शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कर्णालीलाई ‘सुटिङ हब’ बनाउने सङ्कल्प सहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सकियो

शनिबार, १२ वैशाख २०८३, १२ : ०२
शनिबार, १२ वैशाख २०८३

सारांश

  • तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कर्णालीलाई 'सुटिङ हब' बनाउने सङ्कल्पका साथ वीरेन्द्रनगरमा सम्पन्न भएको छ।
  • महोत्सवमा कर्णालीको कला, संस्कृति र पर्यटनलाई चलचित्रसँग जोड्न चलचित्र कथा प्रतियोगिताको समेत शुभारम्भ गरिएको छ।
  • मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारले ठोस नीति र बजेट ल्याउने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ सकिएको छ । `घुमौँ कर्णाली, हेरौँ कर्णाली´ तथा `जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र´भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवले कर्णालीको कला, संस्कृति र पर्यटनलाई चलचित्र क्षेत्रसँग जोड्ने महत्त्वपूर्ण कडीको रूपमा काम गरेको छ । 

चलचित्र विकास बोर्डको सक्रिय सहभागिता तथा सहकार्यमा सम्पन्न महोत्सवले कर्णालीलाई चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य र कथा विकासको स्रोतभूमिको रूपमा अघि बढाउने लक्ष्य राखेको छ । बोर्डले यस क्षेत्रलाई चलचित्र पर्यटनको सम्भावनायुक्त क्षेत्रका रूपमा संस्थागत विकास गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

महोत्सवको समापनका अवसरमा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले चलचित्र क्षेत्रको विकासका लागि ठोस नीति र बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै, कर्णाली प्रज्ञा प्रतिष्ठानले कर्णालीमा छायाङ्कन गर्न आउने निर्माता तथा निर्देशकहरूलाई विशेष सहकार्य र प्रोत्साहन उपलब्ध गराउने घोषणा गरेको छ ।

`चलचित्र कथा प्रतियोगिताको शुभारम्भ´ महोत्सवको एक मुख्य आकर्षणका रूपमा ‘चलचित्र कथा प्रतियोगिता’को शुभारम्भ गरिएको छ । कर्णालीको भूगोल, जनजीवन, भाषा र इतिहासलाई चलचित्रको पर्दामार्फत विश्वमाझ पुर्‍याउन यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । कर्णालीलाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विकास गर्ने दीर्घकालीन योजना अन्तर्गत सल्यानको कुपिण्डे दहमा विशेष चलचित्र पर्यटन समारोह समेत आयोजना गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, सदस्य गणेश प्रसाद सुबेदी लगायत चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व, कलाकार, प्राविधिक र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रलाई देशका विविध भूगोल र संस्कृतिसँग जोड्ने नीति अनुरूप कर्णालीको मौलिकतालाई विश्वमाझ पुर्‍याउन यस्ता महोत्सवहरू कोशेढुङ्गा साबित हुने बताए  । महोत्सवले कर्णाली प्रदेशलाई केवल पर्यटकीय स्थल मात्र नभई चलचित्र, संस्कृति र पर्यटनको एउटा एकीकृत गन्तव्यका रूपमा स्थापित गर्ने बलियो आधार तयार गरेको आयोजकले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप