सिन्धुली घटना : किशोरीका दाजुको निवेदनपछि ललितपुरमा पक्राउ परेका थिए श्रीकृष्ण
सारांश
- सिन्धुलीको खुर्कोट हिरासतमा मृत्यु भएका श्रीकृष्ण बिकको घटना छानबिन गर्न डीआईजी दिनेश कुमार आचार्यको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ।
- किशोरीका दाजुको जाहेरीका आधारमा सातदोबाटो प्रहरीले पक्राउ गरी सिन्धुली पठाएका बिकको हिरासतको शौचालयमा झुन्डिएर मृत्यु भएको प्रहरीको दाबी छ।
- युवकको शरीरमा निलडाम देखिएको र प्रहरीले यातना दिएको भन्दै सांसदहरूले घटनाको निष्पक्ष छानबिन र कारबाहीको माग गरेका छन्।
काठमाडौँ । सिन्धुलीको खुर्कोट स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएका श्रीकृष्ण बिकको मृत्यु भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ । आईजीपी दान बहादुर कार्कीले शुक्रबार ७ दिन भित्र छानबिन प्रतिवेदन पेस गर्ने गरी डीआईजी दिनेश कुमार आचार्यको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेका हुन् । २३ वर्षीय श्रीकृष्ण बिक सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–३ स्थित जुम्लिडाँडाका स्थानीय हुन् ।
वैशाख ३ मा उनलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका–६ सानागाउँबाट खोटाङ घर भएकी १७ वर्षीया किशोरी हराएको घटनाबारे अनुसन्धान गर्दा श्रीकृष्ण पक्राउ परेका हुन्।
आफ्नी बहिनी डेराबाट हराएको भन्दै किशोरीका दाजुले २०८२ चैत ३० मा सातदोबाटो प्रहरीमा खोजतलास गरिपाउँ भन्ने निवेदन दिएका थिए । खोजतलास गर्दा वैशाख ३ मा प्रहरीले किशोरीलाई श्रीकृष्ण विकको साथमा भेट्टाएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । किशोरी चैत २८ गतेदेखि हराएकी थिइन् । युवक र किशोरी ३ दिन ललितपुरमा सँगै बसेर वैशाख १ मा सिन्धुलीको जुम्लिडाँडा जान्छन्।
किशोरीका दाजुले खोजतलासको निवेदन दिएपछि प्राविधिक विधिबाट अनुसन्धान गर्दा उनीहरू फेला परेका हुन्।
प्रारम्भिक अनुसन्धान गर्दा किशोरीले दुई जनाको बिचमा शारीरिक सम्पर्क भएको अनुसन्धान अधिकृतहरूलाई बताइन् । किशोरी नाबालिका भएको र उनका दाजुले बलात्कारको उजुरी दिएपछि श्रीकृष्णलाई सिन्धुली पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । उनले भने, ‘रितपूर्वक जाहेरी आएको र घटनास्थल सिन्धुलीको सुनकोशी भएको हुनाले उताको प्रहरी टोली आएर आरोपी लाई लिएर गएको हो ।’
युवकको घर इलाका प्रहरी कार्यालय खुर्कोटको सीमा क्षेत्रमा पर्ने हुनाले पीडितका दाजुको जाहेरी दर्ता गरेर खुर्कोट प्रहरीले अनुसन्धान गर्दै थियो । प्रहरी प्रधान कार्यालयका अनुसार आरोपी विरुद्ध बलात्कार मुद्दामा सिन्धुली जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको थियो । अनुसन्धानकै क्रममा वैशाख ७ गते साँझ ५ बजेर ५९ मिनेटमा हिरासतको शौचालयमा श्रीकृष्णले आफैँले लगाएको सर्टको पासो लगाएर झुन्डिएको प्रहरीको दाबी छ । छानबिन समिति गठन भएको पत्रमा भनिएको छ,‘हिरासत कक्षको शौचालयमा निजले लगाएको कालो कलरको सर्टको पासो घाँटीमा लगाई झुण्डि घाइते भई उपचारको क्रममा मृत्यु भएको ।’
शौचालयको झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा तत्काल पासो काटेर सुरुमा सुनकोशी सामुदायिक अस्पताल र त्यसपछि सिन्धुलीमाडी स्थित जिल्ला अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । त्यसैदिन राति ८ बजेर १५ मिनेटमा चिकित्सकहरूले श्रीकृष्णलाई मृत घोषणा गरेको प्रहरी अधिकृतहरूले दाबी गरेका छन् ।
तर, प्रतिनिधिसभाका सदस्य खगेन्द्र सुनारले श्रीकृष्णलाई कुटपिट गरिएको र शरिरभरी निलडाम देखिएको दाबी गरेका छन् । सुनारले सार्वजनिक रूपमा भनेका छन्, ‘अन्तरजातीय विवाह गर्दा दलित युवकलाई यातना दिने प्रहरी अधिकृतहरूलाई निलम्बन गरेर कारबाही गर्नुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुनार, रिमा विश्वकर्मा र सिन्धुली–२ बा निर्वाचित सांसद आशिष गजुरेल दलित युवकको मृत्युपछि सिन्धुली पुगेका छन्। यसअघि वैशाख ८ मा बागमती प्रदेश प्रहरी कार्यालयले एसपी मोहन खाणको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । युवकको शव अहिले जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण