्चिएको भन्दै सचिवहरूले थप बजेटको आवश्यकता औंल्याएका छन्।

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण प्रक्रियालाई तीव्रता दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको प्राथमिकता, उद्देश्य र सीमाका विषयमा बुधबार मन्त्रालयका सचिव तथा शाखा प्रमुखहरूसँग छलफल गरेको छ । मन्त्रालयले बिहीबार अर्थतन्त्रका जानकार तथा विज्ञहरूसँग समेत परामर्श गर्ने तयारी गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट निर्माणमा अनुशासन र प्रणालीलाई कडाइका साथ लागू गरिने बताए । उनले आयोजना बैंक (प्रोजेक्ट बैंक) भन्दा बाहिरका कुनै पनि योजनाले बजेट नपाउने स्पष्ट निर्देशन दिए । ‘यसपटक प्रोजेक्ट बैंकमा प्रविष्ट भई प्रमाणीकरण भएका योजनाले मात्र बजेटमा स्थान पाउनेछन्,’ मन्त्री लिङ्थेपले भने ।

मन्त्री लिङ्थेपले नयाँ योजना थप्नुभन्दा पनि पुराना र अधुरा आयोजनाहरूलाई तीन वर्षभित्र सम्पन्न गर्ने गरी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । कोशी प्रदेशमा विगतदेखिका बहुवर्षीय ठेक्का लागेका आयोजनाहरूको दायित्व मात्रै करिब २० अर्ब रुपैयाँ पुगेकाले त्यसलाई सम्बोधन गर्नु मुख्य चुनौती रहेको उनले जानकारी दिए । उनले १०–१५ वर्षसम्म आयोजना लम्ब्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।

चालु आर्थिक वर्षमा ३५ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको प्रदेश सरकारले आगामी वर्षका लागि भने ३० अर्ब रुपैयाँको सिलिङ (सीमा) तोकेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा भएको कटौती र कमजोर आन्तरिक आयका कारण बजेटको आकार खुम्चिएको मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा विभिन्न मन्त्रालयका सचिवहरूले भने बजेटको सिलिङ निकै कम भएको गुनासो गरे । सामाजिक विकास मन्त्रालयका प्रतिनिधिले ४४ वटा कार्यक्षेत्र रहेको मन्त्रालयमा बजेट अभावले महत्त्वपूर्ण कार्यक्रमहरू कटौती गर्नुपर्ने अवस्था आएको बताए । त्यस्तै, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले विगतदेखि अलपत्र भवनहरू पूरा गर्न पुँजीगत बजेट अपुग भएको बताए ।

मन्त्री लिङ्थेपले रकमान्तर गर्ने र स्रोत सुनिश्चितता नभएका ठाउँमा बजेट माग्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए । उनले अनुत्पादक क्षेत्रमा लगानी नगर्न र उत्पादन एवं रोजगारी सिर्जना हुने क्षेत्रलाई प्राथमिकता दिन निर्देशन दिए । 

मन्त्रालयले वैशाख मसान्तभित्र बजेटको खाका तयार गरी प्रणालीमा प्रविष्ट गरिसक्ने कार्यतालिका बनाएको छ । यद्यपि, कर्मचारीहरूले भने हतारमा गरिएको प्रविष्टिलाई नै अन्तिम मान्दा समस्या आउन सक्ने भन्दै बजेट निर्माणका क्रममा थपघट वा परिमार्जन गर्ने सुविधा हुनुपर्ने सुझाव दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप